हाम्रो चिन्तन : पृथ्वीपथ

बिहिबार, २६ पुष २०७५, ०८ : ०१ डा. प्रकाशचन्द्र लोहनी

1474


नेपालमा ‘वाद’को कमी छैन। हामीकहाँ साम्यवाद र समाजवाददेखि उदारवादसम्म र त्यसभित्रका विभिन्न तह र तप्काबारे छलफल चलि नै रहेको छ। यतिले नपुगेर एक समय हिजोको माओवादीले निकालेको ‘पचण्डपथ’ पनि देशमा हाबी भएको थियो यद्यपि त्यो के हो र कहाँ छ भन्ने कुरो यसका निर्माताहरूले पनि बिर्सिइसकेका छन्। सायद यो शब्द सम्झँदा पनि उनीहरूलाई लाज–सरम लाग्न थालेको छ। देशमा आज यो सबै पुराना वाद र पथभन्दा पनि एउटा नयाँ पथ निस्किएको छ। त्यो हो, सत्तापथ र धनपथ। यी हाल हाबी रहेका पथको दुई मुख्य बुँदा छन्। ती हुन् : सत्ता र पैसा। यी पुराना सबै वाद र पथ जनताको नाममा सिर्फ सत्ता र पैसाको जगेर्ना गर्ने बौद्धिक हतियारका रूपमा प्रयोग हुँदै आएका छन्।

जनताले नबुझ्ने शब्दावलीमा यसका व्याख्याताहरूले सत्ता र पैसा सुनिश्चित गर्ने आफ्ना क्रियाकलापलाई ‘अग्रगमनका’ नाममा लुकाउन अहिलेसम्म सफल भएका छन्। त्यसैकारण हिजो भ्रष्ट भनेको मान्छे आज ‘सेटिङ’ मिलेपछि इमानदार ठहरिन्छ। विदेशी कम्पनीलाई अर्बाैं माफ दिँदा पनि त्यो अग्रगमन ठहरिन्छ। जनताको सञ्चय कोषको रकमबाट वाइड बडी जहाज किन्दा जति लुटे पनि त्यो प्रगतिशील ठहरिन्छ। ५० प्रतिशत भूकम्प पीडित तीन वर्षसम्म घर नबन्दा पनि राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर खरिद ‘सर्वहारा वर्गप्रतिको उच्च सम्मान’ ठहरिएको छ। यथार्थमा पैसा र सत्ता, सत्ता र पैसाको चक्रमा नेपालको अग्रगमन भनाउँदा सत्ताधारीहरूका नैतिक पतन र जनताको विदेश पलायनको यथार्थमा रूपान्तरित भएको छ। आजको यथार्थ यही हो। प्रश्न आउँछ ? अब गर्नुपर्ने के हो ?

दर्भाग्यवश, देशमा आज पृथ्वीपथलाई तिरस्कार गरिएको छ। पृथ्वीले हाम्रो राष्ट्रको सिर्जना गरे। हाम्रो नेपाली पहिचान दिलाए। नेपाल राज्य र राष्ट्रबीचको दूरी हटाएर हिमाल–पहाड–तराई सबै क्षेत्रमा बस्ने नेपालीहरूले गर्वसाथ स्वीकार गर्ने राष्ट्रियताको निर्माण गर्ने पथको उद्घोष गरे। 

बिस्मार्क र पृथ्वी : युद्ध र राष्ट्र निर्माण
पुस २७ गते नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती हो। हामी उनलाई राष्ट्र निर्माताका रूपमा हेर्छौं। किनभने त्यस बखत उनको संघर्ष नेपाल राज्य र नेपाल राष्ट्र निर्माणमा केन्द्रित थियो भने अर्कोतिर उर्लंदो उपनिवेशवादलाई दक्षिण एसियाबाटै हटाउने प्रयासको पनि द्योतक थियो। यो पछिल्लो लक्ष्यमा शाह असफल रहे तर नेपाल राज्य र नेपाल राष्ट्रको निर्माणको जग उनले आफ्नो संघर्ष र राज्य सञ्चालनको क्रममा दिएका विचार र मार्गनिर्देशनमार्फत राखिदिएका थिए। यी चिन्तन र विचार आजको बौद्धिक जगत्का कतिपय आफूलाई मूर्धन्य बुद्धिजीवी भन्नेका लागि सामन्ती र पुरातनवादी लाग्न सक्नेछ। निश्चित रूपमा त्यस बखतको नेपाल सामन्ती संरचनामा नै अडेको थियो। सामन्तवाद नेपालमा मात्र नभएर विश्वभरिकै शासकीय दर्शन थियो र बिस्तारै यसले अकुण्ठित पुँजीवाद र उपनिवेशवादको चरित्र पनि ग्रहण गर्न थालिसकेको थियो। यो संरचनाको परिवेशभित्र रहेर पनि शाहले त्यस बखत नेपाल राज्यको शासन, समृद्धि र एकता र त्यस अर्थमा नेपाल राष्ट्रको निर्माणका लागि दिएका मार्गनिर्देशन एकपटक हामीले घोत्लिएर हेर्नुपर्ने दिन आएको छ। एडम स्मिथ, कार्ल माक्र्स या जेम्स मिलको चिन्तन पढ्नु मात्र बौद्धिकताको परिचायक हो भन्ने हीन मनस्थितिबाट निस्केर एक पटक त्यसबखत नेपाल राष्ट्र निर्माणको सन्दर्भमा शाहले भनेका अभिव्यक्ति आजको सन्दर्भमा के कति उपयोगी छन् भनेर चिन्तन गर्ने हिम्मत अब आवश्यक भएको छ। नेपालीमा एउटा उखान छ, आफ्नो घरभित्रको गणेशको हेला हुन्छ। यो वास्तवमा हीन मनस्थितिको चिन्ह हो। अर्थात् जसले नेपालको निर्माण गर्यो, जसले आज हामीलाई नेपाली भन्ने पहिचान दियो, त्यसलाई हेला गर्नु र त्यसको चिन्तन हेर्न हिचकिचाउने तर त्यही बुँदा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सर्वसाधारणले नबुझ्ने किसिमबाट आएपछि ब्रह्मवाक्य सम्झने मनस्थिति भनेको घरभित्रको गणेशलाई हेला गर्ने मानसिक हीनता भएन र ?

आधुनिक राज्यको निर्माणमा युद्धको ठूलो भूमिका र महत्व रहेको छ। बीसाैं शताब्दीको मध्यसम्ममा खडा भएका अधिकांश राष्ट्रहरू लडाइँको प्रक्रियाबाट खडा भएका छन्। विगत २०० वर्षदेखि चालू रहेको बदलिँदो आर्थिक संरचना, प्रविधिको विकास, यातायात र सञ्चारमा आएको क्रान्ति तथा व्यापार विस्तारले समाजमा, राष्ट्र राज्य र राष्ट्रियताको अवधारणाबारे नयाँ दृष्टिकोण र चिन्तनको विकास हुँदै ग-यो। विशेषतः विश्वमा देखिएको राष्ट्रियताको अवधारणाको विस्तारमा फ्रान्सेली क्रान्ति र त्यस बखत सुरु भएका युद्धको ठूलो भूमिका देखापर्छ। सायद यसको सबैभन्दा बलियो उदाहरण जर्मन राष्ट्रको एकीकरणमा देखापरेको छ। बिस्मार्कको उदय नहुन्जेल जर्मनीमा छुट्टाछुट्टै आफ्नो अस्तित्व दाबी गर्ने नेपालको बाइसे चौबीसे राज्य जस्तै ३९ राज्य थिए। यी हरेक राज्यको आफ्नै शासन र प्रशासन थियो। १८६२ मा बिस्मार्क नेतृत्वमा आएपछि उनको प्रसिद्ध ‘रगत र तरबार’को दृष्टिकोण अन्तर्गत यी सबै राज्यलाई उनले सैनिक शक्तिद्वारा पटक–पटक युद्धको माध्यम शक्तिशाली राज्य र राष्ट्रको रूपमा स्थापित गरे।

युद्धबाट खडा भएका राष्ट्र कति टिक्छन् या टिक्दैनन् भन्ने कुरो राज्य र राष्ट्रबीचको फैसला बढ्दैछ या घटेर गएको छ भन्ने यथार्थमा अडेको हुन्छ। राज्यको अर्थ राष्ट्र होइन। राज्य शासकीय संरचना हो भने राष्ट्र शासनमा सहभागिता र अवसरको संरचना हो। 

विगत दुई सय वर्षको अनुभव हेर्दा जब राज्यको संरचनामा सहभागिता र अवसरको समानता विभिन्न वर्ग र क्षेत्रका मानिसलाई उपलब्ध हुँदै जान्छ। राज्य र राष्ट्रको दूरी घट्छ र सबल राष्ट्र र राष्ट्रियताको निर्माण हुन्छ। यो हुन नसकेको अवस्थामा लडाइँले राज्य स्थापना भए पनि राष्ट्र निर्माण हुँदैन। जब शासकीय संरचनामा राष्ट्रको बहुआयामिक विविधता प्रतिविम्बित हुँदैन त्यसबखत राज्य र राष्ट्रको दूरी बढ्छ र विखण्डीकरणको प्रवृत्ति मौलाउँछ। जब शासकीय संरचनाले राष्ट्रको संरचनामा समाज रूपान्तरणको क्रममा निरन्तर नागरिकहरूमा विकसित हुँदै गएको नयाँ चेतनाले ठाउँ पाउँछ, त्यसबखत राज्य बलियो हुन्छ र राष्ट्रको निर्माण हुन्छ। यो मापदण्डले हेर्दा जर्मनीमा बिस्मार्कले लडाइँद्वारा एकीकृत राज्य निर्माण गर्नुको साथै आर्थिक विकास र सामाजिक सुधार र सुरक्षाका नयाँ अभियान सुरु गरेर लडाइँबाट स्थापित जर्मन राज्यको राष्ट्रियताको बलियो जग खडा गरे, राज्य–राष्ट्रको दूरी हटाए र जर्मन राष्ट्रियताको बलियो जग बसाले।

पृथ्वीनारायण शाहको समयमा जर्मनीको एकीकरण अगाडिका थुप्रै राज्यजस्तै आजको नेपाल बाइसे–चौबीसे राज्यमा विभाजित थियो। काठमाडौँ उपत्यकामा मात्रै तीन राज्य थिए र एकअर्कासँग लडाइँ–झगडा र नाकाबन्दी गर्न कम थिएनन्। यस्तो स्थितिमा पृथ्वीनारायण शाहले आफ्नो जिन्दगीको २६ वर्षको युद्ध र संघर्षमा थुप्रै भुरे–टाकुरे राज्यमाथि विजय हासिल गरी नयाँ राज्यको निर्माण गर्नुको साथै यो नयाँ राज्यलाई राष्ट्रका रूपमा अगाडि लग्ने आँट हिम्मत र चिन्तन प्रस्तुत गरे। त्यही कारण उनी इतिहासका विभिन्न कालखण्डमा राज्यलाई आफ्नो बिर्ता र सम्पत्ति सम्झने योद्धा नभएर राष्ट्र निर्माताको रूपमा देखापरे। उनले नेपाललाई आफ्नो सन्तान, भाइभतिजा या अन्य नातागोतालाई बाँड्ने सम्पत्ति कहिले सम्झेनन् र यो अवधारणालाई अस्वीकार गरे। काठमाडौँलाई राजधानी बनाएर एउटा शासकीय विधि र प्रक्रिया संस्थाकरण गर्न खोजे तथा नयाँ राज्य र नेपाल राष्ट्रबीचको दूरी भेटाउन महत्वपूर्ण चिन्तन पेस गरे। यसलाई व्यवहारमा उतार्न नपाउँदै उनी बिते तर यिनै चिन्तनले उनलाई राष्ट्रनिर्माता बनाएको छ। यस्ता राष्ट्रनिर्माताको सालिक एक समय माओवादीले ध्वस्त गरे र एकता दिवस मनाउनुपर्छ भन्नेहरूलाई लखेटे। यो मलाई सम्झना छ किनभने आजभन्दा १३ वर्ष अगाडि पृथ्वीनारायणको जन्मदिवस नुवाकोटमा मनाउन खोज्दा लखेटिनेमा म पनि थिएँ।

नेपालका लागि पृथ्वीनारायण शाहले आफ्नो चिन्तन कुनै ‘वाद’का रूपमा पेस गरेनन्। आफ्नो दृष्टिकोणलाई कुनै सैद्धान्तिक संरचनाभित्र व्याख्या गरेनन्। त्यो कुरो त्यसबखत सम्भव पनि थिएन। उनी के गर्दा नयाँ राज्य स्थिर र शक्तिशाली हुन सक्छ भने व्यावहारिकतातर्फ केन्द्रित भएको देखापर्छ। यस सन्दर्भमा उनका भनाइहरू चार मुख्य बुँदामा केन्द्रित छन्। ती हुन्: (क) राजनैतिक (ख) आर्थिक (ग) सामरिक (घ) सांस्कृतिक। उनको चिन्तनले यी चारै पक्षलाई समेटेको छ। यद्यपि यो कुनै सैद्धान्तिक संरचनाभित्र रहेको छैन।

राजनैतिक दृष्टिकोण
पृथ्वीको समय सामन्तवादी चरित्रको थियो। त्यहाँ जनताको सार्वभौमिता, शासकीय सन्तुलन र नियन्त्रणजस्ता आज प्रचलित दृष्टिकोणको बीउ पनि रोपिएको थिएन र आज त्यो कुरो त्यसबखत देखिएन भनेर तर्क गर्नुको कुनै औचित्य छैन। तर पनि शासकको चयन गर्दा राजाको इच्छा भन्दा जनइच्छालाई महत्व दिनुपर्छ भन्ने पृथ्वीको चिन्तन विराज वषतिलाई काजी दिने इच्छा भए पनि दुनियाँबाट कालु पाण्डेको इच्छा रहेकाले कालु पाण्डेलाई नियुतिm दिएको भन्ने भनाइ स्पष्ट हुन्छ। यसको साथै पृथ्वीको ‘मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जनताको फूलबारी हो’ भन्ने भनाइले उनको संघर्षमा सबैको योगदान र सहभागितालाई स्वीकार्छ भने अर्कोतिर यो देशको जातीय तथा सांस्कृतिक विविधतालाई आत्मसात् गरेको छ। फूलबारी त्यही बेलामा राम्रो र सुन्दर हुन्छ, जब सबै फूल फुल्न पाएर आ–आफ्नो सुन्दरता देखाउँछन्। यही नै आजको समावेशी अवधारणा हो जसअन्तर्गत सबै नेपालीको स्वाभिमान र आत्मसम्मानको संरक्षण हुन्छ।

पृथ्वीको समयमा समावेशी शब्द थिएन तर प्रस्ट रूपमा उनको त्यस बखतको अभिव्यक्तिले त्यस बखतको सामन्ती संरचनाभित्र पनि जनमतको कदर हुनुपर्ने र नेपालभित्रको विविधतालाई फुलाउन र फस्टाउन दिनुपर्ने चिन्तन स्पष्ट हुन्छ। हो यो अर्कै कुरो हो कि इतिहासको क्रसमा पृथ्वीको अन्तपछि यो राजनैतिक चिन्तनले देशमा ठाउँ पाएन र देश सीमित जात र समूहको बिर्ता भयो जसमा आधिपत्य जमाउन जनताको इच्छा नभएर एउटा सीमित समूहको तरबार र षड्यन्त्र हाबी भयो। तर पृथ्वीको राजनैतिक चरित्र भने शासनमा जनताको इच्छालाई महत्व दिने र नेपाललाई विविधतापूर्ण फूलबारी सम्झेर सबैको आत्मसम्मानको संरक्षण गर्ने देखिन्छ। यही दृष्टिकोणलाई व्यवहारमा राज्यसत्ताको हरेक अङ्गमा उतार्नु आजको चुनौती पनि हो र नेपालको राज्य र राष्ट्रबीचको दूरी हटाई नेपाली राष्ट्रियताको फूलबारी सबल र सुन्दर बनाउने हामी सबैको अगाडि रहेको कार्यभार हो। यो ऐतिहासिक जिम्मेवारीको अनुभूति आजभन्दा २५० वर्ष अगाडि पृथ्वीले देखाएका थिए। 

कुनै पनि राजनैतिक संरचनाको दीर्घकालीन सफलता जनताको हितमा त्यो कुन हदसम्म केन्द्रित छ भन्ने बुँदाले धेरै निर्धारण गर्छ। यस दृष्टिकोणले हेर्दा पृथ्वीले आफ्नो शासनमा आम मानिसले न्याय र सुशासन पाऊन् भन्ने कुरामा ध्यान पु-याएका थिए। उनले भनेका छन्: ‘न्याय निसाफ बिगान्र्या भनेको घुस दिन्या र घुस लिन्या। इ दुईको त धन जीव गरिलिए पनि (जफत गरे पनि) पाप छैन। इ राजाका माहा शतुर हुन्।’ पृथ्वीका यी अभिव्यक्ति आजको युगमा पनि सुशासनको जग हुन्। विडम्बना के छ भने पृथ्वीपश्चात् दुई शताब्दीपछि पनि हाम्रो देश यही रोगबाट पीडित छ। हामीलाई थाहा छ जनमुक्ति र सुशासनको नाममा देशमा विगत दुई दशकमा दशाैँ हजारको ज्यान गयो तर आज अन्ततोगत्वा नयाँ संविधान र आम चुनावपछि पनि देशमा माथिल्लो तहमा समेत ‘घुस दिन्या र घुस लिन्या’ नयाँ अघोषित राजनैतिक मान्यताका रूपमा छ। सरकारमा कुशासन वनमा डढेलो लागेजस्तो नेपाली राजनीति र अर्थतन्त्रको प्रमुख दुस्मनका रूपमा रहेको छ वस्तुतः दुई सय वर्ष अगाडि पृथ्वीले दिएका चिन्तन आजको राजनीतिमा शासनका लागि अपरिहार्य देखापरेको छ।

आर्थिक दृष्टिकोण : निर्यात प्रवर्द्धन
पृथ्वी आर्थिक सिद्धान्तकार थिएनन् तर उनको चिन्तन त्यसबखत बेलायतमा हाबी भएको ह्युमको व्यापारवादसँग मिल्न खोज्छ भने अर्कोतिर चीनले विगत ४० वर्षमा अपनाएको देङको प्रविधि आयात र निर्यात प्रवद्र्धनको सिद्धान्तसँग पनि मिल्न आउँछ।

आजको युगमा विदेशी मुद्राको पर्याप्त सञ्चिति गर्न सक्नु देशको आर्थिक विकास र सुरक्षाको एक अङ्गका रूपमा हेरिन्छ। छिमेकी मुलुक पाकिस्तानमा हेराैँ। विदेशी मुद्रा सञ्चितिमा देखिएको असन्तुलनले समस्त अर्थतन्त्र डगमगाएको मात्र नभई देशको राजनैतिक स्वतन्त्रता नै औपचारिक रूपमा नभए पनि व्यवहारमा धरापमा पर्न सक्ने चिन्ता बढेको छ। अर्कोतिर चीनमा हेर्दा उसको अमेरिकालाई चुनौती दिने शक्तिको एउटा स्र्रोत तीन खर्ब डलरभन्दा बढी विदेशी मुद्राको सञ्चिति एउटा मूल कारण हो र यो चीनको प्रविधि आयात–आयात प्रतिस्थापन नीति र निर्यात प्रवद्र्धनको सफलतासँग स्पष्ट जोडिएको छ। ठीक यस्तै खाले नीति लागू गर्न पृथ्वीले नेपालका लागि आजभन्दा दुई सय वर्षअगाडि जोड गरेका थिए।

उनले भनेका थिए, ‘विदेशी कपडा आफ्नो देशको कपडा बुन्ने जान्यालाई नमुना देखाइ सघाउनु र बुन्न लगाउनु र यसो भए नगद देश जाँदैन’। यो भनाइको अर्थ बाहिरबाट प्रविधिभित्र ल्याएर स्थानीय स्तरमा उत्पादन बढाएर आयात प्रतिस्थापित गर्नु हो। त्यस्तै पृथ्वीको अर्को निर्देशन हेर्ने हो भने उनी भन्छन्, ‘आफ्नो देशको जिनिस जरिबुटी नगद आफ्नो देशमा लैजानु र नगद पैचनु। नगद पैचिराषनु (अर्थात् नगद आफ्नो देशमा राख्नु) र प्रजा मोटा भया दरबार बलियो हुन्छ’ यो भनाइको अर्थ के भने निर्यात बढाइ आउने नगद देशमा राख्नु र यसबाट प्रजा (अर्थात् जनता) बलियो हुन्छ र यस हदसम्म शासक र शासन बलियो हुन्छ। यी दुवै नीति आजको चीनको आर्थिक सफलता र राजनैतिक स्थिरताको मूल स्र्रोत हो भने यही नीतिलाई नेपालका नेता र राजनीतिले अपनाउन नसक्नु हाम्रो आर्थिक दुर्दशाको मूल कारण हो। आजको प्रबुद्ध र ‘अग्रगामी’ले भरिएको नेपालका शासकले देशको आयात प्रतिस्थापित गर्ने उद्योग निरन्तर धराशयी गरेर लगेका छन् जसको कारण उत्पादन सिल उद्योगको राष्ट्रिय उत्पादनमा योगदान विगत एक दशकमा झन्डै आधा घटेको छ र दलाल पुँजीवाद र नवसामन्तवादले व्यापकता पाउँदै गरेको छ।

विडम्बना के छ भने एकातिर आयात प्रतिस्थापित गर्ने उत्पादनशील उद्योग मासिँदै छ भने अर्कोतिर आयात निरन्तर बढ्ने र निर्यात डरलाग्दो तरिकाले घट्नै छ। यस अर्थमा हाम्रो अर्थतन्त्र बुढो बास जस्तो बाहिर सङ्लो देखिए पनि भित्र खोक्रो हुँदै गएको छ। यस्तो स्थितिबाट जोगाउन पृथ्वीले झन्डै ३०० वर्ष अगाडि दिएको नीतिगत सन्देश आजको आवश्यकता हो। यस अर्थमा पृथ्वीको सन्देश अब नेपाल जोगाउने हो भने मनन गर्नु अनिवार्य भएको छ। यो सजिलो छैन किनभने निर्यात प्रवद्र्धन र व्यापार वृद्धि भाषण सन्देश र उखान टुक्काले हुँदैन। यसका लागि कडा अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धता र चारित्रिक इमानदारी अनिवार्य सर्त हुन्, जुन आजको नेपालमा हराउँदै गएको छ।

बृहत् आर्थिक नीतिबाहेक कृषि र सहरी विकासमा पनि पृथ्वीको सोच आज हामीले अनिवार्य अपनाउनुपर्ने देखापर्छ। कृषि खानी र बस्तीबारे पृथ्वीका दुई बुँदा यस्ता छन्। ‘खानी भएका ठाउँमा गाउँ भए पनि अरू जग्गामा सारिकन खानी चलाउनु” तथा “गरो बन्दा जग्गामा घर भए पनि घर अरू जग्गामा सारि कुलो काँही खेत बनाइ आवाद गर्नु’ यी दुवै भनाइले घर सारेर पनि उद्योग–खानी कायम गर्नुपर्ने कुरो एकातिर भन्छ भने अर्कोतिर कृषि उब्जनी हुने खेत–गरोमा बस्ती बसाल्नु हुँदैन भनी स्पष्ट गर्छ। आधुनिक शब्दावलीमा यो भूउपयोग र उद्योग–खानी नीति हो। २०० वर्षभन्दा अगाडि पृथ्वीले घोषणा गरेका यी दुवै नीतिको हामीले डरलाग्दो किसिमबाट उपेक्षा गरेका छाैँ। अर्थात् पुरानो जमानामा बस्ती पानी नलाग्ने ठाउँमा हुन्थ्यो। अहिले आधुनिक पञ्चवर्षीय योजनाहरूमा यो दुई शताब्दीभन्दा पुरानो नीतिलाई तिरस्कार गरिएको छ। पहाड र तराई मधेसका कृषिका लागि उम्दा जमिनमा अनियन्त्रित घर बन्दैछन्। र सरकार निष्क्रिय भएर बसेको छ। बस्ती विकास कस्तो जग्गामा र कृषि कस्तो जग्गामा भन्ने भू–उपयोग नीति कहीँ देखिँदैन। उदाहरणका लागि काठमाडौँ हेराैँ। हाम्रो के कुनै भू–उपयोग नीति छ ? आजको जस्तो काठमाडौँको जनसंख्या बढेर जाने हो भने आउँदो १० देखि १५ वर्षभित्र काठमाडौँ उपत्यकाको जनसंख्या एक करोड पुग्न सक्नेछ। त्यो अवस्थामा के काठमाडौँको कृषिका लागि अति उपयोगी जमिन सबै घरले भर्ने या कृषि–आवास–उद्योगबीच भू–उपयोग नीतिअन्तर्गत नयाँ सन्तुलन कायम गर्ने ? यसको उत्तर छैन। तर पृथ्वीको भनाइ स्पष्ट छ: जहाँ कृषिको सम्भावना बढी छ त्यहाँबाट आवास अन्यत्र सारेर भए पनि कृषि उत्पादन बढाउ २०० वर्षभन्दा अगाडि पृथ्वीले गरेको जति चिन्तन पनि नेपालका अग्रगामी राजनीतिज्ञ र ठूला डिग्रीधारी विज्ञ र प्रशासकले गरिरहेका छैनन्।

सामरिक दृष्टिकोण :रणनीतिक सन्तुलन
आफ्नो देशको भू–राजनैतिक स्थिति र मित्रहरूको नियत र व्यवहारबारे राम्रोसँग बुझ्नु परराष्ट्र नीति र सुरक्षा नीतिको आधार हो। यो यथार्थलाई पृथ्वीले राम्रोसँग बुझेको देखापर्छ।

पृथ्वीले नेपालको भू–राजनैतिक यथार्थ र छिमेकीबारे व्यक्त गरेको दृष्टिकोण आज पनि मननयोग्य छ। उनले भनेका छन्: ‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ। चीनको बादशाहसँग ठूलो धाहा राख्नु। दक्षिणको समुद्रका वादशाहसँग धाहा राख्नु तर यो माहाचतुर छ’ पृथ्वीको यो भनाइमा चीनप्रति विश्वास गर्न सकिने तर भारतका समुद्रपारिका शासकप्रति शंका स्पष्ट छ। यो यथार्थ बुझेर दुवैसँग मित्रता राख्नु जरुरी छ किनभने हामी दुई ढुङ्गाको तरुल जस्तो स्थितिमा छौँ। उनको पालामा परराष्ट्र नीति आजको जस्तो छुट्टै अस्तित्वमा थिएन्। आज पनि नेपालका लागि नेपाल, भारत, चीनकोबीच सन्तुलन कायम गरेर अगाडि बढ्नु आफ्नो सुरक्षा र स्वतन्त्रताका लागि महत्वपूर्ण रणनीतिक उपाय हो। यो यथार्थको आभास पृथ्वीको भनाइमा स्पष्ट देखापर्छ। साथै दक्षिणको वादशाह चतुरो भएकाले त्यस्तै परे आफू लड्न तयार हुने अभिव्यक्ति उनीभित्रको आत्मविश्वासको घोतक हो। ठूला राष्ट्रहरू चाहे चीन हुन् या भारत आफ्ना राष्ट्रिय स्वार्थ प्राप्त गर्न एउटै मात्रै बाटो समातेर अगाडि बढ्छन् भन्नु गलत हुन आउँछ। माओवादी जनयुद्धमा नेपाल–भारत सम्बन्धको यथार्थले यो स्पष्ट गर्छ। प्रचण्ड र बाबुरामले आफ्नो दश वर्षे लडाइँमा अधिकांश समय भारतमै सुरक्षित भएर बसेका थिए भने अर्कोतिर भारत सरकार माओवादीलाई आतङ्कवादी भनी घोषणा पनि गरिरहेको थियो। यो यथार्थलाई नबुझे हाम्रो कमजोरी हुनेछ। दक्षिणको वादशाह चतुरो छ भन्ने पृथ्वीको भनाइको अर्थ पनि यही हो।

सांस्कृतिक दृष्टिकोण
सामान्यतया युद्ध सरदारहरूले जितेको क्षेत्रको संस्कृति र सभ्यताको सम्मान गर्दैनन्। उल्टो जति सकिन्छ त्यसलाई ध्वस्त गर्छन्। राष्ट्रनिर्माताहरूले ठीक यसको विपरीत व्यवहार गर्छन्। सबै धर्म संस्कृतिको सम्मान गर्दै विविधताबीच एकता ल्याउने उनीहरूको प्रयास रहन्छ। जुन समाजमा सांस्कृतिक विविधता छ, त्यहाँ एकताको मूल सूत्र भनेको नै सबै स्थानीय संस्कृतिको मौलिकतालाई सम्मान गर्दै ती सबैलाई जोडेर राष्ट्रिय संस्कृतिको निर्माणको आधार बनाउनु हो। जहाँ यो गरिँदैन, त्यहाँ जातीय सफायाको डरलाग्दो स्थिति आउन सक्छ। दक्षिण एसियाली क्षेत्रमा यस्तो ज्वलन्त उदाहरण भुटान हो जहाँ सत्ताले एक स्थानीय संस्कृतिलाई स्वीकार गर्न नसक्दा लाखौँ नेपाली भाषा बोल्ने भुटानी नागरिकहरूलाई आफ्नो घर बार छोड्न बाध्य भए र उनीहरूलाई देशबाट निकाला गरियो। यस्तै किसिमको मनस्थिति पाकिस्तान टुक्रिने मूल कारण बन्न पग्यो। तर पृथ्वीले काठमाडौँ जितेपछि सबभन्दा पहिले काठमाडौँको सभ्यताको एउटा प्रतीकका रूपमा कुमारी मन्दिरमा गएर कुमारीको दर्शन गरी आशीर्वाद माग्न पुगे। उनको यो एउटै कार्यले काठमाडौँको भव्य नेवारी संस्कृति र कलालाई काठमाडौँमा मात्र सीमित नगरेर नयाँ नेपाल राज्यको पहिचानका रूपमा कायम ग-यो। भर्खर खडा हुँदै गरेको नयाँ देशको सांस्कृतिक एकता र समन्वयका लागि पृथ्वी यो अपूर्व देन र दूरदृष्टि थियो।

पृथ्वीको सांस्कृतिक सहअस्तित्व र राष्ट्रिय संस्कृतिको निर्माणको सीमा हिन्दु संस्कार र यसअन्तर्गतको जातीय विभाजनबाहिर जान सकेको थिएन। त्यस बखतको सामन्ती समाजको यथार्थ र त्यसमा निहित जातीय परम्परा र कट्टरताभन्दा बाहिर उनी जान सक्ने स्थिति पनि थिएन। त्यही परिधिभित्र रहेर पनि पृथ्वीले विभिन्न जातीय स्थानीय संस्कृतिलाई स्वीकार गरेर नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान गरे। उनमा सांस्कृतिक विकासलाई आर्थिक विकास र सुरक्षासँग पनि सम्बन्ध रहन्छ भन्ने दूरदृष्टि थियो। उनले भनेका छन्, ‘आफ्नो सुख सयललाई त शास्त्र बमोजिम तीनै सहर नेपालको नेवारहरूको नाच झिकाए हेरे हुन्छ। यिनमा त दिएको पनि आफ्नै देशमा रहन्छ। यसो भए आफ्नो देश सुरक्षित रहन्छ’। यो उनको भनाइ स्थानीय संस्कृतिलाई पूर्ण स्वीकार गरेको मात्र नभई यसको अर्थतन्त्र र राष्ट्रिय सुरक्षासँग समेत सम्बन्ध रहेको उनको चिन्तन देखाउँछ। यस क्रममा उपनिवेशवादी शासनको अङ्गका रूपमा आउने इसाई धर्म विस्तारमा समर्पित पादरीहरूलाई बन्देज लगाएर पृथ्वीले विदेशी सांस्कृतिक आक्रमणबाट नेपाललाई जोगाए। दुर्भाग्यवश आज झन्डै ३०० वर्षपछि यो अवस्था बदलिएर स्वयं नेपाल सरकार र यसका प्रधानमन्त्री एउटा–व्यापारिक र इसाई धार्मिक प्रतिष्ठाको बजारीकरण गर्न आँखा चिम्लेर लागिपरेका देखापरेको छन्। तर पनि लाजै नमानी यही जत्था आफूलाई राष्ट्रवादी र अग्रगामी भनिरहेछन्।

पृथ्वीपथ
पृथ्वीनारायण शाहले राज्य र राष्ट्रको अवधारणालाई आज जस्तो परिभाषित गरेर राष्ट्र निर्माणको सैद्धान्तिक व्याख्या गरेका होइनन्। तर नयाँ राष्ट्र निर्माण गर्ने आफ्नो लक्ष्यलाई यथार्थमा परिणत गर्न ठोस मार्गनिर्देश गरेका छन् जसलाई हामी सिद्धान्त नभनेर ‘पथ’को संज्ञा दिन सक्छन्।

कुनै प्राकृतिक, भौतिक या सामाजिक गतिविधिको अध्ययनमा त्यसबारे ठोस दृष्टिकोण बनाई उक्त दृष्टिकोणलाई प्रयोगात्मक या गणितीय या तथ्याङ्कको आधारमा व्याख्या र प्रमाणित गर्ने विधि–प्रक्रिया वैज्ञानिक सिद्धान्त निर्माणको आधार हो, यद्यपि कुनै पनि सिद्धान्त सदाका लागि शाश्वत सत्य हो भन्न मिल्दैन। सिद्धान्त तार्किक प्रक्रियामा अडेको र यसको आधारमा दिशानिर्देश गर्ने क्षमता भएको हुनुपर्छ भने सिद्धान्तको परिधिभित्र रहेर सोचिने विभिन्न विकल्प या सम्भावनालाई ‘पथ’ भन्न सकिन्छ।

पृथ्वीनारायण शाहले आफ्नो जिन्दगीको संघर्ष र अनुभवको परिवेशमा राष्ट्रनिर्माणको राजनैतिक, आर्थिक, सामरिक तथा सांस्कृतिक पक्षका बुँदाहरू उपदेशका रूपमा पेस गरे यी उपदेशहरू आजको ज्ञानको शास्त्रमा (थ्योरी अफ नलेज) निहित सिद्धान्त शब्दको समष्टिगत संरचनाअनुरूप नहोला तर उनले राज्य र राष्ट्रबीचको दूरी कम गरी कसरी आफ्नो मौलिकता, स्वाभिमान र आत्मसम्मानमा अडेर सबल राष्ट्र निर्माण गर्नुपर्छ भनी मार्गनिर्देशन स्पष्ट रूपमा गरेका छन्। यसैको नाम ‘पृथ्वीपथ’ हो र यसलाई अनुसरण गर्नु आजको आवश्यकता हो। 

दर्भाग्यवश, देशमा आज पृथ्वीपथलाई तिरस्कार गरिएको छ। पृथ्वीले हाम्रो राष्ट्रको सिर्जना गरे। हाम्रो नेपाली पहिचान दिलाए। नेपाल राज्य र राष्ट्रबीचको दूरी हटाएर हिमाल–पहाड–तराई सबै क्षेत्रमा बस्ने नेपालीहरूले गर्वसाथ स्वीकार गर्ने राष्ट्रियताको निर्माण गर्ने पथको उद्घोष गरे। तर यिनै राष्ट्रनिर्माताको जन्मजयन्ती र एकता दिवसको दिन दिइएको बिदा ओली सरकारले हटायो। विडम्बनाको छ भने यही ओली सरकारले पृथ्वीजयन्ती र एकता दिवसको उपलक्ष्यमा बिदा घोषणा गरेको थियो। आज फेरि त्यही ओली सरकारले बिदा हटाएको छ। स्पष्ट छ, यो सरकारको नेपाल राष्ट्रनिर्माण र इतिहासप्रति कुनै दृष्टिकोण छैन। भ्रष्टपथ, धनपथ, सत्तापथ र लम्पसारपथलाई मार्गनिर्देशन सम्झने सरकारका लागि नेपाली राष्ट्रियताको जग हाल्ने पृथ्वीपथ पचेन। तर नेपाली जनताले यो अन्यायलाई आउँदा दिनहरूमा सहनेछैनन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...