६ वैशाख २०८१ बिहीबार
राजनीति

विवेकशील साझाकाे आन्तरिक कलह सतहमा, पार्टी सदस्यहरु मिश्र र थापा गुटमा विभाजित

काठमाडाैं –  विवेकशील साझा पार्टी भित्रका दुई गुटको आन्तरिक कलह सतहमा स्पष्ट देखिन थालेको छ। पार्टीको आगामी रणनीति, नेतृत्वको भुमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको पार्टीका नेताहरुले बिहीबार नागरिक न्यूजलाई बताए।

पुस ३० गतेकालागि बाेलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका छन्। पार्टी नेताका अनुसार विवेकशील साझाका संयोजक मिश्र अर्का संयोजक थापाले हालै सार्वजनिक गरेको पार्टी समीक्षा प्रतिवेदनप्रति असन्तुष्ट छन्। थापाको प्रतिवेदनमा गतवर्ष आमनिर्वाचनपछि पार्टीले लिएको कार्यनीति गलत रहेको उल्लेख गरिएको थियो। अर्कोतिर थापा पक्षले भने पार्टीभित्र मिश्रपक्ष हावी रहेको निष्कर्ष निकालेको छ। मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। ‘यसको मतलव अहिले मिश्र समूहले शक्ति केन्द्रीकृत गरेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र समेत कमजोर हुँदै गएको छ’ थापा निकट एक नेताले भने।

विवादबीच पार्टी संयोजक मिश्रले ६ जना नयाँ केन्द्रीय सदस्य थप्न लागेको तथा पार्टीका विभागलाई निस्कृय वनाउन लागेको आरोप थापा पक्षको छ। थापा समूहलाई मिश्रको यो रवैया मन नपरिरहेको थापा निकट स्रोतले जनाएको छ। वहुसंख्यक थापा निकट केन्द्रीय सदस्यहरु थापाले जारी गरेको प्रतिवेदन आगामी केन्द्रीय समितिमा छलफलको मुख्य बिषय हुनुपर्ने बताइरहेका छन्।

मिश्र समूह पार्टीले सरकारको सस्तो आलोचना गर्न नहुने पक्षमा छन्। बरु मिश्र समूह पार्टीले महत्वपूर्ण राजनीतिक मुद्दामा हुने राष्ट्रिय वहसमा दह्रोसँग प्रस्तुत हुनुपर्ने धारणा राख्छ। मिश्र समूहका नेताले भने ‘हामी कुनै अभियान चलाइरहेका छैनौ। हामी राजनीतिक दल हौं । राजनीतिक दलकै भूमिका निर्वाह गर्नुपर्छ भन्ने हाम्रो भनाई हो।’ अझै पनि विवेकशील राजनीतिक दल हो की नागरिक समाजको अंग भन्ने स्पष्ट भन्नेमा समेत पार्टीका नेता कार्यकर्तामा आशंका जारी रहेको उनले बताए।

विवेकशील पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले नागरिक अनलाइनसँग कुरा गर्दै पार्टी परम्परागत राजनीतिक दल जस्तै चल्न नसक्ने भएकाले त्यसभन्दा माथि उठेर काम गर्नुपर्ने बताए। एक केन्द्रीय सदस्यले पार्टीका संयोजक थापा र मिश्रले पार्टीलाई प्रभावकारी रुपमा अगाडी वढाउन सक्ने स्थिति नरहेको खण्डमा संयोजकहरुको समेत विकल्प खोजिनुपर्ने विषयमा समेत पार्टीभित्र आवाज उठ्न थालेको बताए। पार्टीभित्र कसैलाई दोहोरो भुमिका दिइएको र कसैलाई कुनै पनि भुमिका नदिइएकोले यसलाई पार्टी नेतृत्वले मिलाएर लैजानुपर्ने अर्का केन्दीय सदस्यले वताए। यदि यस्तो गर्न नसकेमा पार्टी नेतृत्वले राजीनामा दिनुपर्ने उनको तर्क थियो।

तर पार्टीका प्रवक्ता सुर्यराज आचार्यका अनुसार पार्टीभित्र केही आन्तरिक समस्या भएपनि मिडियामा प्रचार गरिएजस्तो समस्या नभएको वताउछन्। साथै उब्जिएका विवादहरु आगामी बैठकहरुबाट समाधान गरिने आचार्यले स्पष्ट पारे। उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकिकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको हो।  

प्रकाशित: २६ पुस २०७५ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App