coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

यातायात व्यवसायीविरुद्ध सरकार आक्रामक

काठमाडौं- सिन्डिकेटको बलमा सडकमा मनपरी गरिरहेका यातायात व्यवसायीले दसैँको समयमा यात्रुलाई दुःख दिने नियतले टिकट बुकिङ बन्द गरेपछि सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ।

यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले उपत्यकाबाट बाहिरिने ८ लाख बढी यात्रुले टिकट काट्न बाँकी रहँदै टिकट बन्द गरेका थिए। व्यवसायीले 'बार्गेनिङ' गर्न नियमितबाहेक चाडबाडका समयमा सवारी नथप्ने र भएका सवारीलाई समेत ग्यारेजमा थन्क्याउने गरेपछि सरकार आक्रामक भएको हो। दसैंमा घर जाने यात्रुलाई दुःख दिन व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु कोच्न पाउनुपर्ने, बढी भाडा लिन पाउनुपर्ने, सरकारले इन्धन उपलब्ध गराउनुपर्नेलगायत नाजायज माग तेर्स्याएका थिए।

दुर्घटना न्यूनीकरणका लागि र यात्रुको सहजताका लागि सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाएको छ। दसैंको समयमा अतिरिक्त बस सञ्चालन नगर्दा सरकारलाई यो व्यवस्था हटाउन 'दबाब पर्छ' भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खुले पनि नियमितबाहेक बस थपेका थिएनन्।

तर, व्यवसायीको नियत बु‰दै सरकारले दसैंलगायत पर्वका समयमा सरकारी कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा बसेको बैठकले यात्रुको सहजताका लागि वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो।

बैठकले दसैँ, तिहार र छठको समयमा सरकारी स्वामित्वमा रहेका ठूला बस सञ्चालन गर्न र काठमाडौं बाहिर अत्यधिक चाप रहेका क्षेत्रमा वैकल्पिक व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा गृह, उद्योग, सामान्य प्रशासन, भौतिक पूर्वाधार तथा यातायात र शिक्षा मन्त्रालयका सचिवसाथै नेपाली सेना र नेपाल प्रहरीका प्रमुखको समेत उपस्थिति थियो।

बैठकमा कानुनविपरीत जानेलाई कारबाही दायरामा ल्याउनुपर्ने र यात्रुको सहजताका लागि वैकल्पिक व्यवस्था गर्न सरकारले उपयुक्त कदम चाल्नुपर्नेबारे छलफल भएको थियो। मुख्यसचिव सुवेदीका अनुसार बैठकमा दसंैमा यात्रुको सुविधाका लागि सरकारी स्वामित्वका ठूला बस काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने व्यवस्था सामान्य प्रशासन मन्त्रालयले मिलाउने र काठमाडौंबाहिर जाने यात्रुका लागि गुनासाका आधारमा वैकल्पिक व्यवस्था यातायात मन्त्रालयले मिलाउने निर्णय भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आइतबार यात्रुको सहजताका लागि उपत्यकाबाहिर एक सयभन्दा बढी सवारी सञ्चालन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहाल र प्रधानमन्त्री कार्यालयको निर्देशनलगत्तै मन्त्रालयले सरकारी कार्यालय, सेना तथा प्रहरी र निजी विद्यालयका बस सञ्चालनमा ल्याउने तयारी अगाडि बढाएको हो।

यातायातमन्त्री रमेश लेखकले चाडबाड लक्षित सवारी सञ्चालनका लागि निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन तथा एनप्याब्सनसँग छलफल भइसकेको र सरकारी सवारीसाधन चलाउने विषयमा पनि छलफल भएको बताए। 'दसैंका समयमा यात्रुले सहज रूपमा सवारीसाधन पाउनुपर्छ र घर जान सकून भन्ने हाम्रो उद्देश्य हो,' उनले भने, 'यसका लागि हामीले सबै तयारी पूरा गरिसकेका छौँ।' उनले व्यवसायीले पनि अतिरिक्त बस सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाइसकेको जानकारी दिए।

सरकारलाई घुर्क्याउन अतिरिक्त बस नथपेका व्यवसायीले सडकमा सरकारको उपस्थिति हुने निर्णयलगत्तै सोमबारबाट पुनः टिकट बुकिङ खुला गरेका छन्। 'सरकारले बस चलाउने निर्णय गर्नेबित्तिकै सिन्डिकेटका बलमा मनपरी गर्ने व्यवसायी आत्तिएका छन्,' प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी एक सदस्यले नागरिकलाई भने, 'यसले के पुष्टि गर्छ भने सरकारले चाहने हो भने सडक सिन्डिकेट तुरुन्तै हटाउन सक्छ। अब सरकारले सडकमा उपस्थिति बढाउँदै जानुपर्छ।' उनका अनुसार विगतमा सरकार चुप बसेका भरमा नै व्यवसायीको मनपरी बढेको थियो। अब सरकार आक्रामक रूपमा अगाडि बढ्नुपर्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भने सरकारको निर्णयपछि टिकट बुकिङ खुलाको निर्णयमा पुगेको स्वीकार गर्दैनन्। 'सरकारले बस चलाउँछु भनेर हामीले टिकट खुला गरेका होइनौं,' उनले भने, 'सडकको अवस्था र मौसमका कारण अतिरिक्त बस आउन सकेका थिएनन्। आइपुगेपछि टिकट काट्न लागेका हौँ।' उनले यात्रुलाई गन्तव्यमा पुर्‍याउन व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने बताए।

'हामी जिम्मेवारीबाट भाग्दैनौँ,' उनले भने, 'सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको छैन, बरु निजी व्यवसायीविरुद्ध धावा मात्र बोलिरहेको छ।' उनले सरकारले बस चलाउँछु भनेर नाटक मात्र गरेको बताए।

ट्राफिक प्रहरीका अनुसार दसंैको समयमा करिब २० लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। दसैं सुरु भएदेखि नै राजधानीका प्रमुख नाकाबाट बाहिरिने यात्रुको संख्या दैनिक बढ्दै गइरहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७३ ०१:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App