काठमाडौं – गत मंसिरको पहिलो साता रिलिज फिल्म ‘ड्रिम गर्ल’का निर्देशक ऋषिराज आचार्य नयाँ फिल्म ‘चुरीफुरी’को तयारीमा जुटेका छन्। उनले फिल्म ‘ड्रिम गर्ल’को विदेश प्रदर्शन पछि नयाँ फिल्मको काम शुरु गर्नेछन्।
निर्देशक आचार्यले नयाँ फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सन्देश पनि दिने दाबी गरे। ‘मैले अहिलेसम्म अधिकांश फिल्ममा प्रेमकथालाई प्राथमिकता दिएको छु। तर चुरीफुरीको कथा अलिक पृथक छ’, उनले भने, ‘केही कमेडी मिसाएर नयाँ कथामा फिल्म बनाउँदैछु। फिल्मको स्क्रिप्टको काम सकेपछि कलाकार तथा प्राविधिक छनौंटको काम गर्नेछु।’ उनको पछिल्लो फिल्म ‘ड्रिम गर्ल’मा आकाश श्रेष्ठ र आश्मा गिरीले प्रेमजोडीका रूपमा अभिनय गरेका थिए।
झण्डै डेढ दशकदेखि फिल्म निर्माण, निर्देशन र लेखनमा सक्रिय ऋषिराजले फिल्म निर्देशक शम्भु प्रधानस“ग टेलिफिल्म ‘गंगाजमुना’मा मुख्य सहायक निर्देशक भई निर्देशकीय यात्रा शुरु गरेका थिए। २०५९ सालबाट सुरु भएको उनको सहायक निर्देशकीय यात्राले सात वर्षपछि मात्र टेलिश्रृंखलाको मुख्य निर्देशनको जिम्मेवारी बहन गरे।
उनले २०६६ मा एकल निर्देशनमा नेपाल टेलिभिजनबाट पारिवारिक कथाको टेलिसिरियल ‘आफन्त’ दर्शकमाझ ल्याए। उनले ‘आफन्त’पछि २०६८ मा नेपाल टेलिभिजनमै नयाँ सिरियल ‘यात्रा जिन्दगीको’ सुरु गरे। त्यसपछि एनटिभी प्लसमा ‘सन्जिवनी’, ‘चाहना’, ‘विश्वास’ तथा नेपाल १ टेलिभिजनमा ‘झट्का’लगायतका टेलिसिरियलको निर्देशन गरे।
सानो पर्दा अर्थात टेलिभिजनको सिरियलमा बनाइरहेको निर्देशकीय करियरलाई ठूलो पर्दा अर्थात फिल्ममा प्रस्तुत गर्न उनले भारतको मुम्बईमा एक वर्ष फिल्म निर्देशन विषय अध्ययन गरे। मुम्बईबाट फर्किएपछि उनले फिल्म ‘मिस्टेक’बाट फिल्मी निर्देशनमा ‘डेब्यु’ गरे। फिल्म ‘मिस्टेक’ पछि ऋषिराजले ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ निर्देशन गरिसकेका छन्।
निर्देशक ऋषिराजका अनुसार फिल्म ‘चुरीफुरी’ पछि उनी सामाजिक कथाको ‘द्रौपदी’मा व्यस्त हुनेछन्। ‘फिल्म निर्देशनको लत लागेपछि यसलाई छोड्न निकै गाह्रो पर्दोरहेछ’, उनले भने, ‘आजीवन फिल्म निर्देशनमै समय दिनेछु।’
प्रकाशित: २६ पुस २०७५ ०२:३६ बिहीबार