८ वैशाख २०८१ शनिबार
खेल

एसिया कप : कतार र जापानको विजयी सुरुआत

तुर्कमिनिस्तानविरुद्ध गोल गरेपछि जापानका खेलाडी । तस्बिरः एजेन्सी

अबुधाबी – कतार र जापानले एसिया कपमा बुधबार आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारले लेबननलाई २–० पराजित गर्दै एसिया कपमा विजयी सुरुआत गर्दा एसियाली महारथी जापानले तुर्कमिनिस्तालाई ३–२ ले पराजित गरेको हो।

राजनीतिका गतिरोधका कारण खाडी मुलुकबाट नाकाबन्दीको चपेटामा परेको कतारले दुवै गोल दोस्रो हाफमा गरेको थियो। निकै दबाबका साथ पहिलो हाफ खेलेको कतारका लागि बासम हिसमले ६५औं मिनेटमा गोलको खाता खोलेका थिए। पहिलो गोल पछि उच्च मनोबल बनाएको कतारले ७९औं मिनेटमा अर्को गोल थप्दै जित निश्चित गरेको थियो। तुर्कमिनिस्तामाथि ३–२ को जित निकालेको जापानको युवा टोलीले आगामी विश्वकपमा राम्रो टोली तयार हुँदै गरेको छ भन्ने सन्देश पनि दिएको छ।

जापानले २६औं मिनेट तुर्कमिनिस्तानले लिएको अग्रतालाई उल्टाउन सफल भएको थियो। अर्सलानमाइरात अमनोभले गोल गर्दै तुर्कमिनिस्ताका लागि सुरुआती अग्रता दिलाएका थिए। विश्वकपमा सहभागिता जनाइसकेको जापान पहिलो हाफमा खेलमा फर्किन सकेन। दोस्रो हाफमा फरक रणनीतिका साथ मैदान उत्रिएको जापानका लागि युवा खेलाडी युया ओसाकोले ५६औं र ६० औं मिनेटमा गोल गर्दै अग्रता उल्टाए।

७१औं मिनेटमा तुर्कमिनिस्ताका गोलकिपरको गल्तीको फाइदा उठाउँदै जापानका रित्सु डोअनले गोल गर्दै अग्रता ३–१ मा पुर्याए। एसिया कपमा सहभागीमध्ये फिफा र्याङकिङमा सबैभन्दा तल रहेको तुर्कमिनिस्तानले ७९औं मिनेटमा पेनाल्टीबाट जापानको अग्रता छोट्यायो। जापानका गोलकिपर सुइचि गोन्डाले तुर्कमिनिस्तानका स्ट्राइकरलाई खराब फाउल गरेपछि रेफ्रिले तुर्कमिनिस्तानलाई पेनाल्टीको अवसर दिएका थिए।

रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपमा बेल्जियमसँग अन्तिम १६ मा पराजित हुँदै बाहिरिएको जापान एसियामार्पmत परिपुर्ति गर्न चाहन्छ। प्रशिक्षक हाजिमे मोरियासुले केही अनुभवि खेलाडीबिना नै टोलीलाई एसिया कपमा सहभागिता जनाएका छन्। उनले मिडफिल्डर सिन्जी कागवा, स्ट्राइकर सिन्जी वाकाजाकीलाई टोलीमा समावेश गरेका छैनन्। प्रशिक्षक मोरियासुले सन् २०१३ मा खेलका गोन्डालाई स्थान दिएका छन्।

विश्वकपमा ६ खेल खेलेको जापानले पाँच खेलमा बाजी मार्न सफल भएको थियो भने एक खेल बराबरी खेलेको थियो। यस्तै प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ को खेलमा उज्बेकिस्तानले ओमानलाई २–१ ले हराएको छ। अन्तिम मिनेटमा १० खेलाडीमा सीमित बनेको उज्बेकिस्तानका लागि एलडो सोमुरोडोभले ८५औं मिनेटमा विजयी गोल गरेका थिए। यसअघि उज्बेकिस्तानका ओडिल अखेम्डोभले ३६औं मिनेटमा पहिलो गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ओमानले ७२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। यस्तै एसियाकपअन्र्तगत समूह ‘इ’ को खेलमा साउदी अरेबियाले उत्तरकोरियालाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। ४४औं मिनेटमा दश खेलाडी सीमित बनेको उत्तर कोरियामाथि जित निकाल्न साउदी अरेबियाका हात्तान सुल्तान बाभिरले २८औं मिनेटमा गोलको खाता खोलेका थिए।

३७औं मिनेटमा मोहम्मद अली फाटिलले टोलीका लागि दोस्रो गोल गरेका थिए। ७०औं र ८७औं मिनेटमा साउदी अरेबियाले गोल गर्दै जित सुनिश्चित गर्यो। यस्तै बिहीबार सम्पन्न अर्को खेलमा थाइल्यान्डले बहराइमाथि १–० को जित हात पार्यो।

प्रकाशित: २७ पुस २०७५ ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App