१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्थानीय तहको सहभागितामा भूकम्प दिवस मनाइने

काठमाडौं  - सरकारले यो वर्षको भूकम्प सुरक्षा दिवस स्थानीय तहमा लगेर मनाउने तयारी गरेको छ। भूकम्प सुरक्षासम्बन्धी सचेतना जगाउने कार्यमा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले यस्तो तयारी गरेको हो।

स्थानीय तहमार्फत भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्वतयारी तथा सुरक्षित भवन निर्माण लगायत विषयमा जानकारी दिँदा प्रभावकारी हुने देखिएकाले केन्द्रमा मनाउँदै आएको कार्यक्रम स्थानीय तहमा लगेर मनाउन लागिएको सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए। यसअघि सरकारले गृह मन्त्रालयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प दिवस मनाउँदै आएको थियो। मुलुकमा संघीयता कार्यान्वयन भएपछि स्थानीय जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा काम गर्ने अधिकार स्थानीय तहले पाएको छ। त्यसै अनुसार स्थानीय तहलाई भूकम्पीय जोखिम न्यूनीकरण कार्यमा जिम्मेवार बनाउन लागिएको हो।

आगामी माघ २ गते २१औं भूकम्प सुरक्षा दिवस मनाउन गृह मन्त्रालयको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ। उक्त समितिले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी भूकम्प दिवस मनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। समितिले भूकम्प सुरक्षा बढाउन तीनै तहका सरकारलाई जिम्मेवार बनाउन ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ नारा तय गरेको छ।  

मूल समारोहको कार्यक्रम ललितपुरको पाटन दरबारस्क्वायरस्थित भूकम्प स्मारकमा आयोजना हुने महानिर्देशक गेलालले बताए। ‘माघ २ गते ललितपुर महानगरपालिका परिसर, पुल्चोक, गछेंयम्पी महाविहार, गुइटोल ८, लगनखेल बसपार्क गरी चारवटा स्थानबाट बिहान १० बजे एकै साथ र्‍याली सुरु गरी पाटन दरबारस्क्वायरको भूकम्प स्मारकमा पुगेर पौने ११ बजे भूकम्प स्मृति सभामा परिणत हुनेछ,’ मूल समारोह समिति अन्तर्गत प्रचारप्रसार समितिको संयोजकसमेत रहेका गेलालले भने, ‘सो अवसरमा भूकम्प सुरक्षा तथा पूर्वतयारी सम्बन्धी विभिन्न सचेतनामूलक प्रदर्शनी हुनेछन्।’

सोही दिन जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा हाम्रो भूमिका’ विषयमा अन्तरक्रिया हुने उनले बताए। उक्त अन्तरक्रियामा गृह, सहरी विकास, भौतिक पूर्वाधार, रक्षालगायत मन्त्रालयबाट मन्त्री तथा उच्च अधिकारी, विभिन्न संघ संस्था तथा सरोकारवाला निकायका प्रतिनिधि एवं विज्ञको सहभागिता रहने जानकारी दिइएको छ। त्यसैगरी, दोलखालगायत विभिन्न जिल्लामा सोही दिन विभिन्न कार्यक्रम आयोजना हुने महानिर्देशक गेलालले बताए। गृह मन्त्रालयले मुलुकभर सबै जिल्लाका विपद् व्यवस्थापन समितिलाई सप्ताहव्यापी कार्यक्रम आयोजना गरी भूकम्प सुरक्षा दिवस मनाउन परिपत्र गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सरकारले वि.सं. १९९० माघ २ गते गएको महाभूकम्पको स्मृतिमा  प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। गृह मन्त्रालयको संयोजकत्वमा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो। सरकारले वर्षको एक दिन भूकम्प दिवस मनाए पनि भूकम्पीय जोखिम कम गर्न प्रभावकारी नदेखिएको सरोकारवालाको भनाइ छ। सरकारले औपचारिकताका लागि मात्र आयोजना गर्ने कार्यक्रम सहर केन्द्रित बन्दा ग्रामीण क्षेत्रका जनताले भूकम्पीय सुरक्षा र पूर्वतयारीबारे प्रभावकारी सूचना पाउन नसकेको उनीहरुको भनाइ छ।

सरकारी अधिकारीहरु भने कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणमा सहयोग पुगेको दाबी गर्छन्। २०७२ सालको भूकम्पपछि भूकम्पप्रतिरोधी संरचना निर्माणमा आवश्यक प्रविधिबारे प्रचारप्रसारमा जोड दिइएको महानिर्देशक गेलालले बताए। साथै, भवनसंहिता समेत परिवर्तन गरिएको उनको भनाइ छ। मुलुकले विगत एक वर्षको अवधिमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नीतिगत तथा कार्यक्रमगत तहमा उल्लेख्य प्रगति गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। ‘नेपालको संवैधानिक व्यवस्था अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागू भएसँगै नेपालमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी नीति निर्माण, कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गर्ने अधिकार र जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहमा रहेको छ। त्यसको कार्यान्वयनका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले मार्गप्रशस्त गरेको छ,’ पत्रकार सम्मेलनमा प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘सेन्दाई कार्य संरचना सन् २०१५–३० ले तय गरेका रणनीतिक प्राथमिकतालाई हाम्रा प्राथमिकता पहिचान गर्ने र कार्ययोजना निर्माण गर्ने सन्दर्भमा गृह मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण कार्यहरु भएका छन्।’ गत असारबाट विपद् जोखिम न्यूनीकरणलाई ग्रामीण तहसम्म संस्थागत गर्न विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति र रणनीतिक कार्ययोजना(सन् २०१८–३०) लागू भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ पुस २०७५ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App