८ वैशाख २०८१ शनिबार
समाज

पशुपति क्षेत्रका सम्पदा संरक्षण गर्न पहल

काठमाडौं – राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्रका मूर्त अमूर्त सम्पदाको पर्यटकीय दृष्टिले प्रचारप्रसार गरी विश्वका हिन्दूलाई आकर्षित गरिनुपर्नेमा जोड दिइएको छ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको मूर्त अमूर्त सम्पदाको कार्यटोलीको प्रतिवेदनमाथिको छलफल तथा कार्यशाला गोष्ठीका वक्ताले सम्पदाको अध्ययन अनुसन्धान गरी यसको महत्वका बारेमा प्रचार गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका हुन्।

सो अवसरमा सांसद गगनकुमार थापाले पशुपति क्षेत्र छिरेको पर्यटकलाई छ घण्टासम्म त्यहीँ बिताउने गरी पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिए। उनले स्थानीयवासीले पशुपति क्षेत्रको संस्कृति जोगाएकाले सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरेर धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए।

कार्यक्रमका अर्का वक्ता राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले १५ औं आवधिक योजना बनाउन लागिएका बेला पशुपतिजस्ता धार्मिक क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्ने विषयको अध्ययन अनुसन्धानका आधारमा सुझाव दिन आग्रह गरे। पछिल्लो समय पर्यटकको संख्या वृद्धि भइरहेकामा आगामी वर्ष २० लाखसम्म भित्र्याउनुपर्नेमा जोड दिए।

धार्मिक संम्पदाहरुको संरक्षण गर्न बाग्मति यात्रा, कुण्ड यात्रा र लिंग यात्राहरु लोप हुन लागेकाले ती र अन्य त्यस्तै संस्कृतिको जगेर्नाका लागि पशुपति क्षेत्र विकास कोषले गुरुयोजना अघि सारेको छ। सांस्कृतिक संरक्षणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका यस वर्षदेखि कोषले त्रिभुवन विश्वविद्यालयको सांस्कृतिक तथा पुरातत्व विभागसँग सहकार्य गर्ने भएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले विभिन्न कोलाहलले तनावमा रहेका मानिसलाई शान्ति दिन सक्ने आध्यात्मिक वातावरण बनाएर पशुपति क्षेत्रमा पर्यटक आकर्षण गर्ने गरी गुरुयोजनाको तयारी भएको जानकारी दिए।

गोष्ठीमा त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभागकी प्रा. निर्मला पोखरेलले ‘पशुपति क्षेत्रका मूर्त कलाकृतिहरुको अध्ययन’, विभागकी डा. सन्ध्या खनाल पराजुलीले ‘पाशुपत क्षेत्रका अमूर्त संस्कृतिको अध्ययन’ प्रस्तुत गरेकी थिइन्। त्यस्तै विभागकै उपप्राध्यापक पशुपति न्यौपानेले ‘पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक पर्यटन विकासको प्रारम्भिक योजना’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा पराजुली र न्यौपानेका प्रस्तुतिमाथि टिप्पणी तथा अन्तरक्रिया भएको थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले धार्मिक संम्पदाहरुको संरक्षण गर्न बाग्मति यात्रा, कुण्ड यात्रा र लिंग यात्राहरु लोप हुन लागेकाले ती र अन्य त्यस्तै संस्कृतिको जगेर्नाका लागि नयाँ गुरुयोजना अघि सारिएको बताए। सांस्कृतिक संरक्षणका कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि यसै वर्षदेखि त्रिभुवन विश्वविद्यालयको सांस्कृतिक तथा पुरातत्व विभागसँग सहकार्य गरी काम बढाइन लागेको सचिव ढकालले बताए।

उक्त कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङले बढ्दो पश्चिमी संस्कृतिहरुको प्रभावले गर्दा नयाँ पुस्ताले आफ्नो संस्कृति तथा सम्पदाहरुलाई बिर्संदै गएको बताए। यस किसिमका कार्यक्रम तथा छलफल गरी अघि बढेमा हाम्रा सम्पदाहरु संरक्षणमा टेवा पुग्ने गुरुङले बताए।

‘पशुपति क्षेत्रमा भएका थुप्रै मूर्त तथा अमूर्त सम्पदाहरु रहेका छन् जुन लोप हुने अवस्थामा पुगेका छन्। तिनको संरक्षणको लागि यस्तो अवधारणा अघि सारेका हौं,’ पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुगांनाले बताए। कार्यक्रममा डा. सोम खतिवडा, डा. जगदीशचन्द्र रेग्मी र प्रा. विदुर पौडललगायतले टिप्पणी गरेका थिए।

प्रकाशित: २७ पुस २०७५ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App