८ वैशाख २०८१ शनिबार
अर्थ

कति छ संस्थानको खसीबोका–च्याङ्ग्राको मूल्य ?

काठमाडौं– नेपाल खाद्य संस्थानले दसैंका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण आइतबारबाट सुरु गरेको छ। संस्थानको थापाथली स्थिति अञ्चल कार्यालय भवन परिसरबाट संस्थानले खसीबोका तथा च्याङ्ग्रा वितरण सुरु गरेको संस्थानका महाप्रबन्धक शिवहरी श्रेष्ठले बताए।

‘आइतबार २ बजेबाट हामीले थापाथलीबाट खसीबोका तथा च्याङ्ग्रा बिक्रीवितरण सुरु गर्यौं,’ नागरिक न्युजसँग उनले भने, ‘बिक्री सुरु गरेको २ घण्टामै १ सय ओटा च्याङ्ग्रा बिक्री भइसकेको जानकारी आएको छ।’

कति छ मूल्य ?

संस्थानले यस वर्ष २५ किलोसम्मको तौल भएको जिउँदो खसीको मूल्य प्रतिकेजी ४ सय ४० रुपैयाँ तोकेको छ। त्यस्तै २५ किलोभन्दा माथिको खसीबोकाको मूल्य प्रतिकेजी ४ सय ५० रुपैयाँ तोकेको छ। यो मूल्य बजारको तुलनामा प्रतिकेजी २० देखि २५ रुपैयाँ सस्तो हो।

बजारमा २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकेजी ४६० रुपैयाँ र २५ किलोभन्दा माथिका जिउँदो खसीबोकाको मूल्य ४७५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ।

संस्थानले जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ तोकेको छ । बजारमा जिउँदो च्याङ्ग्रा प्रतिकेजी ७ सय रुपैयाँमा किनबेच भइरहेको छ।

संस्थानले यस वर्षका लागि १५ सय खसीबोका र १४ सय ८० च्यांग्रा बिक्री गर्न लागेको महाप्रबन्धक श्रेष्ठले जानकारी दिए। संस्थानले उपल्लो मुस्ताङबाट ४ दिन हिँडाएर म्याग्दीको बेनी हुँदै खसीबोका र च्याङ्ग्रा काठमाडौं भित्र्याएको हो ।   
 


 

प्रकाशित: १६ आश्विन २०७३ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App