८ वैशाख २०८१ शनिबार
समाज

६ वर्षमा २३ जना मारिए

पासोमा परेर मरेको चितुवा खाडलमा पुर्दै वन कर्मचारी। तस्बिर : बिरा गडाल/नागरिक

बैतडी – सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो। चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले। त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो।

मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन्। एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना भने घाइते भएका छन्। चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन्। प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन्।

चितुवा आतंक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन्। स्थानीयले पनि आफ्नै ढंगले प्रयास गर्दै आएका छन्। तर चितुवा आक्रमण रोकिएको छैन। यसबीचमा बर्सेनि चितुवा मारिने क्रम पनि बढ्न थालेको छ। गत साता बैतडीको सिगास संरक्षित वन क्षेत्रनजिकै सिकारीले थापेको पासोमा परेर एउटा चितुवा मारियो। त्यसको एक दिनअघि मात्रै बैतडीको तल्लो स्वराडसँग सीमा जोडिएको डडेल्धुरामा पनि एउटा चितुवा मारिएको थियो। भदौमा पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा एकएकवटा चितुवा मृत अवस्थामा फेला परे।

साउनमा मेलौली नगरपालिका–२ सलेनामा दुम्सीका लागि थापेको पासोमा परेको वयस्क पोथी चितुवालाई चार दिनपछि उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो। बँदेललगायत जंगली जनावर मार्न राखिएको पासोमा चितुवा पर्ने गरेका हुन्।

स्थानीयले थापेको पासोमा परेर आर्थिक वर्ष २०७४–७५ मा मात्रै पाँच चितुवाको मृत्यु भएको छ। साउनयता तीन चितुवाको मृत्यु भएको वन डिभिजन कार्यालयका सूचना अधिकारी रामप्रसाद चौधरीले बताए। मानव–चितुवा द्वन्द्व सुरु भएपछि एक दर्जनभन्दा बढी चितुवा मारिसकिएका छन्।

वन विनाश र चितुवाको आहारा जंगली जनावर मार्ने क्रम बढेपछि चितुवा गाउँ पस्ने गरेको हो। वन्यजन्तु र मानवबीच बढेको द्वन्द्वका कारण बैतडीको तल्लो स्वराड क्षेत्र चितुवा र बँदेल आतंकबाट त्रसित छ। वनकर्मी, प्रहरी र स्थानीयले वन्यजन्तु र मानवबीच बढेको द्वन्द्व घटाउन धेरै प्रयास गर्दा पनि सफल हुन सकेका छैनन्। वन डिभिजन कार्यालयले प्रभावित क्षेत्रमा सोलार वितरणदेखि चितुवाको आतंकबाट बच्न प्रचारप्रसार, सडक नाटकलगायत जनचेतना जगाउँदै आएको छ। तर पनि मानव–चितुवा द्वन्द्व कम भएको छैन।

वन्यजन्तु संरक्षणका लागि सबै क्षेत्रबाट पहल हुन नसक्दा समस्या निम्तिएको वन भिडिजन बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए। जंगली जनावरबाट खेतीपाती जोगाउन थापिएका पासोमा चितुवालगायत दुर्लभ वन्यजन्तु मर्न थालेका छन्। ‘जलवायु परिवर्तन, वन संरक्षण र चितुवाको आहारा नासिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ,’ डिभिजनल वन अधिकृत पराजुलीले भने, ‘विभिन्नखाले जनचेतना कार्यक्रम सञ्चालन गर्दागर्दै पनि समस्या समाधान हुन सकेको छैन।’

‘बस्तीमा छिरेर चितुवाले लगातार मान्छेको सिकार गर्न थालेपछि पासो थापेर चितुवासहित वन्यजन्तु मार्ने क्रम पनि बढेको छ। वन्यजन्तुका कारण मानवीय क्षति भएको तत्काल जानकारीमा आउने भए पनि वन्यजन्तु मारिएको विषयमा भने सबै जानकारी सम्बन्धित कार्यालयलाई आउँदैन,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत चौधरीले भने, ‘वन कार्यालयले निरन्तर वन्यजन्तु र मानवबीच बढेको द्वन्द्व कम गर्ने प्रयास गरिरहेको छ।’

अनियन्त्रित वनजंगल विनाशका कारण वन्यजन्तु मानवबस्तीमा आउन थालेको हो। चितुवा प्रभावित क्षेत्रमा निःशुल्क सोलार वितरण, जडीबुटी खेती, वनमा आधारित विविध आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको वन कार्यालय जनाएको छ। तीन सय ५२ सामुदायिक वन रहेको बैतडीका अधिकांश सामुदायिक वन उपभोक्ता समितिले संरक्षण गर्न सकेका छैनन्। वन विनाश र आहार नपाउँदा वन्यजन्तु मानवबस्तीमा आउन थालेको पञ्चेश्वर गाउँपालिका–२ महाकालीका मोहनबहादुर चन्दले बताए।

प्रकाशित: २८ पुस २०७५ ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App