८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विश्वका धनी व्यक्ति बेजोसद्वारा सम्वन्धविच्छेद

वासिङ्टन – हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्बन्धविच्छेद भएको छ। अमेजन कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले २५ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन्। तीन महिनासम्म डेट गरेपछि उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए।

अमेजनको सिइओको ट्विटर अकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै वैवाहिक जीवन राजीखुशीले अन्त्य गरेको उल्लेख गरेका छन्। उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहे पनि नजिकको साथीका रूपमा भने रहिरहने जानकारी पनि दिएका छन्। ‘लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अब छुट्एिका छौं। सम्बन्धविच्छेद गरे पनि साथीको रूपमा हामी रहिरहने छौं,” वक्तव्यमा भनिएको छ।

एक अर्काप्रति कृतज्ञता प्रकट गर्दै उनीहरुले लेखेका छन्, ‘हामीलेसँगै बिताएको समय अत्यन्त सौभाग्यपूर्ण थियो। एकअर्कालाई पाएकोमा हामी भाग्यमानी हौं। हामी एक अर्काप्रति कृतज्ञता ज्ञापन गर्दछौं।’ ‘२५ वर्षपछि हाम्रो सम्बन्धविच्छेद हुन सक्छ भनेर यदि हामीलाई विवाह हुनुअगाडि नै थाहा भइदिएको भए पनि हामीले विवाह गर्ने थियौं। दम्पत्तिको रूपमा हामीले एकदम राम्रो जीवन बाँचेका छौं। साथै अभिभावक, मित्र, साझेदार वा व्यक्तिकै रूपमा पनि हाम्रो भावी जीवन गजबकै हुनेछ। नाम फरक होला तर हामी एक परिवार नै छौं र हामी अनन्य मित्र भइरहने छौं,’ वक्तव्यमा भनिएको छ। यो जोडीको चार सन्तान रहेका छन्। करिब २५ वर्ष पहिले स्थापना भएको अमेजन कम्पनी विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ।

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति एक खर्ब ३७ अर्ब डलर पुगेको र अहिलेको अवस्थामा विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस बनेको अमेरिकी सफ्टवेयर कम्पनी ब्लुमबर्ग अर्बपति सूचकाङ्कले सोमबार मात्रै देखाएको थियो। उनले सन् २०१७ मा माइक्रोसफ्टका बिल गेट्सलाई पछि पार्न सफल भएका थिए। बेजोससँग हाल रहेको सम्पत्ति बिल गेट्ससँग भएको भन्दा ४५ अर्ब डलर बढी भएको बिबिसीले उल्लेख गरेको छ। अमेजनले पहिलो पटक सोमबार सबैभन्दा उच्चस्थान ओगट्न सफल भएको थियो। मक्केन्जी बेजोस ४८ वर्षकी छन्। उनी लेखिका पनि हुन्। उनले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी थिइन्।

प्रकाशित: २७ पुस २०७५ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App