७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बाई बाई भन्दै ट्रम्प हिँडेपछि डेमोक्रेटसँगको बैठक निष्कर्षविहीन

डेमोक्रेट नेताहरुसँगको बैठक निष्कर्षविहीन भएपछि संवाददाताहरुसँग बोल्दै अमेरिकी उपराष्ट्रपति माइक पेन्स। साथमा हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन नेता केभिन म्याकक्यार्थे (दायाँ)। तस्बिर : एजेन्सी

वासिङ्टन  – संघीय अमेरिकी कार्यालय आशिंक रूपमा बन्द भएको १९औं दिनमा विपक्षी डेमोक्रेटसँगको बैठक चलिरहेकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक बाहिर निस्किएपछि वार्ता निष्कर्षविहीन बनेको छ।

बजेट अभावका कारण एक चौथाई संघीय कार्यालय बन्द भएको १९ दिन पुगिसकेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन माग गरेको बजेट देशको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित नभएपछि उनले बजेटमा समेत सहमति जनाएका छैनन्। गत नोभेम्बरमा सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनबाट अमेरिकी तल्लो सदनमा डेमोक्रेटहरुको बहुमत पुगेको थियो। रिपब्लिकन राष्ट्रपति ट्रम्पको निर्वाचन अभियानदेखिकै महत्वकांक्षी पर्खाल निर्माण परियोजना अनावश्यक भएको भन्दै उनले माग गरेजतिको बजेट पास गर्ने पक्षमा डेमोक्रेट नभएपछि अमेरिकामा पछिल्लो राजनीतिक संकट गहिरिएको हो।

अमेरिकी सरकारी खर्चबन्दी जारी रहेकै बेला डेमोक्रेटसँग पछिल्लो राजनीतिक समस्यालाई लिएर राष्ट्रपति ट्रम्पको बैठक भएको थियो। तर एक्कासी ट्रम्प रिसाएर हिँडेपछि आशिंक रूपमा भइरहेको सरकारी कार्यालय बन्द लम्बिने संकेत देखिएको छ। डेमोक्रेटको तर्फबाट अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख रहेकी न्यान्सी पेलोसी र अर्का विपक्षी नेता चक सुमरले मेक्सिको–अमेरिका सिमानामा प्रस्तावित पर्खालका लागि बजेट थप्न अस्वीकार गरेपछि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता तोडिदिएको बिबिसीले उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्रेट पार्टीका नेताहरूसँगको बैठकलाई, उनकै शब्दमा, ‘समय खेर फाल्ने कार्य’ को संज्ञासमेत दिएका छन्। डेमोक्रेटहरुले भने राष्ट्रपति ट्रम्पले रिसाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्। ट्रम्प र डेमोक्रेटबीचको जारी विवादका कारण सरकारी खर्चबन्दी सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारी यो साता पहिलो पटक बेखर्ची बन्न गइरहेका छन्। रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित ट्रम्पले अमेरिका–मेक्सिको सीमामा स्टिलको तारबार लगाउनका लागि ५७ अर्ब अमेरिकी डलर माग गरेका छन्। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने योजना ट्रम्पको निर्वाचन अभियानको प्रमुख अजेन्डासमेत हो। यद्यपि डेमोक्रेट नियन्त्रण रहेको तल्लो सदनले भने राष्ट्रपतिको सो मागलाई पारित गर्न अस्वीकार गर्दै आइरहेको छ।

बैठकमा के भयो ?
राष्ट्रपति ट्रम्प र विपक्षी डेमोक्रेटबीच मात्र १४ मिनेट बैठक भएको बिबिसीले उल्लेख गरेको छ। वेस्ट विङ वेसमेन्टस्थित सम्मेलन केन्द्रको सिचुएसन रुममा राष्ट्रपति ट्रम्पले डेमोक्रेट पार्टी नेताहरुलाई बैठकका लागि डाकेका थिए। बैठक प्रारम्भ भएलगत्तै राष्ट्रपति ट्रम्पले सभामुख न्यान्सी पेलोसीलाई पर्खाल निर्माणमा बजेट उपलब्ध गराउने वा नगराउने भनेर प्रश्न गरेका थिए। ट्रम्पको प्रस्तावलाई सभामुख पेलोसी र विपक्षी नेता सुमरले अस्वीकार गरेलगत्तै ट्रम्पले बैठकस्थल छोडेर हिँडेको बताइएको छ। बैठकपछि सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्रेट नेताहरूलाई ‘बाइ बाइ’ अर्थात् टाटा भनेको हिँडेको उल्लेख गरेका छन्।

डेमोक्रेट नेता सुमरले बैठकबारे पुष्टि गर्दै भने, ‘राष्ट्रपति ट्रम्पले सभामुख न्यान्सीलाई सोधे तपाईंहरू अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट उपलब्ध गराउन सहमत हुनुहुन्छ? प्रतिउत्तरमा न्यान्सील छैनौं भनिन्। त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे। उनले फेरि रिस र घुर्की देखाए।’

‘तपाईंले जनतालाई उचाल्ने माध्यमका रूपमा प्रयोग गरिरहनु भएको छ। तपाईं आंशिक रूपमा बन्द रहेको सरकारलाई किन खुला गराउनुहुन्न र जनतालाई दुःख दिने कार्य बन्द गर्नुहुन्न ?’ विपक्षी नेता सुमरले बैठकमा गरेको प्रश्न उद्धृत गर्दै बिबिसीले जनाएको छ।
प्रतिउत्तरमा राष्ट्रपति ट्रम्पले आफूले देशका लागि राम्रो काम गर्न लागिरहेको बताउँदै अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने विषय राजनीति नभएको बताएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ। राष्ट्रपति ट्रम्पले बैठकका बेला टेबलमा हानेको तर उपराष्ट्रपति माइक पेन्सले रोकेकोसमेत सुमरले बताए। ‘त्यसपछि राष्ट्रपति ट्रम्प बैठक कक्षबाट बाहिरिए र फर्किएनन्,’ उनले बताए।

हाउस अफ रिप्रेजेन्टेटिभ्सकी रिपब्लिकन नेत्री केभिन म्याकक्यार्थेले बैठकमा डेमोक्रेटहरुको प्रस्तुति अप्ठेरो लाग्दो भएको आरोप लगाएकी छन्। मंगलबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट पहिलो टेलिभिजन सम्बोधन गर्दै सीमामा मानवीय र सुरक्षा संकट उत्पन्न भएको बताएका थिए। ट्रम्पले भनेजस्तो कुनै पनि संकट नभएको जनाउँदै विपक्षी डेमोक्रेटले उनले झुटो चुनौती खडा गरेको आरोप लगाएका थिए। विपक्षीसँगको बैठक निष्कर्षविहीन बनेपछि राष्ट्रपति ट्रम्पले सीमाको भ्रमण गर्ने भएका छन्। उनले टेक्सासको रियो ग्रान्डी उपत्यकास्थित  म्याकएल्लेनमा रहेको सीमा गस्ती स्टेसनको भ्रमण गर्ने बताइएको छ। गैरकानुनी रूपमा धैरै आप्रवासी अमेरिका प्रवेश गर्ने सो खण्डको सुरक्षाबारे राष्ट्रपति ट्रम्पले जानकारी लिने बताइएको छ।

डेमोक्रेटसँग सहमति नभए राष्ट्रपति ट्रम्पसँग अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि आवश्यक पर्ने बजेटसम्बन्धी यस विषयमा राष्ट्रिय संकटकाल घोषणा गर्ने विकल्प रहेको छ। संकटकाल  लगाएपछि उनलाई पर्खाल निर्माणका लागि रक्षा मन्त्रालयबाट बजेट प्राप्त हुनेछ। तर यदि उनले यस्तो कदम चाले भने त्यो एकदमै विवादित हुनेछ र त्यसले लामो कानुनी लडाइँको सुत्रपात गर्ने छ। १९ दिनदेखि संघीय कार्यालयहरु आंशिक बन्द भए पनि त्यसलाई खुलाउनका लागि डेमोक्रेटले पनि पहल गरेका छैनन् किनभने जनताले ट्रम्पकै कारण कार्यालय बन्द भएको भनेर बुझेको भन्ने उनीहरुको ठम्याइ रहेको छ। पछिल्लो जनमत सर्वेक्षणअनुसार आधाभन्दा बढी अमेरिकी नागरिकले राष्ट्रपति ट्रम्पकै कारणसरकारी कार्यालय आंशिक रूपमा बन्द भएको मान्ने गरेका छन् भने रिपब्लिकनलाई मतदान गर्नेमध्ये ७७ प्रतिशतले सीमामा पर्खाल निर्माण गर्ने राष्ट्रपति ट्रम्पको योजनालाई समर्थन गरिरहेका छन्।

प्रकाशित: २७ पुस २०७५ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App