१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा झण्डै ४ हजार पहिरो

फाइल तस्बिर ।

सिन्धुपाल्चोक–गत वर्ष वैशाख १२ को भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साना–ठूला गरी झण्डै ४ हजार पहिरो गएको पाइएको छ।
भूकम्पको एक वर्षपछि जाइका (जापान अन्तर्राट्रिय सहयोग नियोग) ले पहिरोको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। लामो समयको अध्ययनपछि सार्वजनिक प्रतिवेदनअनुसार सिन्धुपाल्चोकमा भूकम्पले ३ हजार ७ सय ३३ वटाभन्दा धेरै पहिरो निम्त्याएको छ।

पहिरोबाट यहाँका कुनै गाउँ अछुतो छैनन् । साना–ठूला पहिरो गएकै छन् । भूकम्पपछि दुई बर्खा बित्दासम्म पहिरो उस्तै छन्। घाँसपात, झाडी पलाएर पहिरो छोपिएको छैन। एउटै गाविसमा ५ सयभन्दा बढी पहिरो गएको पाइएको छ। जाइकाले भूकम्प पश्चातको पुनस्र्थापना तथा पुनर्लाभ परियोजना अन्तर्गत पहिरोको अध्ययन गरेको थियो।

पञ्चवर्षीय जिल्ला आवधिक योजना तर्जुमा गोष्ठीमा जाइका अध्ययन टोलीले यसै साता पहिरो अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। टोलीले धेरै पहिरो गएको २० गाविससमेत पहिचान गरेको छ । हिमाली गाविस पहिरोबाट बढी प्रभावित छन् । तातोपानी, हेलम्बु र भोताङ गाविस पहिरोबाट सबैभन्दा धेरै प्रभावित छन्।

हिमाली गाविस भोताङमा सबैभन्दा धेरै ५ सय ७ वटा पहिरो पहिचान भएको छ। त्यहाँ २.२ वर्गकिमी क्षेत्रमा पहिरो गएको थियो । क्षेत्रफलका हिसाबले उत्तरी सीमावर्ती तातोपानी गाविसमा सबैभन्दा धेरै २.५ वर्गकिमी क्षेत्रमा पहिरो गएको पाइएको छ। त्यहाँ ३ सय ५१ वटा पहिरो गणना भएको छ।

अध्ययन टोलीले पर्यटकीय गाउँ हेलम्बु गाविसमा ४ सय ६२ वटा पहिरो पहिचान गरेको छ। २.४ वर्गकिमी क्षेत्र पहिरोग्रस्त छ। बरुवामा ४ सय ५६ पहिरो जाँदा १.९ वर्गकिमी क्षेत्र क्षतिग्रस्त बनेको छ। बस्ती नै जोखिममा परेको हिमाली गाउँ गुम्बामा २ सय १२ वटा पहिरो भेटिएको छ। पहिरोले त्यहाँ १.७ वर्गकिमी क्षेत्र जमिन ढाकेको छ। छिमेकी गोल्चे गाविसमा १.७ वर्गकमी क्षेत्र क्षतिग्रस्त हुने गरी ३ सय ९८ वटा पहिरो गएका छन्।

‘भू–ढलान ३४ डिग्रीभन्दा धेरै स्लोप भएको स्थानमा पहिरोको संख्या धेरै देखिएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘९० प्रतिशतभन्दा बढी पहिरो ३४–७७ डिग्रीसम्म ढलान भएको स्थानमा देखिएका छन्।’     मार्मिङमा २ सय २६, लिस्ती २ सय १४, फुल्पिङकोटमा १ सय ९६ र लाँगार्चे गाविसमा ९७ वटा पहिरो भेटिएका छन्। गाती, घोर्थली, कर्थली, चोकटी, थाङपालकोट, बतासे, टेकानपुर र राम्चे धेरै पहिरो जाने २० गाविसमा समेटिएका छन्। यी गाविसमा सबैभन्दा कम दुईदेखि ९० वटासम्म पहिरो पहिचान गरिएको छ।

 

प्रकाशित: १६ आश्विन २०७३ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App