७ वैशाख २०८१ शुक्रबार
अर्थ

मन्त्री भन्दा स्वकीय सचिवको भत्ता बढी

पोखरा - प्रदेशका मन्त्रीले भन्दा स्वकीय सचिवले दैनिक भ्रमण भत्ता बापत बढी रकम बुझ्ने गरेका छन्। साउनयता मंसिरसम्म प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले २० हजार रुपैयाँ भत्ताबापत बुझेकी छन्। जबकी प्रदेशकै अर्को भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका स्वकीय सचिव निर्मल गुरुङले सोही समयमा मन्त्रीले भन्दा दोब्बर बढि ५१ हजार २ सय रुपैयाँ भत्ताबापत बुझेका छन्।

आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङका स्वकीय सचिव रोमाकान्त पोखरेलले त्यति नै समयमा ४७ हजार ६ सय रुपैयाँ बुझेका छन्। पोखरेलसँग आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानका स्वकीय सचिव खुमबहादुर वि.क.ले पनि ४७ हजार ६ सय रुपैयाँ दैनिक भ्रमणभत्ता बापत बुझेका छन्। मन्त्री भन्दा बढी भत्ता बुझ्नेमा सामाजिक विकास मन्त्रीका स्वकीय सचिव वेगप्रसाद गर्बुजा बाहेक सबै मन्त्रीका स्वकीय सचिव रहेका छन्। गर्बुजाले ९ हजार २ सय रुपैयाँ मात्र बुझेका छन्।

उद्योग मन्त्री विकास लम्सालका स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीका स्वकीय सचिव भरत खनालले ३० हजार ८ सय रुपैयाँ, मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ बुझेका छन्।

-मन्त्रीको भन्दा २ सय प्रतिशत बढि भत्ता बुझे स्वकीय सचिवले
-सुविधा दिन ऐन नै संशोधन
-भत्तामा साढे ८ लाख बढि सकियो

गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय छन्। सातै मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली अनुसार अधिकृत तहका स्वकीय सचिव नियुक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार उनीहरुले अधिृकत तहको सुविधा सहित दैनिक भ्रमण भत्ता लिँदै आएका छन्। मुख्यमन्त्रीका स्वकीय सचिव गुरुङले चाहिँ उपसचिव तहको सुविधा लिँदै आएका छन्। 

सबैलाई नियमावली अनुसार नै तलब भत्ता उपलब्ध गराउँदै आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखा अधिकृत अर्जुन प्रसाद पौडेलले बताए।

सुविधा दिन ऐन संशोधन
मन्त्रीहरुका स्वकीय सचिवलाई सुविधा दिनकै लागि मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन एकपटक संशोधन गरिएको छ। संशोधन अगाडिको ऐन अनुसार स्वकीय सचिवहरुले चाडपर्व सहित दैनिक भ्रमण भत्ता नपाउने भएपछि उनीहरुलाई सुविधा दिनको लागि ऐनमा हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए।

भ्रमण भत्तामै साढे आठ लाख सकियो
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चालु आर्थिक वर्षको साउन महिनादेखि पुससम्म करिब तीन लाख रुपैयाँ भ्रमण भत्ता बापत बुझेका छन्। प्रदेशको राजधानी पोखरा बाहिर आवत जावत गर्दा सबैभन्दा धेरै दैनिक भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री गुरुङ नै एक नम्बरमा छन्। उनले २ लाख ९२ हजार दुईसय ५० रुपैयाँ भत्ता बापत पैसा बुझेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री पछि सबैभन्दा धेरै भत्ता बुझ्ने आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ हुन्। उनले पनि सोही अवधिमा ९६ हजार आठसय ७५ रुपैयाँ बुझेका छन्।  सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले ९६ हजार छ सय ५० रुपैयाँ बुझिसकेका छन्। आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हालसम्म ७४ हजार ३ सय ७५ रुपैयाँ भ्रमण भत्ताबापत बुझेका छन्।

पाँचौ नम्बरमा बढी भत्ता बुझ्ने मन्त्री हुन विकास लम्साल। उद्योग पर्यटन वन वावरण मन्त्री लम्सालले साउन महिना यता दैनिक भ्रमण भत्ता बापत ५४ हजार तीन सय १० रुपैयाँ बुझेका छन्।

छैटौँ नम्बरमा धेरै भत्ता लिने लिस्टमा छन भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा। उनले यस अवधिमा ४८ हजार आठसय ७५ रुपैयाँ बुझेका छन्। उनी यस सरकारमा सबै भन्दा कम भत्ता लिनेमा दोस्रो नम्बरमा छन्।

गण्डकी सरकारका सात मन्त्री मध्ये सबै भन्दा कम दैनिक भ्रमण भत्ता बुझ्ने मन्त्री हुन नरदेवी पुन मगर। सामाजिक विकास मन्त्री मगरले साउन महिना यता जम्मा २० हजार रुपैयाँ बुझेकी छन्। सरकारका मन्त्रीहरुलाई राजधानी भएको जिल्ला बाहेकका १० वटा जिल्लासँगै विदेश जाँदा समेत भत्ता दिने व्यवस्था गरिएको छ। यस बाहेक मन्त्रीहरुले नियमित तलबसँगै चाँडवाड मनाउने खर्च समेत सरकारसँग लिने गरेका छन्।

मन्त्रीहरुसँगै उनका राजनीतिक सल्लाहकार र स्वकिय सचिवहरुले पनि भत्ता बुझेका छन्। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द बहादुर नेपालीले १३ हजार पाँचसय २५ रुपैयाँ बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ। नेपाली भदौ २७ गते मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त भएका हुन्। मन्त्रिपरिषदले उनलाई राज्यमन्त्री सरहको सेवासुविधा दिने निर्णय गरेको थियो।

लेखा अधिकृत अर्जुनप्रसाद पौडेलका अनुसार सबैको सेवा सुविधा बैक खातामा नै उपलब्ध गराईँदै आएको छ। विदेश भ्रमण भत्ता भने कसैले बुझेका छैनन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव ओझाका अनुसार सबै सुविधा नियमानुसार नै गरिएको छ। उनका अनुसार मुख्यमन्त्री गुरुङले इन्धन सुविधाबापत पाउने २ सय ५० लिटर डिजेलको कोटा पुरा भएपछि थप १ लिटर पनि आफूलाई नदिनको लागि कर्मचारीलाई उर्दी जारी गरेका छन्।

सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले ऐनभन्दा बढि सुविधा नलिएको बताए। ऐन अनुसार मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीहरुले क्रमशः ६० हजार ९ सय ७०, ५२ हजार, ४९ हजार र ४७ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँछन्।

सबैलाई आवास र निजी आवासमा बस्नेको हकमा मुख्यमन्त्री बाहेक मन्त्रीले १ लाख ५० र राज्य तथा सहायक मन्त्रीले १ लाख २५ हजार रुपैयाँ पाउँछन्। यो बाहेक फर्निचर, सवारी, मोबिल, यातायात, सञ्चार, अतिथी सत्कार र बिजुली खर्च समेत उनीहरुले पाउँछन्।

प्रकाशित: २६ पुस २०७५ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App