६ वैशाख २०८१ बिहीबार
कला

बस्नेतलाई ‘विष्णुभक्त रंगकर्म पुरस्कार’

काठमाडौं – नाटक ‘महर्षि यज्ञकल्क्य’ मा राजा जनकको भूमिकामा अभियन गरिरहँदा स्टेजमै निधन भएका रंगकर्मी विष्णुभक्त फुयालको नाममा स्थापित ‘विष्णुभक्त रंगकर्म पुरस्कार’बाट कलाकार लक्ष्मणविक्रम बस्नेत पुरस्कृत भएका छन्। फुयालको स्मृतिमा स्थापित विष्णुभक्त–तारादेवी स्मृति गुठीले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रममा बस्नेतलाई १५ हजार राशीसहित पुरस्कृत गरेको हो।

कलाकार बस्नेतले विष्णुभक्तसँग २०४७ सालदेखि कलायात्रा शुरु गरेका थिए। उनले विष्णुभक्तसँग अभिनय गरेको अन्तिम नाटक ‘अमर मातृत्व’ थियो। साढे तीन दशकदेखि रंगकर्म तथा अभियनयमा सक्रिय बस्नेतलाई अभिनय क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको छनौट समितिका संयोजक रंगकर्मी तथा कुसुम नाट्य समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले बताए।

२०७३ साल पौष १९ गते सांस्कृतिक संस्थानद्वारा आयोजित नाटक ‘महर्षि यज्ञकल्क्य’ मा अभियन गर्दा गर्दै फुयालको निधन भएको थियो। करिब ६ दशकभन्दा बढी समय नेपाली रंगक्षेत्रमा बिताएका फुयाल रमेश विकलको उपन्यासमा आधारित टेलिफिल्म ‘अविरल बग्दछ इन्द्रावती’ मा ‘गम्भीरे माझी’को भूमिकामा अभिनय गरेर चर्चामा आएका थिए।

‘गम्भीरे माझी’को भूमिकामा चर्चित भइरहँदा हास्य टेलिफिल्म ‘तितो सत्य’को ‘ओ माइ लभ’ चरित्रले उनलाई थप चिनाएको थियो। नाटक लेखन, निर्देशन, अभिनय, गीत लेखनमा सक्रिय फुयाल पछिल्लो समय कुसुम नाट्य समूहका अध्यक्ष तथा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यसमेत थिए।

प्रकाशित: २७ पुस २०७५ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App