७ वैशाख २०८१ शुक्रबार
अर्थ

तातोपानी नाका खोल्न यसरी हुँदैछ काम (भिडियो)

तातोपानी (सिन्धुपाल्चोक) - चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका आगामी मे महिना भित्रमै सञ्चालनमा ल्याउने तयारी छ। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि वार्षिक २० अर्ब रुपैयाँको कारोवार हुने यो नाका बन्द रहँदै आएको छ।

नाका सञ्चालनमा ल्याउन यतिबेला पूर्वाधार विकासको काम तीव्र रुपमा अघि बढाइएको छ। क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको काम रफ्तारमा भइरहेको छ। सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ। यी सबै काम चीन सरकारको सहयोगमा भइरहेको छ। दैनिक झण्डै २ सय मजदुर निर्माणमा खटिएका छन्।

‘बिहान ६ बजेदेखि राति १० बजेसम्म काम हुन्छ,’ सीमा प्रहरी चौकी कोदारीका प्रहरी निरीक्षक हिरा महराले नागरिकन्यूजसँग भने। अत्याधुनिक मेशिनरी औजारसहित पूर्वाधार निर्माण भइरहेको छ। भूकम्पले नाका जोड्ने सडक र संरचना क्षतिग्रस्त बनायो। लगत्तै अर्को साल २०७३ असार २१ को भोटेकोसी बाढीले जगैदेखि सडक र संरचना बगायाे। नेपाल–चीन जोड्ने मितेरी पुल क्षतिग्रस्त भयो।

अहिले क्षतिग्रस्त पुल हटाइएको छ। यहाँ नयाँ पुल बनाउने काम सुरु भइसकेको छ। आठ मिटर फराकिलो मितेरी पुल १२ मिटर चौडा बन्दै छ। चीन भ्रमणका बेला सभामुख कृष्णबहादुर महराले त्यहीँबाट यो पुलको शिलान्यास गरेका थिए। भूकम्प र बाढीले निम्त्याएका पहिरो पन्छाउने, भोटेकोसी नदीबाट तारजालीसहितको गाह्रो उठाउने र सडक संरचना फराकिलो बनाउने काम युद्धस्तरमा भइरहेको छ।

अरनिको राजमार्गको जम्बुदेखि माथितिर र तिब्बत जोड्ने अन्तिम बजार लिपिङदेखि तलतिर सडक बनाउने, पहिरो नियन्त्रण गर्ने र पहिरो पन्छाउने काम भइरहेको छ। झण्डै ३० किमि दुरीको यो सडक सबैभन्दा बढी क्षतिग्रस्त थियो। नाकाबाट चार किमि तल लार्चामा अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको छ। बन्दरगाह पुग्न भोटेकोसीमा पुल हाल्न मात्र बाँकी छ। पुलका सामान आइसकेका छन्।

भूकम्प र लगत्तैको भोटेकोसी बाढीपछि नाका खुल्नेमा शंका थियो। चीनले लगातार सुरक्षा ‘इस्यु’ उठाएपछि नाका सधैका लागि बन्द हुने हो कि भन्ने चिन्ता बढाएको थियो। नेपालको लगातार कुटनीतिक पहलमा नाका खोल्न दुई देशबीच सहमति भयो। सहमति अनुसार चीनले मे महिनाभित्रै पूर्वाधार बनाएर बन्दरगाहसहितका संरचना नेपाललाई हस्तान्तरण गर्दै छ। त्यही महिनाबाट नाका सञ्चालनमा ल्याउने नेपाल सरकारको तयारी छ। चीनले आफ्नो तर्फको क्षतिग्रस्त सडक संरचना निर्माण सकिसकेको छ।

ताताेपानी नाकामा भइरहेकाे काम भिडियाेमा हेर्नुस्। भिडियाे : ध्रुव दंगाल

प्रकाशित: २७ पुस २०७५ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App