coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनद्धारा विज्ञ  सम्मेलनको सारांश प्रधानमन्त्रीलाई पेश

काठमाडौं- गैर आवासीय नेपाली संघले  गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको  सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार  भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो। 

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपाली संघले पछिल्लो समय गरेको गतिविधि र विशेषत  ज्ञान र सीपलाई नेपालमा भित्र्याउने कदम प्रशंसायोग्य भएको बताए। 

सरकारले समृद्ध नेपालको परिकल्पना गरिरहेको अवस्थामा गैरआवासीय नेपाली संघले आर्थिक लगानी संगसंगै ज्ञान, सीप र प्रविधिको लगानी भित्र्याउन पहल गर्नुलाई सरकारले सकारात्मक रुपमा लिएको  जनाए। 

नेपालमा  नलेज बैंक स्थापना गर्ने सरकारको लक्ष्य रहेको भन्दै उनले  अरु सम्पत्ति अस्थायी प्रकृतिको हुने तर ज्ञान सीप स्थायी प्रकृतिको हुने भएकाले ज्ञानको स्थानान्तरणमा सरकारले संघसँग सहकार्य गर्न तयार रहेको बताए।  

 कार्यक्रममा अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघको पछिल्ला गतीविधीबारे प्रधानमन्त्रीलाई जानकारी  दिए। उनले विज्ञ सम्मेलनको सारांश पेश  हुँदै संघले नेपालको ज्ञान सीपको भण्डारलाई अभिवृद्धि गर्ने जमर्कोका साथ विज्ञ सम्मेलन गरेको बताए।

संघका उपाध्यक्ष एवं सम्मेलनका संयोजक कुमार पन्तले अक्टोबरमा सम्पन्न विज्ञ सम्मेलनको पृष्ठभूमि लगायत सम्मेलन सम्पन्न गर्नका लागि गरेका सम्पूर्ण गतिविधीको बारेमा  स्मरण गराए।  

यस्तै  सम्मेलनका अर्का संयोजक डा. हेमराज शर्माले सम्मेलनको बारेमा बताएका थिए। संघद्वारा गत अक्टोबरमा भएको विज्ञ सम्मेलनमा १ सय ६६ कार्यपत्र प्रस्तुत गरिएका थिए। १९ वटा सत्रमा सम्पन्न सम्मेलनमा २१ मुलुकका ५ सय भन्दा बढी प्रतिनिधि सहभागी थिए।

प्रकाशित: २७ पुस २०७५ ०६:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App