७ वैशाख २०८१ शुक्रबार
समाज

अभाव झेल्दै चेपाङ छात्रावास

चितवन - विद्यालयबाट घर फर्किंदा साना वन्यजन्तु र चराचुरुंगी भेटिनु गोविन्द चेपाङका लागि नौलो लाग्दैन। घरदेखि आधा घण्टा नजिकको विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुन्छ। त्यसभन्दा माथिल्लो कक्षाको पढाइका लागि तीन घन्टा परको विद्यालय जानु उनको बाध्यता थियो। दिनहुँ जंगलको बाटो आउजाउ गर्नुपथ्र्यो। उनी अहिले श्री निम्न माध्यामिक विद्यालय, गोविन्द बस्तीमा कक्षा ८ मा पढ्छन्।

कक्षा ६ मा पढ्दाको समयमा परीक्षा दिएर दिउँसो स्कुलबाट घर फर्किंदा जंगलमा उनले बाघ देखे। डराउँदै घर पुगे। पढ्न मन बसेकाले जंगलको बाटो हिँडेर स्कुल पुग्न भने छाडेनन्। माडी नगरपालिका–९ कुसुमखोलाको छाँगेका उनले कक्षा ४ देखि ६ सम्म घरबाटै धाएरै पढे। ‘खाना पाके पनि नपाके पनि ७ बजे त हिँडिहाल्नुपथ्र्यो,’ उनले भने, ‘घरबाटै धाएर पढ्दा होमवर्क गर्न पनि भ्याउँदिनथें।’

उनी अहिले स्कुलमै खोलिएको छात्राबासमा बस्छन्। स्कुलको आडैमा रहेको छात्राबासमा बसेर पढ्न पाउँदा सजिलो भएको उनी बताउँछन्। २०७४ साउनमा कुसुमखोलामा बाढी पस्दा गाउँका विद्यार्थी र अभिभावकले विद्यालयमा आश्रय लिएका थिए। विद्यार्थीलाई गाउँबाट विद्यालय आउन गाह्रो हुने र नियमित आउजाउमा समस्या भएपछि विद्यालयमा नै छात्राबास खोलियो।२०७४ भदौ ६ गते कुसुमखोलामा बस्ने चेपाङ समुदायका बालबालिकाका लागि भनेरै छात्राबास राखिएको थियो।

छात्राबासको व्यवस्था भएपछि विद्यार्थी नियमित विद्यालय आउन थालेको विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ घिमिरे बताउँछन्। छात्राबास राख्नुअघि विद्यालयमा भर्ना भए पनि विद्यार्थी नियमित आउँदैनथ्ये। भर्ना हुँदा २० जनाको संख्यामा आउने विद्यार्थी शैक्षिक सत्र अन्त्य हुँदा चारपाँचजनामा सीमित हुने गरेको उनले बताए। विद्यालयमा यस वर्ष तीन सय १२ जना विद्यार्थी छन्। एक सय ४० जना चेपाङ समुदायका विद्यार्थी छन्। अरू सबै दलित र जनजाति समुदायको भएको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए। छात्रावासमा बसेर पढ्ने विद्यार्थीको संख्या ७४ छ।

कुसुमखोलाकै ११ वर्षीया सोनिया प्रजा कक्षा ५ मा पढ्छिन्। कक्षा ४ मा भर्ना हुँदा चार महिना उनी घरबाटै धाएर विद्यालय आइन्। ६ ठाउँमा रिउखोला तर्दै र साना खोल्साखोल्सी पनि तरेर जंगलको बाटो विद्यालय आउन डर लागे पनि विद्यालय आउन छाडिनन्। स्कुलमै छात्रावास खोलिएपछि पढ्न सजिलो भएको उनले बताइन्। छात्रावास नहुँदा कक्षा ३ मा दोहो¥याएर पढ्ने र अलि ठूलो भएपछि बिहे गरेर बस्ने प्रचलन चेपाङ समुदायमा धेरै थियो। अहिले विद्यालय आएर पढ्ने विद्यार्थी बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर विष्ट बताउँछन्। कुसुमखोलाका चेपाङ विद्यार्थीका लागि छात्राबास खोलिए पनि छात्रावासमा पूर्वाधार छैनन्। विद्यालयको शिशु र कक्षा १ पढाइ हुने दुईवटा कक्षालाई छात्रावास बनाइएको उनले बताए।

कक्षाकोठाको अभावमा विद्यालयका शिशु र कक्षा १ का विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइन्छ। छात्रावास बनाइएको दुई कोठामा एउटामा छात्र र अर्कोमा छात्रालाई राखिएको छ। धेरै विद्यार्थी एउटै कोठामा राख्नुपरेको उनी बताउँछन्। छात्रा बस्ने कोठामा नै खाना बनाउने गरिएको छ। यसअघि छात्रावासमा बस्ने ठूला विद्यार्थीले नै खाना बनाउने गर्थे। पुस १५ गतेबाट मात्र सहयोगी राखिएको अध्यक्ष विष्टले जानकारी दिए।

छात्रावासमा ओढ्ने, ओछ्याउने, लत्ताकपडा, स्टेसनरी सामग्री विभिन्न संघसंस्थाले सहयोग गर्दै आएका छन्। ‘पोहोर खोलिएको वर्ष रासन पर्याप्त थियो,’ उनी भन्छन्, ‘यस वर्ष खाद्यान्न जुटाउन गाह्रो भएको छ।’ यो वर्ष सुरु भएपछि माडी नगरपालिकाले दिएको एक लाख रुपैयाँ बजेट बाटै छात्रावासका विद्यार्थीलाई खानाको जोहो गरिएको उनले बताए। नगरपालिकाले गरेको सहयोग रकम पनि सकिन लागेको उनी बताउँछन्।

छात्रावासका विद्यार्थीलाई दुई छाक खानाको मात्र व्यवस्था गरिएको छ। खाजा खुवाउने गरिएको छैन। विद्यालयको स्रोत र स्थानीय रूपमा पाइने सहयोगले छात्रावास व्यवस्थित गर्न मुस्किल भएको प्रध्यानाध्यापक घिमिरे बताउँछन्। ‘कोठा अभाव छ, एउटैमा धेरै विद्यार्थी राख्नुपरेको छ,’ उनले भने, ‘वरिपरि घेराबार छैन, राति शौचालय जान पनि गाह्रो छ।’ चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने समस्या छ। त्यसैले पर्खाल लगाएर न्यूनतम सुविधाको भवन बनाएर विद्यार्थीलाई सुरक्षित राख्न सकिए सजिलो हुने उनले बताए।

प्रकाशित: २६ पुस २०७५ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App