८ वैशाख २०८१ शनिबार
समाज

डाँका समूहले छोडेको दुई थान लोडेड पेस्तोल बरामद

फाइल तस्बिर

सिरहा- कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। शुक्रबार विहान करिब १ बजेतिर हतियारधारी डाँकाहरुको समूह स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल डकैती गरेको हो।

बाँसको भर्‍याङ लगाएर घरको छतबाट घरभित्र प्रवेश गरेका डाँका समूहले रामदेव मण्डलको कनचटमा पेस्तोल तेर्साएर डकैती गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) माधवराज खरेलले जानकारी दिए। प्रहरीका अनुसार डाँका समूह करिब १५ मिनेटमा लुटपाट गरेर भागेका थिए।

करिब दश एघार जनाको समूहमा आएका डाँकाहरुले मण्डलको घरबाट १८ तोला सुन, डेढ लाख रुपैयाँ, तमसुक कपाली कागज र ७ सय ग्राम चाँदी डकैती गरी लगेको पीडित परिवारलाई उद्धृत गर्दै डिएसपी खरेलले बताए। डकैती भएको एक घण्टापछि प्रहरीलाई खबर भएको खरेलले बताए। खबर पाएर घटनास्थल पुगेका प्रहरीले खोजतलासको क्रममा कल्याणपुर नगरपालिका–१२ बेल्हा गाउँबाट दुई राउण्ड गोली लोड गरिएको २ थान कटुवा पेस्तोल बरामद गरेको प्रहरीले बतायो। डकैती गरी भाग्ने क्रममा डाँकाहरुको साथबाट पेस्तोल बाटोमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ। डाँका समूह कमला खोलाको किनारैकिनार दक्षिण धुनषातर्फ भागेको प्रहरीको शंका छ। डाँका समूहको खोजी तिब्र पारिएको खरेलले बताए।

प्रकाशित: २७ पुस २०७५ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App