६ वैशाख २०८१ बिहीबार
खेल

फाल्डो सिरिज नेपालमा सुवास च्याम्पियन

काठमाडौं – सुवास तामाङले गोकर्ण गल्फ क्लबमा बुधबार सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन्।

पार–७२ को गोकर्ण गल्फ कोर्समा सुवासले अन्तिम दिन दुई ओभर ७४ स्कोर बटुल्दै कुल ५ अन्डर २ सय ११ स्कोरका साथ उपाधि जितेका हुन्। साबिक विजेता शुक्रबहादुर तामाङले इभन पार २ सय १६ स्कोरका साथ दोस्रा स्थानमा चित्त बुझाए। बुधबारको खेलमा शुक्रबहादुरले दुई अन्डर ७० स्कोर बटुलेका थिए।

यससँगै सुवास र शुक्रले २०१९ मार्चमा भियतनामा फाल्डो सिरिज एसिया ग्रान्ड फाइनलमा स्थान पक्का गरेका छन्। जुनियर १२–१६ वर्ष उमेरसमूहका साम दब्लार्ड ७ ओभर २ सय २३ स्कोरसहित दोस्रो भए। उमेर समूहमा दोस्रो भएका साम ओभरलमा भने तेस्रोमा सीमित भए। उनले अन्तिम दिन तीन ओभर ७५ स्कोर बनाएका थिए।

१७–२१ वर्ष उमेरसमूहमा राहुल बिक दोस्रो हुँदा कुल २२ ओभर २ सय ३८ स्कोर बनाएका थिए। यता महिलातर्फ कास्मिरा शाह ४५ ओभर २ सय ६१ को स्कोरका साथ विजेता बन्दा प्रतिभा राई ५९ ओभर २ सय ७५ स्कोरका साथ दोस्रो भइन्।

नेपाल गल्फ संघद्वारा आयोजित प्रतियोगितामा कुल ५४ होलमा प्रतिस्पर्धा भएको थियो। उक्त प्रतियोगितामा १२–२१ वर्षसम्म २५ जुनियर गल्फरले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २६ पुस २०७५ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App