८ वैशाख २०८१ शनिबार
समाज

माघभरिमा ‘ग्रेड’ र ‘सब–बेस’ मिलाइसक्न दबाब

लामोसाँघु–जिरी सडकअन्तर्गत विस्तार भइरहेको चरिकोट–खाडीचौरको पहिलो प्याकेजअन्तर्गत काम गर्दै डोजर। तस्बिर : रमेश/नागरिक

दोलखा – विस्तार हुँदै गरेको खाडीचौर–चरिकोट सडकमा ‘ग्रेड’ र ‘सब–बेस’को काम तुरुन्त सिध्याउन ठेकेदार कम्पनीहरूलाई दबाब परेको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण तीन वर्ष अलपत्र परेर पुनः काम सुरु भएको हो।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म दुई प्याकेजमा सडक विस्तार तथा निर्माणको काम चलिरहेको छ। दुवै प्याकेजका ठेकेदार कम्पनीहरूलाई सडकको ग्रेड तुरुन्त मिलाउने र जाडोयामभित्रै सब–बेस बिच्छ्याउने काम सिध्याउन सडक विभागले ताकेता गरेको हो। ‘सडकको ५५ किलोमिटर पुरैमा नसके पनि यो आर्थिक वर्षभित्र कम्तीमा ३० किलोमिटरमा कालोपत्रे सक्नेगरी काम गराइरहेका छौं,’ लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख धर्मेन्द्र कुमार झाले भने। झाले दुवै प्याकेजमा ठेकेदार कम्पनीहरूबीचको आन्तरिक कलहका कारण बेलाबेलामा समस्या देखिने गरेको सुनाए।

लामो समयदेखि प्रमुखविहीन यो सडक विस्तार आयोजनामा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुखसमेत रहेका झालाई हालै विभागले यो आयोजनासमेत हेर्नेगरी प्रमुखको जिम्मेवारी दिएको थियो। झाका अनुसार यो आर्थिक वर्षमा विस्तारको काम सबै पूरा गर्न नसकिए पनि यसअघिको पुरानो सडकको संरचना भत्काएर ग्रेड मिलाउने र सवारी साधन आउजाउ गर्न मिल्ने गरी सडक सुधार गर्ने योजना विभागको छ। ‘गएको वर्षायाममा सडक प्रयोगकर्तालाई साह्रै कष्ट भएको र दोलखाका थुप्रै विकासे आयोजना प्रभावित बनेको विषयलाई मध्यनजर गरी आउने वर्षामा आउजाउ गर्न बाधा नपुग्नेगरी सडक बनाउने तयारीमा छौं,’ उनले भने। आयोजनाको पहिलो प्याकेजमा काम गरिरहेको ठेकेदार कम्पनीको म्याद आगामी वैशाखमा सकिँदैछ भने दोस्रो प्याकेजको ठेकेदार कम्पनीको म्याद गुज्रिसकेको छ। आयोजना प्रमुख झाले म्याद थपका लागि पक्रिया चलिरहेको सुनाए।

सडकको पहिलो प्याकेजअन्तर्गत आठ किलोमिटर क्षेत्रमा ग्रेड मिलाउने काम सकिसकेको छ। पुरानो ठेकेदारसँगको भुक्तानी विवादले झन्डै दुई साता रोकिएको यो प्याकेज ठेकेदार कम्पनीको सुनकोसी नदीस्थित क्रसरसमेत गत साता देखि सुचारु भएको छ। सडक विस्तार आयोजनाको परामर्शदाता कम्पनीका इन्जिनियर अभिषेक प्रधानका अनुसार दोस्रो प्याकेनको मुढेदेखि चरिकोटसम्मको ३० किलोमिटर खण्डमध्ये १२ किलोमिटरमा सब–ग्रेड गर्ने काम सकिएको छ। बीचमा रहेको क्रसरसमेत सञ्चालनमा आइसकेको छ। आयोजना प्रमुख झाले बेस र सब–बेसका लागि दैनिक १३ घन्टासम्म क्रसर चलाउनुपरेको सुनाए। प्रधानले जाडोयामभरि सडकको ग्रेड मिलाइसक्नेगरी ठेकेदारले काम गरिरहेको सुनाए। ‘जाडोयाम सकिएलगतै बेस बिच्छ्याएर कालोपत्रेको काम सुरु गर्नेगरी दुवै प्याकेजका ठेकेदार कम्पनीहरू लागिपरेका छन्,’ उनले भने।

प्रकाशित: २७ पुस २०७५ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App