coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मर्नु न बाँच्नुकाे अवस्थामा उखु किसान

चिनी उद्योग नचलेपछि निकै सस्तोमा किसानसँग किनेर सर्लाहीको गैरस्थित एक सख्खर उद्योगले थुपारेको उखु।  तस्बिर : टंक/नागरिक

सर्लाही - जिल्लाको दक्षिणी क्षेत्रस्थित धनकौल गाउँपालिका–६, छटौल निवासी उखु किसान रामचन्द्र राय निकै तनावमा छन्। गत वर्ष पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिललाई बेचेको ६ सय क्विन्टल उखुको एक पैसा पनि नपाएको पीडासँगै उनलाई यस वर्ष अहिलेसम्म चिनी  उद्योग नै नचलेपछि खेतमै उखु सुक्ने त्रासले छोपेको छ। 

‘पोहोरकै ६ सय क्विन्टल उखुको पैसा पाएको छैन,’ उनले मलिन अनुहार पार्दै भने, ‘यसपालि त पुस बित्न लाग्दा पनि गाउँ नजिकैको चिनी उद्योग नै चल्ने छाँटकाँट छैन, उखु खेतमै सुक्ला जस्तो छ।’ गत वर्ष उखु उत्पादन लागतमा उनको लाखौं खर्च भएको थियो। ‘जोताइ, रोपाइँ, गोडाइ, मलखाद अनि कटानी र ढुवानी खर्च ऋण काडेर तिरेको छु,’ उनले भने, ‘ऋणको ब्याज तिरिरहेको छु, गत वर्षको पैसा पाउने कुरै छाडौं, यस वर्ष त उखु नै खेतमा सुक्ला जस्तो छ।’

रामनगर गाउँपालिका–५, बोहर्बाका मोममति रायको अन्नपूर्णबाट चार लाख रुपैयाँ लिन बाँकी छ। ‘बैंकमा खाता खोल्नुपर्छ भनेर पोहोर नै बरहथवा पुगेर बैंकमा खाता खोलें,’ उनले गुनासो गरे, ‘तर अहिलेसम्म पैसा हालेको छैन, झन यस वर्ष त खेतमै उखु सुक्ला जस्तो छ।’ 

धनगढाका किसान लक्ष्मण रायले चिनी उद्योगबाट उखुको पैसा नपाउँदा कतिपय किसानले तय भइसकेको आफ्ना छोराछोरीको बिबाह जस्तो कार्य समेत रोक्नु परेको तितो यथार्थ ओकले। अन्नपूर्णले तीन वर्षदेखि उखुको भुक्तानी बाँकी राख्दा नगदे बाली उब्जाउने किसान उधारोको मार खेप्दै ऋणमा डुब्न थालेको रायले गुनासो गरे। 

अन्नपूर्णको मिलगेटका किसान भएकाले जिल्लाकै हरिवन स्थित इन्दुशंकर, महोत्तरीको एभरेस्ट लगायत अन्य चिनी मिलले काँटा नराखेपछि पुरानो भुक्तानी बाँकी हुँदाहुँदै यस वर्ष पनि त्यही उखु दिनुपर्ने बाध्यता किसानलाई छ। ‘पुरानो पैसा बाँकी छ भन्दै उखु नदिएर के गर्नु ? घरमा थन्क्याएर राख्न मिल्दैन,’ खैर्वाका रामविनय यादवले भने, ‘धान, मकै, गहुँ जस्ता बाली भए त थन्क्याएर राख्ने र अनुकुल भाउ अनि नगद पाए मात्र बेच्न सकिन्थ्यो।’ 

यी त प्रतिनिधि पात्र मात्र हुन्। विगत केही वर्षदेखि नै भुक्तानी नपाएर छटपटिएका हजारौं उखु किसान यस वर्ष पुस बित्न लाग्दा समेत उद्योग चल्ने छाँटकाँट नदेखेपछि आँतिएका छन्। समयमै भुक्तानी नदिने अनि उद्योग समेत नचलाउने चिनी उद्योगीको शोषणमा परिरहेका उखु किसानको समस्याप्रति यस वर्ष सरकारले समेत बेवास्ता गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले गुनासो गरे। ‘अन्नपूर्णबाट ३० करोडभन्दा बढी भुक्तानी बाँकी छ, सरकारले तोकेअनुसार हरिवनस्थित ईन्दुशंकरले समेत दुई करोड रुपैयाँ दिन बाँकी छ,’ अध्यक्ष मैनालीले भने, ‘गत विगतका वर्षकै भुक्तानी नपाएर छटपटिएको किसान यस वर्ष समयमै उद्योग नचल्दा अत्यन्त पीडामा छन्।’ उद्योग चलाउन ढिलाइ गरेर उद्योगपतिले किसानलाई गलाउन खोजेको र सरकार मूकदर्शक बनेको मैनालीको आरोप छ। 

समयमै किसानलाई भुक्तानी नदिने उद्योगीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सरकार आफैंले किसानलाई दिने भनेको अनुदानबापतको २६ करोड रुपैयाँभन्दा बढी रकम सदरमुकाम मलंगवास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा तीन महिनादेखि थन्किनुले पनि सरकारी गैरजिम्मेवारीले हद नाघेको मैनालीले गुनासो गरे। ‘प्रधानमन्त्री, मन्त्री, सचिव सबैलाई गुहार्दा गुहार्दा थाकिसकियो,’ उनले भने, ‘उखु किसान मर्नु न बाँच्नुको पीडामा छन्, अब यस्तै अवस्था रहने हो भने किसानले उखु खेती छाड्ने र चिनीमा आत्मनिर्भर बन्ने मुलुकको सपना चकनाचूर हुनेछ।’

केही दिनअघि सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा तोकिसकेको छ। चिनी उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा किसानले पाउने गरी सरकारले मूल्य तय गरेको हो। यता चिनी उद्योगीले भने आफ्नो तर्फबाट किसानलाई प्रतिक्विन्टल तीन सय ८५ रुपैयाँभन्दा बढी दिन नसकिने बताउँदै आएका छन्। 

उक्त सरकारी निर्णयसँगै चिनीको समेत मूल्य तय नहुँदा उद्योगीले उद्योग चलाउन आनाकानी गरिरहेको अध्यक्ष मैनालीले बताए। ‘सरकारले उखुसँगै लागतका आधारमा चिनीको मूल्य पनि तय गर्नुपर्थ्याे,’ उनले भने, ‘त्यसो नहुँदा उद्योगीले आलटाल गरिरहेका छन्।’

हरिवनस्थित ईन्दुशंकर चिनी उद्योगले गत पुस ९ गते नै डोंगा पुजा गरेर उद्योग सञ्चालनका लागि तयारी अवस्थामा रहेको जनाउ दिइसकेको छ। ‘डोंगा पूजा गरिसकेका छौं,’ उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले भने, ‘त्यो भनेको उद्योग सञ्चालनका लागि तयारी छ भन्ने नै हो।’ उचित मूल्य नपाएका कारण गत वर्षकै ९८ हजार क्विन्टल चिनी उद्योगको गोदाममै थन्किएको नेपालले गुनासो गरे।

अन्नपूर्णका स्टोर प्रबन्धक हरिहर प्रसादले उद्योग सञ्चालनका लागि तयारी नभएको जानकारी दिए। ‘२७ गते एउटा सामान आइपुग्छ र त्यो जडान भएपछि मात्र उद्योग पूर्ण रुपले तयारी हुन्छ,’ उनले भने, ‘माघ १ गतेतिर डोंगा पूजा गर्ने तयारी गरेका छौं।’ उखुको मूल्य बढेसँगै चिनीको मूल्य नबढ्दा समस्या भइरहेको उनले बताए। ‘६० रुपैयाँ किलोमा चिनी बेचेर किसानलाई उखुको प्रतिक्विन्टल चार सय ७१ रुपैयाँ दिन सकिने अवस्था छैन,’ हरिहर प्रसादले भने, ‘यता मोलासिसको समेत ह्वात्तै भाउ घटेकाले उद्योगी समेत समस्यामा छन्।’

गत वर्ष हरिवनको ईन्दुशंकर र पश्चिम धनकौलको अन्नपूर्ण पुस पहिलो साताबाटै सञ्चालनमा आएका थिए। मंसिरमै चल्नुपर्ने उद्योग गत वर्ष प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका कारण पुसमा पुगेपछि यस वर्ष झन माघमा धकेलिनुले किसान ठूलो पीडामा छन्। गत पुस १९ गते उखु किसान सम्बद्ध संघ संगठनले अविलम्ब उद्योग सञ्चालन गर्न र उखुको प्रतिक्विन्टल पाँच सय ४५ रुपैयाँ माग गर्नै विरोध प्रदर्शन एवं हरिवनस्थित इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए। तेस्रो वर्षे खुट्टी उखु काटेर अन्य बाली लगाउने समय घर्किने भएपछि किसानले प्रतिक्विन्टल दुई सय ५० रुपैयाँमै स्थानीय सख्खर उद्योगलाई उखु बिक्री गर्न बाध्य भएका छन्। 

यस वर्ष सर्लाहीमा २६ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती रहेको छ। सर्लाही मुलुकमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो। हरिवनको ईन्दुशंकर र धनकौलको अन्नपूर्ण बाहेक बगदहमा नयाँ स्थापना भएको महालक्ष्मी सुगर मिलले समेत यस वर्षबाट उद्योग सञ्चालनको तयारी गरिरहेको छ। गत वर्ष ईन्दुशंकरले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल तथा अन्नपूर्णले १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो। त्यस्तै जिल्लाबाट महोत्तरी, रौतहट, बारा लगायत चिनी उद्योगमा समेत त्यतिकै उखु गएको थियो।

प्रकाशित: २६ पुस २०७५ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App