coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भक्तपुरमा पर्यटक तान्दै यातु महादेव

भक्तपुरको यातु महादेव मन्दिरमा पछिल्लो समय पर्यटक आवागमन बढेको छ। मन्दिर सफा र चिटिक्क बनेपछि यो क्षेत्रमा पर्यटक आकर्षण बढेको हो। यो ठाउँ उपत्यकाभन्दा धेरै टाढा छैन। भक्तपुरको कमलविनायक बसपार्कबाट एक किलोमिटर पूर्वमै यो ठाउँ छ।

यहाँ जान कमलविनायकबाट दुई वटा बाटा छन्। एउटा कमलविनायकस्थित नगरकोट बसपार्कबाट नगरकोट जाने बाटो र अर्को कमलविनायकस्थित नगरकोट बसपार्कबाटै भत्केको पाटीबाट छुट्टिएर सरस्वती स्थान जाने बाटो। सरस्वतीस्थान जाने बाटोबाट जाँदा त्यहाँ पुगेपछि सिढी चढ्नुपर्ने हुुन्छ। नगरकोट जाने बाटोबाट जाँदा भने सिधै त्यहाँ पुगिन्छ। दुवै ठाउँबाट जाँदा मोटरसाइकल मात्रै नभई गाडी पनि सजिलै जान सकिन्छ। यातु महादेव जाने दुवै बाटो कालोपत्रे छन्।

यो ठाउँ शान्त छ। यहाँ पार्किङ गर्ने ठाउँ पनि छ। शौचालयको पनि  व्यवस्था छ। स्थानीयबासी सम्झना कवां भन्छन्, ‘यहाँ पहिला मान्छेहरू कम आउँथे। अहिले मन्दिर सफा बनाएपछि घुम्न आउने तथा पिकनिक मनाउने आउनेको संख्या बढेको छ।’  मानिसहरूको चाप बढेपछि चिया पसल राखेको उनी बताउँछिन्। यहाँ काठमाडौं, ललितपुर र भक्तपुरकै धेरै आन्तरिक पर्यटकहरू घुम्न आउने उनको दाबी छ। कहिलेकाहीँ टुरिस्टहरू पनि आउने गरेको उनको भनाइ छ। आन्तरिक पर्यटकहरू दिनमा एक सयभन्दा वढी आउने उनको अनुमान छ।

काठमाडौंबाट घुम्न आएका अनिस श्रेष्ठले यहाँ बस्दा एकदम रमाइलो महसुस हुने बताए। यहाँ घुम्न आउदा उपत्यका बाहिर कुुनै नौला ठाउँमा आएको अनुभव हुने उनले बताए। उनले भने, ‘अरु ठाउँमा घुम्न जाँदा शौचालयको नभएर टेन्सन, पार्किङको समस्या हुन्छ। यहाँ त्यस्तो केही समस्या छैन।’ यसकारणले पनि यो ठाउँ मन परेको श्रेष्ठले बताए।

‘पार्किङ नभएका ठाउँमा मोटरसाइकल चोरी हुने जोखिम भएकाले घुम्न जानै डर लाग्छ,’ उनले थपे। तर, यहाँ कुनै समस्या नभएको उनको भनाइ छ।

श्री निष्कलंकेश्वर सेवा समिति (यातु महादेवस्थानको व्यवस्थापन गर्दै आएको समिति) का अध्यक्ष शिवलाल बालाका अनुसार अहिले धेरै मानिसहरू यहाँ घुम्न आउने गर्छन्। साथै पिकनिक मनाउन आउनेहरू पनि त्यतिकै रहने गरेको उनले जानकारी गराए। यहाँ मानिसहरुको घुम्न आउने संख्या बढ्नुको कारण ठाउँ सफा र शान्त भएको शिवलाल सुनाउँछन्। यो ठाउँलाई सफा राख्न दिनदिनै यातु महादेवको परिसर सफा गर्ने गरेको उनले बताए।

यो मन्दिर भक्तपुरको चांगुनारायण नगरपालिका वडा नं. ७ मा पर्छ। त्यस्तै यहाँ शौचालयकोे पनि राम्रो व्यवस्था रहेको छ। पहिला एउटा मात्र शौचालय थियो। अहिले मान्छेको चापसँगै महिला–पुरुषको शौचालय बनाएको पनि उनले जानकारी गराए। यस ठाउँलाई अझ सफा, शान्त, व्यवस्थित गरिरहेको उनले बताए। त्यसैले पिकनिक मनाउन आउनेहरूबाट केही शुल्क लिएर त्यहि शुल्कबाट कामहरू भइरहेको उनले बताए।

यातु महादेव मन्दिर परिसरमा पोखरी पनि छ। यो यस ठाउँको मुख्य आकर्षण मानिन्छ। पोखरी बीचमा नारायण देउताको मूर्ति रहेको र पोखरीमा सधैं सफा पानी पनि रहने भएकोले यो ठाउँ आकर्षक बनेको हो। पोखरीमा जानको लागि सिढी ओल्नुपर्छ। त्यस पोखरीको वरिपरि बार लगाइएको छ। पोखरीको वरिपरि घुम्न मिल्छ। पोखरीमा पानी पनि छ। यहाँ एक दिनमा दुई–तीन संस्थाको पिकनिक गर्न मिल्ने ठाउँ छ। पिकनिक गर्न आउनेलाई घामपानीबाट जोगाउन पाटीहरू पनि छन्।

प्रकाशित: २७ पुस २०७५ ०४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App