५ वैशाख २०८१ बुधबार
समाज

पर्यटक तान्दै कर्णालीकाे प्रसिद्ध चन्दननाथ

क्याफ्सन ः पर्यटन आकर्षणको केन्द्र बनेको जुम्लाको चन्दननाथ मन्दिर । तस्बिर : डिबी /नागरिक

जुम्ला -  पछिल्लो समय कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लाग्ने गरेको छ। कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ घोषणा गरेसंगै राराताल घुमेर चन्दननाथ मन्दिरको दर्शन गरेर फर्कने पर्यटकहरु बढ्दै गएका छन्।

चन्दननाथ गुठी समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधिमा झण्डै १० हजार पर्यटकले चन्दननाथ मन्दिरको अवलोकन गरेका छन्। पछिल्लो समय पर्यटकहरु बढ्दै गएपछि मन्दिरले भने अहिले उनीहरूकाे रेकर्ड समेत राख्ने गरेको छ। उक्त मन्दिरको महत्वका बारेमा जान्न चाहने पर्यटकलाई जानकारी दिने व्यवस्था समेत समितिले मिलाएको छ। 

चन्दननाथ मन्दिरको इतिहास विश्वको सवैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धानको उत्पादन संग जोडिएकोले पनि यस क्षेत्रमा पर्यटक आएर अति नै चासोको रुपमा अवलोकन गर्ने गरेका छन्।

समितीका खरिदार रत्नप्रसाद आचार्यका अनुसार पर्यटक आगमनको संख्या बढेपनि भेटी चढाउने क्रम भने बढेको छैन्। पर्यटकले चढाएको भेटीले चालु आर्थिक वर्षमा १ लाख ६ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ। उनले भने,'बाह्य भन्दा आन्तरिक पर्यटकले यो मन्दिरको अवलोकन गर्छन्, तर आन्तरिक पर्यटक भन्दा बाह्य पर्यटकले दक्षिण बढी चढाउँछन्। आन्तरिक पर्यटकले न्युनतम ५ देखि अधिकतम १० रुपैयाँ सम्म भेटी चढाउने गरेकोमा बाह्य पर्यटकले भने ५० रुपैयाँ भन्दा बढी दक्षिणा दिन्छन्।'

चन्दननाथ मन्दिरको महत्व र गरिमाका विषयमा जानकारी लिन आउने पर्यटकको संख्यामा बृद्धि हुँदा खुसी लाग्ने गरेको स्थानीय बताउँछन्। 'दैनिक ५० देखि एक सय जना पर्यटकले मन्दिरको दर्शन अवलोकन गरेर फर्कने गरेका छन्,'खरिदार आचार्यले भने,फोटो शेषन गर्छन्, मन्दिरको इतिहास वुझ्न रुची देखाउँछन्।'

जुम्लामा आउने मन्त्रीदेखि प्रधानमन्त्री, सरकारी अधिकारीदेखि सुरक्षाकर्मी,सर्वसाधारणदेखि सामाजिक अभियान्तासम्मले दर्शन अवलोकन गर्ने गरेका छन्। पर्यटकको संख्या बढ्दै जाँदा पनि यो मन्दिर अझै पर्यटक मैत्री बन्न सकेको छैन। उनले भने,“राज्यले चासो दिदैन्, मन्दिर वरिपरिको घर टहराको भाडाले खर्च धान्न सकिदैन्। ” मन्दिरमा दिउँसो पनि दर्शन गर्न पाउने व्यवस्था मिलाउन सकेमा धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने समितीले जनाएको छ।  

प्रकाशित: २६ पुस २०७५ ०५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App