coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशबाटै श्रम स्वीकृति

प्रदेशबाट पहिलो श्रम स्वीकृति लिने चन्द्रमान गुरुङ र खड्कबहादुर गुरुङ। तस्बिर : उमेश/नागरिक

पोखरा - २ जना युवालाई विदेश जानको लागि पुन श्रम स्वीकृत गरिएको पासपोर्ट वितरण गरेसँगै गण्डकी प्रदेशमा पनि पुनः श्रम स्वीकृतिको कार्य औपचारिक रुपमा विहिबारदेखि सुरु भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नवलपुर पिठौलीका ३७ वर्षीय युवा खड्कबहादुर गुरुङलाई मकाउको लागि र प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले स्याङजा फेदिखोलाका चन्द्रमान गुरुङलाई आबुधाबी जानको लागि पासपोर्ट वितरण गरिन्। यी दुवै युवा २ वर्षका लागि विदेश जाने श्रम स्वीकृति लिएका हुन्। खड्कबहादुर १२ वर्षदेखि मकाउमा कार्यरत छन् भने चन्द्रमान १८ वर्षदेखि खाडी मुलुकमा काम गर्दै आईरहेका छन्। पोखराबाटै श्रम स्वीकृतिको राहदानी पाएपछि खर्च र समयको बचत भएको भन्दै उनीहरुले खुशी व्यक्त गरे।

पुनः श्रम स्वीकृत कार्यक्रम सुचारु गर्ने गण्डकी तेश्रो प्रदेश हो। यसअघि नै पुस १५ गते देखि २ नम्बर प्रदेशको जनकपुर र ५ नम्बर प्रदेशको बुटवलबाट यस्तो सेवा सुरु भईसकेको छ। पासपोर्ट हातमा थमाउँदै श्रममन्त्री गोकर्ण विष्टले २ वर्षपछि फर्किएर उनीहरुलाई रोजगार दुत बन्न आग्रह गरे। यस्तै, ५ वर्षपछि रहरले बाहेक बाध्यताले कोही पनि युवाहरु विदेश जान नपर्ने गरि सरकारले काम गरेको सुनाए। प्रदेशबाटै श्रम स्वीकृतिको कार्य खुशीको कुरा नभई बाध्यता भएतापनि यसले सहजता तुल्याउने उनको भनाई छ। ‘प्रदेशबाट श्रम दिएर युवाहरुलाई विदेश पठाउनु पक्कै पनि खुशीको कुरा होइन, तर हामी लाचार छौँ’ उनले थपे, ‘आगामी ५ वर्षमा रहरले बाहेक बाध्यताले कोही युवा विदेशिनु पर्दैन्।’

श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख गणेशप्रसाद श्रेष्ठले हाललाई वैदेशिक रोजगारीमा जानेलाई पुन: श्रम स्वीकृति दिने काम मात्रै हुने बताए। आगामी दिनमा थप सुविधा पनि दिइने उनले बताए। यस्तै, यो कार्यालयबाट नेपालभरका सबै नागरिकले सेवा लिन पाउने उनले जानकारी दिए।

प्रकाशित: २६ पुस २०७५ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App