८ वैशाख २०८१ शनिबार
अर्थ

विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न

काठमाडौं – नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ। विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो। आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिन्डर उद्योग भारतबाट उत्पादित एलपिजी सिलिन्डर र एलपिजी भल्व, अल्ट्राटेक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्टलाई गुणस्तर चिह्न प्रदान गरेको हो।

यस्तै, आल्स्टोम सिमेन्ट उद्योगबाट उत्पादित पिपिसी सिमेन्ट, बाल्ट्रा एसोसियट लिमिटेडबाट उत्पादित एलपिजी भल्व, बेकी स्टिल लिमिटेडबाट उत्पादित आइरन बार, दिल्ली एलपिजी भल्वबाट उत्पादित एलपिजी भल्व फिटिङ, ग्यास ड्रोइड इन्जिनियर लिमिटेडबाट उत्पादित एलपिजी सिलिन्डर, हरि उद्योग प्रालिबाट उत्पादित एलपिजी रेगुलेटरलाई समेत लाइसेन्स प्रदान गरेको छ।

विभागले इन्डिया सिमेन्ट लिमिटेडबाट उत्पादित ओपिसी सिमेन्ट, जयपीरेवा प्लान्टबाट उत्पादित ओपिसी सिमेन्ट, प्रभा इलेक्ट्रोनिक उद्योगबाट उत्पादित एलपिजी भल्व, सलोजा स्टीलबाट उत्पादित आइरन बार, सर्वमंगलम पेट्रोलियमबाट उत्पादित एलपिजी सिलिन्डर, स्टार सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट, सुप्रिम उद्योग प्रालिबाट उत्पादित कम्पोजिट सिलिन्डर, सूर्यशक्ति उद्योगबाट उत्पादित एलपिजी सिलिन्डर, टाटा स्टिलबाट उत्पादित आइरन बार र टाइम टेक्नोप्लेटबाट उत्पादित कम्पोजिट सिलिन्डरलाई गुणस्तर चिह्न प्रदान गरेको हो।

यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ। विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले उद्योगमन्त्री नवीन्द्रराज जोशी भएपछि मात्र विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गर्न सुरु गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या क्रमशः वृद्धि हुँदै गएको बताए। ‘प्रक्रिया पुर्‍याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई एनएस चिह्न प्रदान गर्दै आएका छौं,’ उनले भने। विभागले हालसम्म देश तथा विदेशका ६० वस्तुमा दुई सय ५० उद्योगबाट उत्पादित तीन सय ६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ। रासस

प्रकाशित: २७ पुस २०७५ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App