coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङका प्रहरी अब सुविधायुक्त भवनमा

जिल्ला प्रहरी कार्यालय धादिङको नवनिर्मित भवन। तस्बिर : सरिता/नागरिक

धादिङ – विनाशकारी भूकम्पले धादिङका अधिकांश घरसँगै प्रहरी चौकी पनि भत्किएका थिए। शान्तिसुरक्षामा खटिँदै आइरहेका प्रहरी त्रिपालमा बस्दै आएका थिए। भवन नहुँदा समस्या भोग्दै आएका प्रहरीका लागि बल्ल भवन निर्माण कार्य गरिएको छ।

त्रिपालमा बसेर सेवा दिँदै आइरहेका प्रहरीका लागि कतिपय ठाउँमा सुविधा सम्पन्न भवन निर्माण भइसकेको र कतिपय स्थानमा धमाधम निर्माण भइरहेको प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। ‘टेन्टमा बस्नुपर्दा सर्प तथा अन्य किराले सताउने गथ्र्यो’, महतोले भने, ‘नयाँ भवन बनेको छ, जनतालाई सरल र सहज रूपमा सेवा दिन सजिलो भएको छ।’

२०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालयसहित प्रायः सबै भवन ध्वस्त भएका थिए। लामो समयसम्म पालमा बसेर सेवा गरिरहेका प्रहरी भवन निर्माण सम्पन्न भएपछि आफ्नै प्रहरी कार्यालयमा बसेर सेवा गर्न थालेका छन्।

भूकम्पपछि जिल्ला प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ। भवनिर्मित भवनको विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले उद्घाटन गरे। चार करोड २२ लाख ४७ हजार नौ सय ३३ रुपैयाँ लागतमा भवन निर्माण गरिएको प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए। भवनमा १२ वटा कोठा छन्।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवन केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन्। केही प्रहरी चौकीहरु भने बजेट भए पनि जग्गा अभावमा निर्माण हुन सकेको छैन। प्रहरी प्रधान कार्यालयको समन्वयमा विभिन्न संघसंस्था तथा पुनर्निर्माण प्राधिकरणले भूकम्पमा भत्किएका प्रहरी चौकी निर्माणका लागि बजेट उपलब्ध भएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकको आवास भवन पनि निर्माण गरिएको छ। कुल दुई करोड ३६ लाख ९७ हजार तीन सय २७ रुपैयाँ लागतमा भवन निर्माण भएको हो। त्यस्तै चार करोड २२ लाख ७९ हजार दुई सय ९६ रुपैयाँ लागतमा हिरासत कक्षसहित २६ कोठाको भवन निर्माण गरिएको विकले बताए। ‘भूकम्पपछि भत्किएका प्रहरी चौकी पुनर्निर्माण भइरहेको छ’, प्रहरी उपरीक्षक विकले भने, ‘नयाँ भवनमा सरेसँगै प्रहरीले दिने शान्तिसुरक्षा पनि पाटो पनि फेरिनेछ।’

विनाशकारी भूकम्पबाट जिल्ला प्रहरी कार्यालय धादिङसहित नौवटा भवन क्षतिग्रस्त भएका थिए। यस्तै १३ वटा भवन आंशिक र पाँचवटामा सामान्य क्षति पुगेको थियो। अहिले १३ वटा भवन निर्माणाधीन छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा २ वटा भवन बनेका भने ९ वटा भवन निर्माणाधिन अवस्थामा छन्।

भूकम्पपछि अस्थायी संरचनामा बस्दा प्रहरीलाई समस्या भए पनि भवन निर्माण भएपछि त्यो सबै समस्याबाट मुक्ति पाएको प्रहरी कर्मचारी बताउँछन्। अस्थायी संरचनामा बस्दा धेरै प्रहरी बिरामी भएका र हतियारसमेत सुरक्षा गर्न समस्या भएको प्रहरी उपरीक्षक विकले बताए।

प्रकाशित: २६ पुस २०७५ ०१:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App