८ वैशाख २०८१ शनिबार
अर्थ

माघको दोस्रो हप्तादेखि सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह निर्माणस्थल। तस्बिर :नागरिक

रसुवा - चीन सरकारले रसुवागढी नाकामा निर्माण गर्न लागेको सुक्खा बन्दरगाह निर्माणको काम माघको दोस्रो हप्तादेखि सुरु हुने भएको छ।  गत असोजबाट निर्माण कार्य सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो। बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनोटको काम सकिएको छ। माघको दोस्रो सातासम्ममा निर्माणको काम सुरु भइसक्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

‘चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गछौं,’ समितिका सूचना अधिकारी रवि सैंजुले भने, ‘जनवरीको अन्तिमबाट काम सुरु गर्ने जानकारी दिएका छन्।’  चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने उनले बताए। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ। 

लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको एक सय नौ रोपनी गरी साढे आठ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ।  चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ। समितिले गत माघ १ गते चीनको छेन्दुमा पुगेर सुक्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो  नेपाली पक्षले स्थानीय समस्या समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायत कार्य गर्नेछ। निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। 

आर्किटेक्चरल रिकन्नाइन्सेन्स एन्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाह निर्माण गर्नका लागि करिब दुई अर्ब लाग्ने छ।  बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक, ल्याब रहने छ। बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, सात सय ५० वर्गमिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको चिनियाँ पक्षले जनाएको छ। बन्दरगाहमा तीन सय ५० मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे आठ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ। भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हुँदै आएको छ। 

प्रकाशित: २६ पुस २०७५ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App