७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘विवाद समाधानका लागि आधार तयार’

बेइजिङ – बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ। लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो। निर्धारित समयभन्दा एक दिन बढी लम्बिएको व्यापार वार्ता समापन गरेर अमेरिकी वार्ता टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा गत डिसेम्बर १ मा सम्पन्न भएको विश्वका २० शक्तिशाली अर्थतन्त्रको समूह ‘जी–ट्वान्टी’को सम्मेलनका अवसरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएपछि त्यसैलाई पछ्याउँदै अमेरिकी प्रतिनिधिमण्डल चीन आएको थियो। सो सहमतिमा दुवै पक्षले ९० दिनसम्म दुवै देशका सामानमा कर (ट्यारिफ) नलगाउने विषयसमेत उल्लेख भएको थियो। बुधबार समापन भएको अमेरिका–चीनबीचको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धि (ट्यारिफ)लाई रोक्ने विषयमा सहमति गरेसँगै नयाँ आशा पलाएको अर्थविद्हरुले बताएका छन्।

बुधबारको सम्झौतासँगै सोही दिन नै विश्व शेयर बजारमा वृद्धि देखिएको थियो। यद्यपि एसियाली स्टक बजारमा भने बिहीबार गिरावट देखिएको छ। ‘तीन दिनसम्म चेलको वार्तामा चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार गहिराइमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदानप्रदान गरेका छन्। जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका विषयलाई समाधान गर्नका लागि आधार तयार बनेको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘दुवै पक्षबीचको निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने विषयमा पनि व्यापार वार्तामा सहमति भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। वार्तामा अमेरिकी पक्षले चीनले आफ्ना प्रविधि र बौद्धिक सम्पत्तिको बलजफ्ती रूपान्तरण र चोरी गर्दै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृति जारी राखेकाले त्यस्तो कार्य रोक्न माग गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। यसबारे भएको प्रगतिबारे सोधिएको प्रश्नमा चीनका वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, ‘वार्तामा संरचनागत विषयलाई केन्द्रित गरिएको थियो।’

‘चीनसँगको व्यापार वार्ता निकै सकारात्मक भएको छ,’ बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककिन्नीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। यसअघि मंगलबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए।

व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको र चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन आग्रह गरेको अमेरिकी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सिएनबिसीलाई बुधबार दिएको अन्तर्वार्तामा व्यापार विवाद अन्त्यका लागि दुवै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका थिए। ‘व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ।

चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्त राज्य अमेरिकामै बिक्री गर्छ,’ मन्त्री विल्बरलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। ‘मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,’ एप्पल कम्पनीका प्रमुख कार्यकारी टिम कुकले पनि वार्ताबाट सकारात्मक निकास आउनेमा विश्वास व्यक्त गरेका छन्। ‘मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु,’ कुकले बताए।

प्रकाशित: २७ पुस २०७५ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App