७ वैशाख २०८१ शुक्रबार
समाज

बिजुली आएन ? सोझै मन्त्रीलाई फोन गर्नूस् !

काठमाडौं– घरमा बिजुली आएन वा तालिकाभन्दा फरक समयमा बिजुली आपूर्ति भएमा सिधै ऊर्जा मन्त्रीलाई फोन गरेर उजुरी गर्न सकिने भएको छ। ऊर्जा मन्त्रालयले सर्वसाधारणमा विद्युत आपूर्ति सरल र भरपर्दो बनाउँदै काममा भएका ढिलाइ तथा चुहावट रोक्न लक्ष्यले ‘गुनासो व्यवस्थापन युनिट’ गरी यस्तो काम सुरु गरेको हो।

ऊर्जा मन्त्री जनार्दन शर्मा आफैंले यस्ता गुनासा तथा समस्याको समाधान गर्ने मन्त्रालयले जनाएको छ। ट्रान्सफर्मर जलेर, पोल ढलेर वा तार चुडेर आपूर्ति बन्द भए वा मिटर जडानमा ढिलाइ भएमा तुरुन्त गुनासो गर्न सकिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ल्यान्ड लाइन (०१–४२११६०६) र मोबाइल (९८६१६६६३६६) मा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म फोन गरेर उजुरी गर्न सकिनेछ । यस्तै, मोबाइल (९८६१६६६३६६) मा एसएमएस गरी र मन्त्रालयको इमेल ( energy@moen.gov.np) मा २४ सै घन्टा गुनासो वा उजुरी गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ।

सर्वसाधारणले निवेदन दिएको सात दिनभित्र मिटर जडान हुनुपर्ने नभएमा उजुरी गर्न सकिनेछ। यस्तै, लोडसेडिङ तालिकाभन्दा फरक भएमा वा गरेमा पनि सोझै मन्त्रालयमा उजुरी गर्न सकिनेछ। मन्त्रालयका अनुसार कर्मचारी र ग्राहकको मिलोमतोमा विद्युत चुहावट भए वा गैरकानूनी रूपमा विद्युत बालेको पाइएमा पनि उजुरी गर्न सकिने छ।

जलविद्युत आयोजनाका कर्मचारी वा ठेकेदारको लापारबाहीले निर्माणमा ढिला भए वा अपारदर्शी र गुणस्तहीन काम भएको जानकारी पाउनासाथ उजुरी गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई अपिल गरेको छ। कुनै पनि आर्थिक अनियमितता एवं चलखेलको सूचना प्राप्त भए ग्राहकले ‘नो लाइट’ सेवामा फोन गर्न सक्नेछन्।

बिजुलीको महसुल बक्यौता लामो समयसम्म नतिरी विद्युत सेवा लिएको भेटिएमा मन्त्रीले उजुरीका आधारमा कारबाही गर्नेछन्। उजुरीकर्ताको नाम भने गोप्य राखिने जनाइएको छ।

प्रकाशित: १६ आश्विन २०७३ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App