७ वैशाख २०८१ शुक्रबार
समाज

सिन्धुलीमा गाँजा खेती मौलाउँदै, ९७ बिघामा लगाइएको गाँजा प्रहरीद्वारा नष्ट

सिन्धुली – जिल्लाका विभिन्न स्थान गरी ९७ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कपिलाकोटको सक्रियतामा मरिण र हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा लगाइएको गाँजा फँडानी गरिएको हो।

गत कात्तिकमा झन्डै ६० बिघा र यसै साता ३७ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वरप्रसाद यादवले जानकारी दिए। उनका अनुसार मरिणका विभिन्न स्थानमा लामो समयदेखि गाँजा खेती हुने गरेको सुराकी पाइएपछि प्रहरी खटाइएको थियो। कात्तिक अन्तिम साता भने प्रदेश ३ प्रहरी कार्यालयबाट खटिएका २५ जनासहित जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मरिण–३ को बरुण भलायोमा २१ बिघा र वडा १ को टुँडिखेल र बेदपानीमा चार बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो। गाँजा खेतीबारे जानकारी लिन प्रहरीले एक साता अनुसन्धानसमेत गरिएको सिन्धुली प्रहरीले जनाएको छ।

गत सातादेखि सोही क्षेत्रको आसपासमा रहेको गाँजा खेती नष्ट गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। मरिण–१ खलंगा र मान्द्रेमा सात बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गर्ने कार्य भइरहेको प्रहरीको भनाइ छ। मरिण–१ कै बेतपानी र नकलीमा नौ बिघामा लगाइएको गाँजा प्रहरीले फँडानी गरेको छ। यस्तै, मरिणकै वडा १, २ र ६ स्थित भालुओडार, सुँगुरे, मुंग्रेदोभानमा व्यावसायिक रूपमा लगाइएको पाँच बिघा क्षेत्रफलको गाँजा प्रहरीले फँडानी गरेको जिल्ला प्रहरी प्रमुख यादवले जानकारी दिए। उनका अनुसार सोही गाँउपालिकै वडा ३ को बरुणमा लगाइएको पाँच बिघा क्षेत्रफलको गाँजा पनि नष्ट गरिसकिएको छ।

यस्तै हरिहरपुरगढी गाउँपालिका–७ र ८ का बाहुनडाँडा, पनचौरी र मरिणटोलमा ६ बिघा क्षेत्रफलको गाँजा पनि नष्ट गरिएको छ। अझै केही क्षेत्रमा गाँजा खेती हुने गरेको विशेष सुराकी पाइएकाले अझै फँडानीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ। गाँजा फडानी गर्न कपिलाकोट इलाका प्रहरीका प्रमुख चरित्रविक्रम कार्कीको टोली, जिल्ला प्रहरी कार्यालयको टोलि तथा मकवानपुर प्रहरीको टोलीसमेत खटिएको बताइएको छ।

पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। शुक्रबारसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ। कपिलाकोट प्रहरीका इन्सपेक्टर चरिक्रविक्रम कार्कीसहित ५४ जना प्रहरीको टोलीले त्यस क्षेत्रको गाँजा नष्ट गर्ने अभियान चलाएको हो। गाँजा लगाइएको खेतबारीका जग्गाधनीहरू आफूहरूले गाँजा खेतीमा संलग्न नभएको र अन्यन्त्रकै मानिस आएर गर्ने गरेको बताउँछन्। तर कतिपय स्थानीय आफैंले गाँजा खेती गर्ने गरेको र कतिपयलेले स्थानीयवासीले त्यसका लागि जग्गा भाडामा दिने गरेको खुलेको छ।

तस्करहरूले सिन्धुलीका दुर्गम स्थल खोज्दै केही वर्षदेखि व्यावसायिक रूपमै गाँजा खेती गर्दै आएको पत्ता लागेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार गाँजा खेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा परी त्यस क्षेत्रका केही स्थानीयवासी अरू बाली छाडेर गाँजा खेतीतर्फ आकर्षित भएका छन्। व्यावसायिक रूपमा गाँजा खेती गर्दै आएका स्थानीयलले गाँजा फँडानी गरिएपछि परिवारको बिचल्ली हुने र आयस्रोत अन्य केही नभएकाले भोकै बस्नुपर्ने अवस्था आउने गुनासो गरेको जनाइएको छ। गाँजा खेती गरिएको स्थानमा प्रहरी आएको सूचना पाउनेबित्तिकै गाउँका पुरुषजति सबै भागेको र केही महिला, बालबालिका तथा वृद्धवृद्धा मात्रै भेटिएको प्रहरीले बताएको छ।

सदरमुकामबाहेक अन्य बाटो प्रयोग गरी गाँजा पठाउन सकिने भएकाले त्यस क्षेत्रका विकट गाउँमा गाँजाको व्यावसायिक रूपमै खेती हुने गरेको र प्रहरीले जानकारी पाएपछि बेलाबेलामा फँडानी गर्ने गरेको स्थानीय बताउँछन्। अघिल्ला वर्षहरूमा पनि यहाँको हरिहरपुरगढीस्थित क्यानेश्वरमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो। तर यस वर्ष भने ठूलो क्षेत्रमा लगाइएको गाँजा फँडानी गरिएको हो। केही समयदेखि त्यस क्षेत्रको गाँजा खेतीबारे प्रहरीले अनुसन्धान र फँडानी कार्य सँगसँगै गरिरहेको स्थानीयले जनाएका छन्।

प्रकाशित: २८ पुस २०७५ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App