राष्ट्रनायकको अठोट

शुक्रबार, २७ पुष २०७५, ०८ : २१ युवराज गौतम

1842


“बाबु, म अलि रोगी भएँ, नत्र गोरखा राज्यलाई दुःख दिन्या सबैलाई ठेगान लगाउन्याथेँ।” हिउँदको बेलामा आगो तापिरहेका नरभूपाल शाहले जेठा छोरा पृथ्वीनारायण शाहलाई भनेका ती शब्दहरूले ठूलो प्रभाव पारेको प्रसंग सुनाएका थिए, मृगस्थली आश्रममा योगी नरहरिनाथले। योगी नरहरिनाथकै प्रयासमा २००९ सालदेखि नेपालमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मनाउने चलन सुरु भएको थियो भने उनी र सूर्यविक्रम ज्ञवालीलगायतका विद्वान्हरूले पृथ्वीनारायण शाहको दिव्यउपदेशको प्रचारप्रसार गरेर ठूलो गुन लगाएका छन्।

नेपाल एकीकरणको परिकल्पना नरभूपालको सपना थियो। यो सपना उनले छोरालाई सुनाएका थिए। बीस वर्षको उमेरमा राजा भएका पृथ्वीनारायणले प्रजासँग सल्लाह गरेर राष्ट्रिय एकताको अभियान सुरु गरेको पाइन्छ। त्यसबेला दरबारका सुयोग्य गुरु, पुरोहित, ज्योतिषी, विद्वान् र सेनाका अधिकृतहरूको राय सल्लाह लिएका थिए उनले। उनीहरू सबैले बिन्ती गरे, “सकिन्छ महाराज, एकीकरण गर्न सकिन्छ।” त्यसपछि सुरु भयो, राष्ट्रनिर्माणको महाअभियान। पृथ्वीनारायणको अठोट अदम्य थियो। त्यसै कारण उनी रोकिएनन्।

राजदरबारका गुरुहरू बालक युवराज पृथ्वीनारायण शाहलाई देवीदेवताका कथा सुनाउँथे। इमानदार, लोकप्रिय, साहसी र वीरले ठूल्ठूला सत्कर्म गर्न सक्छन् भनेर प्रेरक उपदेश दिन्थे। पशुपतिनाथको दर्शन गर्न आउँदा कान्तिपुर, ललितपुर र भादगाउँ (भक्तपुर) घुमेका एकजना गुरुले पृथ्वीनारायणलाई सुनाए– “खड्ग (तरबार) आकारको छ, काठमाडौँ सहर। बीँड बसन्तपुरतिर र चुच्चो ठमेलतिर भए जस्तो देखिन्छ। गुणकामदेव राजाले बसाएको काठमाडौँ सहर साँच्चै मनोरम छ। देवी–देवताका हजारौँ मन्दिर छन् त्यहाँ। बौद्ध धर्म मान्नेका गुम्बा र विहारहरू छन्। त्यो प्राचीन सहर हो।” त्यो शब्दचित्रले बालकको हृदयमा गहिरो प्रभाव प¥यो। गोरखाको टाकुरामा रहेको सानो दरबारमा हुर्केका पृथ्वीनारायण शाहले अठोट गरे, लमजुङ, तनहुँ, नुवाकोटलगायतका राज्यलाई जित्दै एक दिन अवश्य म काठमाडौँ पुग्छु। राजगद्दी सम्हालेपछि उनी दरबारमा रमाइलो गरेर बसेनन्। जंगल, पहाड, भीर नदी, मैदान र फाँटहरू पार गर्दै अघि बढे सैनिकहरू लिएर। पशुपतिनाथ, गुह्यश्वरी र गोरखाकालीको भजन गाउँदै वीर सैनिकहरू अघि बढे। कोदो, फापर, आलु, तरुल, भटमास र मकै जहाँ जे पाइन्छ, त्यही खाएर युद्धमा होमिए, हाम्रा पुर्खा। त्यो इतिहास सम्झिँदा आज हामी भावुक बन्छौँ, रोमाञ्चित हुन्छौँ र उनीहरूप्रति नतमस्तक हुँदै नमन गर्छौँ।

राजदरबारमा धार्मिक ग्रन्थहरू, प्राचीन इतिहासका प्रसंग, वीरगाथा, युद्धका कथाहरू अनि राजाका काम–कर्तव्यको ज्ञान पाएका पृथ्वीनारायण शाहले पन्ध्र सोह्र वर्षको उमेरदेखि नै प्रजाको गुनासो सुनेर निर्णय दिन थालेको इतिहासकारहरूको कथन छ। पृथ्वीनारायण गोरखाको राजा भएका बखत चीनमा छिङ्वंशका सम्राट् छियन्लोङ शासन गर्थे। जापानमा शोगुन सम्राट् शाकुरामाचीको शासन थियो। नर्वेमा क्रिस्टियन (छैटौँ) राजा थिए। ब्रिटेनमा जर्ज (द्वितीय) राजा र रबर्ट वालपोल प्रधानमन्त्री थिए। टर्कीमा अटोमन साम्राज्य थियो। स्पेनमा फिलिप (पाँचौँ) राजा थिए। धेरै देश साम्राज्यवाद र विस्तारवादको छत्रछहारीमा थिए। स्वतन्त्र राष्ट्र थोरै थिए।

पृथ्वीनारायण शाह जस्ता राष्ट्रनायकका लागि नेपाल र नेपालीको बृहत्तर हित सर्वोपरि थियो। तर उनलाई गाली गर्ने आजका उत्ताउला र उरन्ठेउला व्यक्तिहरू आफ्नो र दलको स्वार्थभन्दा माथि उठ्नै सकेका छैनन्। दुर्भाग्यको कुरा यही हो।

ऊबेला अमेरिकामा ब्रिटेनको शासन थियो। पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको सात/आठ वर्षपछि मात्र अमेरिका स्वतन्त्र भयो। त्यसैले उमेरका हिसाबले नेपालभन्दा कान्छो हो, अमेरिका। मेसोपोटामिया, इजिप्ट, माया, चीन, ग्रीक, पर्सिया, जापान, इथियोपिया, फ्रान्स, पोर्चुगल आदि सभ्यताको चर्चा गर्ने विद्वान्–विदुषीले गंगा र सिन्धु सभ्यताको चर्चा त गरे, तर हिमाली अधिराज्य नेपालको प्राचीन सभ्यताबारे आधुनिक पुस्तकहरूमा विशद् चर्चा गरेनन्। हिमवत् खण्डको सभ्यता वैदिक कालदेखि पुष्पित–पल्लवित भएको पाइन्छ। भारतसम्म आएर आठ/नौ सय वर्ष मुगल र अंग्रेजले शासन गरे। उनीहरूले नेपाल कब्जा गर्ने प्रयास गरे, तर हाम्रा वीर पुर्खाले ती शत्रुलाई धपाए। मातृभूमिमाथि बलात्कार हुन दिएनन्। विदेशीको नुन खाएका थिएनन् हाम्रा पुर्खाले। त्यसैले स्वदेशको रक्षा गरे। धर्म, संस्कृति र सभ्यताको संरक्षण, संवद्र्धन तथा सम्पोषण गरे। आत्मसम्मान, इमानदारी, साहस र अठोट भएका जनता छन् भने राष्ट्रको शिर झुक्दैन। त्यस्ता जनतालाई रंगीविरंगी फूल मान्थे, पृथ्वीनारायण शाहले। त्यसैले राष्ट्र निर्माणको महान् अभियान राजा, प्रजा र सेना मिलेर सफल बनाए।

सत्ययुगमा नेपाललाई सत्यवती, त्रेतायुगमा तपोभूमि, द्वापरयुगमा मुक्तिसोपान भनिएको छ। महाभारतको वनपर्व (२५४/४–७) मा ‘नेपाल’ शब्द पाइन्छ। अथर्ववेदमा ऊनको उत्पादन हुने देश भनेर नेपालको चर्चा गरिएको छ। स्कन्दपुराणलगायतका धेरै ग्रन्थमा नेपालको वर्णन पाइन्छ।

‘नेपालको ऐतिहासिक रूपरेखा’ पुस्तकमा इतिहासकार बालचन्द्र शर्माले कल्हणको ‘राजतरङ्गिणी’ ग्रन्थको प्रसंग उल्लेख गरेका छन्। कालीगण्डकीसम्म आएका कास्मिरका सेनालाई त्यहीँ परास्त गरिएको कुरा पुस्तकमा उल्लेख छ। कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायणको फौजलाई परास्त गर्न अंग्रेज फौज बोलाए। (नर्वेका नेता क्विजलिङले त्यसरी नै जर्मन फौज बोलाएर राजा हाकोनलाई अपदस्थ गर्न खोजेका थिए।) गोर्खाली सेनाले झन्डै २ सय ५० वर्ष पहिले विश्वविजेता भनिने अंग्रेजको सेनालाई सिन्धुलीमा परास्त गर्दा दुई हजार चार सय अंग्रेज सैनिकमध्ये एक हजार छ सय जति मारिए र अरु भागे। त्यही बाटो भएर जयस्थिति मल्लका पालामा विसं १४०६ मा बंगालका सुल्तान (राजा) ससमुद्दीन इलियसको सेनाले काठमाडौँमा हमला गरेको प्रसंग इतिहासमा आउँछ।

यक्ष मल्लले मगध, मिथिला र मोरङ जिते पनि स्थायित्व हुन सकेको थिएन। कालीगण्डकी पूर्व र पश्चिमका झन्डै ५४ वटा राज्यलाई नियन्त्रणमा लिएर पृथ्वीनारायण शाहले स्थायित्व दिए। अंग्रेजले आँखा गाडिरहेको बेला राष्ट्र एकीकरण गरे। नत्र नेपाल रहने थिएन र हामीले सगर्व नेपाली भन्न पनि पाउने थिएनौँ। अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले ‘अन चाइना’ पुस्तकमा गोर्खाली फौजले अंग्रेज फौजलाई नेपालमै नरोकेको भए उनीहरू चीन पुग्थे भनेका छन्। त्यसबेला आजको तुलनामा चीन सामरिक रूपले बलियो भइसकेको थिएन। तसर्थ अंग्रेजले चीनमा प्रभाव बढाउन सक्थे।

चीन–भारतबीचको भूराजनीतिमा नेपाल आज पनि महत्वपूर्ण मानिन्छ। अहिले पनि भारत, चीन, अमेरिका र युरोपेली युनियनले नेपालमा आफ्नो दबाब र प्रभाव बढाउन खोजिरहेको देखिन्छ। तसर्थ पृथ्वीनारायण शाहले दिव्यउपदेशमा भनेझैँ दुई ढुंगाबीचको तरुल नेपाललाई सुरक्षित राख्नुपर्ने दायित्वबाट हामी विमुख हुन सक्दैनौँ। यसका लागि राष्ट्रिय मूलनीति बनाउँदा पृथ्वीनारायणकै उपदेश र मार्गचित्रलाई आधार मान्दा हाम्रो हित हुने देखिन्छ।

गीतामा भनिएको छ– “जस्तो हुने इच्छा छ, आफूलाई त्यस्तै मान।” विचार शक्ति, मनोबल, साहस, इमान, कर्म र परिश्रमको धरातलमा मात्र व्यक्तित्व निर्माण हुन्छ। पृथ्वीनारायण शाहले पनि राष्ट्रलाई एकीकृत, सुदृढ, स्वावलम्बी, सक्षम र स्वाभिमानी बनाउने अठोट गरेका थिए। त्यसैले उनी बाँचुन्जेल राष्ट्रनिर्माणमै लागे। सुख, भोगविलास, अभिमान, व्यक्तिगत स्वार्थ जस्ता तुच्छ कुराहरू त्यागेर अथक, अविराम र अहर्निश योगदान गरिरहे उनले। बाउन्न वर्षकै उमेरमा देह त्यागे उनले तर नेपाल र नेपालीले आज पनि उनलाई श्रद्धापूर्वक सम्झिरहेका छन्।

ब्रिगेडियर सी एन वर्कलेले ‘द न्यू वारफेर’ (सन् १९५३) मा लेखेका छन्–“अस्थायी युक्तिले स्थायी परिवर्तन सम्भव हुँदैन।” हुन पनि हो, बागमतीजस्ता नदीबाट हजारौँ क्विन्टल फोहोर निकाल्दैमा नदी स्वच्छ हुँदैन। फोहोर नै नगर्ने र फोहोर गर्नेलाई नदी किनारामै तत्काल कारबाही गर्ने हो भने नदी स्वतः सफा हुन्छ। त्यस्तै राष्ट्रिय एकता बिथोल्ने, जातीय एवं अनेकौँ किसिमका विखण्डनकारी गतिविधि गर्ने र नेपाल नै टुक्राटुक्रा पाछौँ भन्नेहरूलाई मानव अधिकार लगायतका ज्याकेट लगाइदिएर पालनपोषण गरिरहने हो भने युगोस्लाभियाझैँ नेपाल पनि टुक्राटुक्रा हुन सक्छ। तसर्थ “राष्ट्र बचाउने” सर्तमा जागिर खाइरहेका सुरक्षाकर्मीदेखि लिएर “समृद्ध नेपाल” जस्ता अनेकौँ सपना बेच्ने नेतागणले “स्वाधीन नेपाल” बचाउन राष्ट्रनिर्माताका प्रत्येक वाणी आत्मसात् गर्नुपर्छ। मन, वचन र कर्मले राष्ट्रको सम्मान तथा हित हुने काम गर्नुपर्छ। राष्ट्रवादको सही अर्थ पनि त्यही हो।

आयरल्यान्डका राजनीतिज्ञ गेरी एडम्सको तर्क छ– “कानुनको पालना गराउने जिम्मेवारी लिएका व्यक्तिहरूले आममानिसको हितभन्दा पनि आफ्नै  निहित स्वार्थ पूर्ति गर्न शक्तिको प्रयोग गर्दा समस्या आउने गरेको छ।” हुन पनि हो, पृथ्वीनारायण शाह जस्ता राष्ट्रनायकका लागि नेपाल र नेपालीको बृहत्तर हित सर्वोपरि थियो। तर उनलाई गाली गर्ने आजका उत्ताउला र उरन्ठेउला व्यक्तिहरू आफ्नो र दलको स्वार्थभन्दा माथि उठ्नै सकेका छैनन्। दुर्भाग्यको कुरा यही हो।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad