१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साझेदार छनोट अपारदर्शी भन्दै अख्तियारमा उजुरी

खोटाङ – क्रिस्चियन एड (केड) नेपाल जावलाखेलले अपारदर्शी तरिकाले खोटाङमा साझेदार संस्था छनोट गरेको खुलेको छ। खोटाङमा सञ्चालनको तयारी गरिएको ‘रिसाइलेन्ट लाइभ्लीउड एण्ड मार्केट लिंकेज विथ इन्टग्रेटेड अप्रोच अफ जेसी, डिजास्टर रिस्क रिडक्सन एण्ड क्लाइमेट चेञ्ज’ कार्यक्रमका लागि विधि र प्रक्रिया मिचेर साझेदार संस्था छनोट गरेको खुलेको हो।

क्रिस्चियन एडले नियतवश र अपारदर्शी तरिकाले बालसेवा समाज नेपाललाई साझेदार संस्था छानेको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय इटहरीमा उजुरी परेको छ। क्रिस्चियन एडको सूचनामा प्रस्तावना पेस गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको भए पनि सोभन्दा पछाडि संस्था नवीकरण गरेको, सो म्यादपछि राजस्व चुक्ता गरेको बालसेवालाई छनौट गरिएको भन्दै जनसेवा समाज नेपालका अध्यक्ष दानबहादुर राई र नवकिरण सेवा समाजका अध्यक्ष दीपबहादुर राईले अख्तियारमा उजुरी दिएका हुन्।

प्रस्ताव पेस गर्ने अन्तिम म्याद सकिएको २० दिनपछि बालसेवा समाजले असोज २५ गते आन्तरिक राजस्व कार्यालय लाहानबाट संस्था नवीकरण गर्न वाधा छैन भन्ने व्यहोराको पत्र लिएको, असोज २६ गते दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बालसेवाको नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिसपत्र दिएको, सोही दिन प्रशासनमा संस्था नवीकरण गरेको संस्थालाई साझेदार छानिएको अख्तियारलाई दिइएको उजुरीमा उल्लेख छ। संस्था छनोट गर्नेक्रममा अपनाइएका विधि र प्रक्रिया अपारदर्शी, अवैधानिक र शंकास्पद देखिएकाले प्रचलित कानुनअनुसार आवश्यक छानविन तथा थप कारबाही प्रक्रियाका लागि उजुरी दिएको जनसेवा समाजका अध्यक्ष दानबहादुर राईले बताए।

तोकिएको म्यादभित्र अवधारणा र आशयपत्रका लागि आवश्यक पूर्ण कागजात नबुझाएका संस्थालाई अपारदर्शी र अवैधानिक तरिकाले छानिएको भन्दै असन्तुष्ट जनसेवा समाज र नवकिरण सेवा समाजले गत मंसिर १४ गते पनि क्रिस्चियन एडसमक्ष संस्था छनौट प्रक्रियाप्रति गम्भीर ध्यानाकर्षण र असहमति व्यक्त गरिसकेका छन्। संस्था छनोट प्रक्रियाका विषयमा सूचना माग गरेको करिब ४० दिनपछि क्रिस्चियन एडले पुस २३ गते प्रलोभनमा पार्ने र गैर–जिम्मेवार तरिकाले जवाफ दिएको उनीहरूको भनाइ छ।
समय तालिकाअनुसार संस्था छनोट गरेको बारेमा जानकारी नदिएको, कार्य सञ्चालन सर्त (टिओआर) माग गर्दा स्ट्राटेजिक पार्टनरसीप एण्ड टर्म अफ रिफेरेन्स पठाएर अर्को टिओआर पठाउन वाध्य पारिएको नवकिरण सेवा समाजका अध्यक्ष दीपबहादुर राईले बताए। निर्धारित समयमा प्रस्तावना–पत्र पेस गरे पनि इमेल प्राप्त नभएको भन्दै पन्छाउने काम भएको जनसेवा र नवकिरण सेवा समाजले जनाएको छ।

बाल सेवाले पुस १६ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर कार्यक्रम सञ्चालन सुरु गरिएको जानकारी दिएको थियो। १ डिसेम्बर २०१८ देखि ३० मार्च २०२१ सम्म सञ्चालन हुने कार्यक्रमका लागि क्रिस्चियन एडको १ करोड ४७ लाख ५९ हजार ९ सय ९७ रुपैयाँ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५ लाख खर्च हुने बाल सेवाका परियोजनाका व्यवस्थापक युवराज रिजालले जानकारी गराएका थिए।

प्रकाशित: २६ पुस २०७५ ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App