८ वैशाख २०८१ शनिबार
विचार

साहसीका एक मात्र प्रतीक

भरत बस्नेत
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान नेपालको इतिहासमा अनुपम, अद्वितीय र विशिष्ट रहेको छ। गोरखाका राजा नरभूपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाहले पिताको देहान्तपछि २० वर्षको उमेरमा राजगद्दी सम्हालेका थिए। त्यसपछि तत्कालै नेपाल एकीकरणको प्रक्रिया सुरु गरेर एउटा महायज्ञको थालनी गरे। १७७९ पुस २७ गते बिहीबार पिता नरभूपाल शाह तथा माता कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायणको जन्मदिनको सम्झनामा हरेक वर्ष नागरिकस्तरबाट पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस उत्साह र उमंगका साथ मनाउने गरिएको छ। यो हाम्रो कर्तव्य पनि हो।

२००९ सालदेखि राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती मनाउने परम्परा सुरु भएको पाइन्छ। इतिहासकार तथा सनातन धर्म–संस्कृतिका ज्ञाता योगी नरहरिनाथको संयोजकत्वमा समारोह समिति बनाएर पृथ्वीजयन्ती मनाउने परम्परा सुरु भएपछि झन्डै ५० वर्षसम्म सरकारीस्तरबाटै मनाइयो। तर २०४७ सालपछि पृथ्वीजयन्तीका बारेमा अनेकाैँ निरर्थक बहस गर्न थालियो। उनलाई सम्मान दिन पनि कतिपयले लज्जाको अनुभूति गर्न थाले।

०६२/६३ सालको परिवर्तनपछि पृथ्वीनारायण शाहको योगदानको अवमूल्यन गर्न थालियो। राज्यस्तरबाट पृथ्वीजयन्ती मनाउने परम्परासमेत बन्द गरियो। तर २०५७ सालदेखि लगातार पंक्तिकारकै अग्रसरतामा काठमाडौँमा नागरिकस्तरबाट राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती मनाइँदै छ भने देशका विभिन्न भागमा समेत सो दिन देशभक्तहरूले त्यस्ता कार्यक्रम गर्ने गरेका छन्।

पृथ्वीनारायण शाहले नुवाकोट दरबारमा आफू अस्वस्थ भएको अवस्थामा भाइभारदार र शुभेच्छुकहरूलाई भेला गरी देशलाई बलियो बनाउन राजनीति, कूटनीति, अर्थनीति, सांस्कृतिक, धार्मिक र युद्धनीतिबारे गम्भीर विचार व्यक्त गरेका थिए। त्यसलाई तत्काल लिपिबद्ध गरिएको थियो। काठमाडौँको किलागलको एउटा घरमा सो दिव्यउपदेश लिखित हस्ताक्षरका रूपमा फेला परेपछि त्यसलाई इतिहासकार सूर्यविक्रम ज्ञवालीले २०१९ सालमा पहिलो पटक दिव्यउपदेशका रूपमा प्रकाशित गरेर ठूलो गुन लगाएका छन्।

स्वदेश तथा विदेशमा बस्ने करोडौँ नेपालीले पृथ्वीविचारका बारेमा बुझ्ने महत्वपूर्ण स्रोतका रूपमा दिव्यउपदेश पुस्तिकालाई लिने गरेको पाइन्छ। कतिपय विदेशी विद्वानले त सोही विषयमा विद्यावारिधि उपाधि लिएका छन् भने नेपाली विद्वान–विदुषीका लागि पनि तत्कालिन नेपाल बुझ्न सो सामग्री महत्वपूर्ण स्रोत सावित भएको छ।

५२ वर्षकै उमेरमा वि.सं. १८३१ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा पृथ्वीनारायण शाहको स्वर्गारोहण भएको थियो। तर उनी जति वर्ष बाँचे, सदैव नेपाल र नेपालीको बृहत्तर हितका लागि काम गरिरहे। तसर्थ उनको योगदानका बारेमा जति चर्चा गरेपनि थोरै हुन्छ।
पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानलाई उनी पछि उनका कान्छा छोरा बहादुर शाहले अगाडि बढाए। नेपाल एकीकरण अभियानको पूर्णविराम पृथ्वीनारायणका पनाति राजा गिर्वाणयुद्ध विक्रम शाहका पालामा भयो। एकीकरण अभियान ७२ वर्षसम्म चलेको पाइन्छ।

पूर्वमा टिष्टा नदी र पश्चिममा सतलज नदीसम्म नेपालको सिमाना विस्तार भएको थियो भन्ने कुरा आज किंम्वदन्ती जस्तो भइसकेको छ। नेपाल र अंग्रेजबीच भएको नालापानीको युद्धपछि नेपाल मेची र महाकालीबीच खुम्चिन पुगेको हो। यसका अनेकौँ कारणहरू छन् र इतिहास अध्ययन गर्दा राजनीतिक कचिंगल नै प्रमुख कारण भएको बुझिन्छ। तसर्थ राष्ट्रलाई राजनीतिक कचिंगलले नै कमजोर बनाउँछ भन्ने कुरा हामीले स्वीकार गर्नैपर्छ। जब नेपाली–नेपालीबीचमा भावनात्मक रूपमा विग्रह, विभाजन र विखण्डन सुरु हुन्छ तब राष्ट्र कमजोर हुन्छ भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ। त्यसैले आजको मुख्य आवश्यकता भनेको राष्ट्रिय एकता नै हो।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको प्रेरणा कहाँबाट प्राप्त भयो भन्ने विषयमा एउटा रोचक प्रसंग पाइन्छ। दिव्यउपदेशमा उनले यसरी चर्चा गरेका छन्– “नेपालका राजाले चिन्नन् र पक्रनन् भनी स्याँखु ओढी रापतीका तीरैतीर भानु जैसी, कुलानन्द जैसी, अरू थरघर पनि साथैमा थिए। चन्द्रागिरीमा आइपुगेपछि नेपाल कुन हो भनी सुध्याएँ र त्यो भादगाउँ हो, त्यो पाटन हो, त्यो काठमाडौँ हो भनी देखाए। मेरो मनमा यी तीनै शहरको राजा हुन पाए त हुँदो हो भन्ने यस्तो परिरहेको थियो। उसै बेलामा ऊ दुबै जैसीले हजुरको मनकाञ्छ््या अभिलाषा पुग्ला महाराज भने। मलाई आश्चर्य लाग्यो र मेरा पेटका कुरा कसो गरी जान्यौँ र त्यसो भन्यौ भनी मैले भन्दा जसै नेपालमा नजर दिनुभएथ्यो, उसै बेला मोचमा बाहुली दिँदा मनमा नेपालको राजा हुन पाए त हुँदो हो भन्ने जस्तो परेछ भनी हजुरमा बिन्ति गरेको हो भने। यो कुरा पुग्ला भनी मैले भन्दा हजुरले गौ, ब्राह्मण, अतिथि, फकिर, देवीदेवताको मान्यता बहुतै राख्नुभएको छ, हाम्रा हातमा सरस्वतीको वरदान छ, हजुरलाई नेपालको राज्य अवश्य हुनेछ भने।”

त्यसबेला पृथ्वीनारायण भेष बदलेर आफ्ना प्रियजनहरूका साथमा चन्द्रागिरी पर्वतसम्म आइपुगेको पाइन्छ। त्यहाँबाट उनले काठमाडौँ उपत्यका देखेपछि यहाँका तीन शहरको राजा हुने मनसुवा राखेको उनको दिव्यउपदेशबाट स्पष्ट हुन्छ। कालीगण्डकी पूर्व र पश्चिमका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै उनले नेपाल एकीकरण नगरेको भए भारतमा अंग्रेजको शासन भएका बेला नेपाल पनि अंग्रेज साम्राज्यको शिकार बन्न सक्ने सम्भावना थियो। तसर्थ नेपाली एकीकरण गरेर नेपाल र नेपालीलाई विश्वमा चिनाउन र राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रता बचाउन उनको ठूलो योगदान रहेको कुरा इतिहासकारहरूले स्वीकार गरेका छन्।

दिव्यउपदेशकै क्रममा उनले “देसका महाजन्लाई गोडप्रसाहदेषी उभ आउन नदिनू, देसका महाजन्हरू हाम्रा मलुकमा आया भन्या दुनिञां कंगाल गरि छाड्दछन्” भनेर त्यसैबेला चेतावनी दिएका थिए। गोडप्रसाह भनेको हालको गौर र पर्सा भन्ने बुझिन्छ। यस्तै देसका महाजन भनेको स्वदेशका नभई विदेशका हुन् भन्ने बुझ्न सकिन्छ। उनले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन, राष्ट्रिय एकतालाई सुदृढ गर्न, स्वदेशी उत्पादनलाई महत्व दिन र राष्ट्रको सुरक्षालाई चुस्त बनाउन विभिन्न सुझाव दिएका छन्। उनका दिव्यउपदेशमासबै कुरा समेटिएको पाइन्छ। तसर्थ त्यो आज पनि समसामयिक देखिन्छ।

दिव्यउपदेशमा पृथ्वीनारायण शाहले नेपाललाई आत्मनिर्भर बनाउनुपर्ने उल्लेख गरेका छन्। स्वदेशको पैसा विदेश पठाउने होइन, स्वदेशी स्रोत साधन र जनशक्ति लगानी गरेर राष्ट्रलाई समृद्ध बनाउनुपर्छ भन्न उनको सदिच्छा पाइन्छ। यही कारण उनले जनतालाई बलियो बनाउनुपर्छ भन्दै ‘राजाका भण्डार भन्याका रैतानहरू हुन्’ भनेका छन्।

एक हजारभन्दा थोरै सैनिक भएको गोर्खा राज्यले ५३/५४ वटा राज्यलाई जितेर नेपाल एकीकरण गर्नु चानचुने कुरा थिएन। विकट भौगोलिक अवस्था, साधनस्रोतको कमी, मौसमको कठिनाइलगायत अनेकाैँ समस्या भए पनि दृढ अठोटका कारण पृथ्वीनारायण शाहले सबै जनतालाई समेटेर बलियो नेपाल बनाउने सपना पूरा गरे। सबै जनताको बराबर हक छ भन्ने आशय व्यक्त गर्दै उनले नेपाललाई ‘चार वर्ण, छत्तीस जातको फूलबारी’ भनेका छन् भने योग्य व्यक्तिहरूलाई उनीहरूको योग्यता, क्षमता, साहस, इमान र देशभक्तिको भावनाअनुसार दायित्वसमेत सुम्पिएको पाइन्छ। उनले बनाएको सैनिक संगठन सुदृढ भएकै कारण एकीकरणमा मद्दत पुगेको इतिहासकारहरूले उल्लेख गरेका छन्।

काठमाडौँ उपत्यका विजय गरेपछि उनले काठमाडौँ, भक्तपुर र पाटनको प्राचीन संस्कृति, परम्परा एवं सभ्यताको रक्षा गर्न विशेष ध्यान दिएको पाइन्छ। आफूसँग पराजित भएका राजाहरूका सालिकमा समेत उनले सुनको जलप लगाइदिएका छन्। यस्तै पराजित राजाहरूलाई उनीहरूको अन्तिम इच्छा सोधेर बसोवासको व्यवस्थासमेत मिलाएको पाइन्छ। वयोबृद्ध मितबाबु राजा रणजीत मल्लले काशीवासको इच्छा देखाएपछि उनले त्यसको उचित व्यवस्था मिलाइदिएको पाइन्छ। त्यसबाट उनी मानवतावादीसमेत थिए भन्ने प्रमाण मिल्छ।

‘नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ।’ ‘दक्षिणको वादशाह महाचतुर छ’, ‘जाइकटक नगर्नु झिकी कटक गर्नु’ भन्ने जस्ता उनका हरेक वाणीमा दूरदर्शिता  पाइन्छ भने आफ्नो स्वर्गवासपछि नेपालको अवस्था दयनीय नहोस् भनेर आफ्ना सन्तान र शुभेच्छुकलाई उनले सुनाएको दिव्यउपदेश नै भविष्यको मार्गचित्र जस्तो देखिन्छ। तसर्थ हामीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका भावनाको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न हरेक वर्ष पुस २७ गते मात्र पर्याप्त हुँदैन, उनका विचारको अनुसरण गर्दै तदअनुसार राष्ट्रिय मूलनीति समेत बनाएर राष्ट्रिय सुरक्षा, अर्थनीति र परराष्ट्र नीति लगायत सबै क्षेत्रमा पृथ्वीविचारको अनुसरण गर्न आवश्यक देखिएको छ।

प्रकाशित: २७ पुस २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App