८ वैशाख २०८१ शनिबार
खेल

ब्वाइज युनियनलाई स्तब्ध पार्दै दार्जिलिङ सेमिफाइनलमा

गोल गर्ने प्रयासमा दार्जिलिङ (रातो) का खेलाडी। तस्बिर :गिरिराज/नागरिक

पाँचथर – करन राईको दुई गोलप्रेरीत रोयल फुटबल क्लब दार्जिलिङ बिहीबार फिदिममा जारी दशौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वार्टरफाइनलमा रोयल फुटबल क्लब डिवाइन ब्वाइज युनियन काठमाडौंलाई २–० गोल अन्तरले हराउँदै दार्जिलिङले अन्तिम चारमा स्थान पक्का गरेको हो।

रोयल फुटबल क्लबको यो जितसँगै प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। ब्वाइज युनियनविरुद्ध सहज जित निकाल्दै रोयल फुटबल क्लबले सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबसँगको भेट निश्चित गरेको हो। यसअघि नै झापा–११ र सरस्वती क्लब काठमाडौं सेमिफाइनलमा पुगिसकेका छन्।

बिहीबार भएको खेलमा कमजोर प्रर्दशन गर्दै पर्याप्त गोल गर्ने अवसर सिर्जना गर्न नसक्दा ब्वाइज युनियन प्रतियागिताबाट बाहिरिएको हो। खेल अवधिभर रोयल फुटबल क्लबले ब्वाइज युनियनलाई दबाबमा राख्दै स्पष्ट जित निकालेको हो। रोयल फुटबल क्लबले पटकपटक गोल गर्ने मुभ बनाइरहँदा ब्वाइज युनियनका खेलाडी निरिह साबित भए।

ब्वाइज युनियनविरुद्ध दुई गोल गरेका दार्जिलिङका करन १९औं र ५८औं मिनेटमा पाएको मौका सदुपयोग गर्न नसक्दा ह्याट्रिकबाट चुकेका थिए।

ब्वाइज युनियनले तीन विदेशी खेलाडी लिएर मैदानमा उत्रिए पनि उनीहरु चल्न सकेनन्। १६औं मिनेटमा करनले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाएका थिए। सिद्धान्त क्षेत्रीको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट करनले गरेको प्रहार गोलमा परिणत भएको थियो। दर्शकको राम्रो साथ पाएको रोयलले पटकपटक गोल गर्ने अवसर बनाउँदै ब्वाइज युनियनलाई दबाबमा राख्यो।

पहिलो हाफमा १ गोल गरेको रोयल फुटबल क्लबले दोस्रो हाफमा अग्रता दोब्बर बनायो। खेलको ७६औं मिनेटमा सिद्धान्तकै पासमा करनले दोस्रो गोल गरेका थिए। सिद्धान्तको उत्कृष्ट क्रस बललाई करनले गोलमा परिणत गरेका थिए। खेलको १९औं र ५८औं मिनेटमा करनले पाएको मौका सदुपयोग गर्न नसक्दा ह्याट्रिकबाट चुकेका थिए।

खेलको इन्जुरी समयमा  सिद्धान्तले हेड ड्रप गरे पनि ब्वाइज युनियनका गोलकिपर आकाश रानाभाटले उत्कृष्ट बचाउ गरे। पहिलो हाफको इन्जुरी समयमा विदेशी खेलाडी डाउडा बाबा डाउडाले वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके। खेलको ६२औं मिनेटमा ब्वाइज युनियनका सकल रेग्मीको उत्कृष्ट प्रहार बारमा ठोक्ँिकएर बाहिरिँदा ब्वाइज युनियन सान्त्वाना गोल फर्काउनबाट चुक्यो।

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा झापा–११ले सरस्वती क्बल काठमाडौंको समाना गर्नेछ। प्रतियोगिता शनिबारबाट सुरु भएको हो। फिदिम स्पोर्टिङ क्लब र पाँचथर फुटबल संघको संयुक्त आयोजित प्रतियोगिता सोमबारसम्म चल्नेछ। प्रतियोगिता विजेताले ४ लाख रुपैयाँ नगद र ट्रफी पाउनेछ।

प्रकाशित: २७ पुस २०७५ ००:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App