८ वैशाख २०८१ शनिबार
भिडियो

मेरै कार्यकालमा राजधानीमा रेल चढ्न पाइन्छ : मेयर शाक्य (भिडियो)

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा रेल चलाएर छाड्ने बताएका छन्। 

नागरिक फ्रन्टलाइनमा बुधवार साँझ पत्रकार श्रीराम पौडेलसँगको कुराकानीमा मेयर शाक्यले रिङ्गरोडमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनी चाइना रेल्बे ब्यूरो ग्रुप कर्पाेरेट लिमिटेडसँग डिपिआर सम्झौता भइसकेको जानकारी गराउँदै आफ्नै कार्यकालमा रेल चलाउने बताए। ‘डिपिआर प्रतिवेदन ६ महिनाभित्र आउँछ। मोनोरेल चिनियाँ कम्पनीकै लगानीमा बन्छ। हाम्रो एक रुपैयाँ लगानी हुँदैन’, उनले भने, ‘राजनीतिक र स्थानीयको अवरोध भएन भने मेरै कार्यकालमा रेल चल्छ, राजधानीमै रेल चढ्न पाइन्छ।’

मेयर शाक्ले काठमाडौं उपत्यकाको धुलोधुवा नियन्त्रणका लागि महानगरले पहल गरिरहेको भन्दै मेलम्ची खानेपानी आयोजनाको काम नसकिएसम्म पूर्ण रुपमा धुलो नियन्त्रणमा आउन नसक्ने स्पष्ट पारे। ‘मेलम्चीको काम नसकी धुलो नियन्त्रण हुन सक्दैन्’, उनले भने, ‘निर्माण कार्यमा संलग्न गाडीका कारण पनि सडकमा धुलो उडिरहेको छ। यद्यपी हामी ब्रुमर ल्याएर नियन्त्रणको प्रयास गरिरहेका छौं।’ उनले धुलो नियन्त्रणका लागि इटालीबाट थप ५ वटा ब्रुमर र चीनले अनुदानमा दिने २ वटा ब्रुमर ल्याउने तयारी भइरहेको समेत बताए। 

कुराकानीका क्रममा मेयर शाक्यले महानगरले घरघरमै पुगेर वृद्धभत्ता वितरण गरिरहेको जानकारी गराए। ‘८० वर्षका पुरुष र ७५ वर्षका महिला गरी ६ हजार भन्दा वृद्धलाई घरघरमै पुगेर विशेष महानगर भत्तासहित निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेका छौं’, उनले भने, ‘साझा बससँग सहकार्य गरेर निःशुल्क यात्राको व्यवस्था पनि मिलाएका छौं।’

काठमाडौंमा शौचालयको समस्या रहेको गुनासो कार्यक्रममा आएपछि मेयर शाक्यले महानगर थप ४२ ठाउँमा ‘स्मार्ट ट्वाइलेट’ बनाउने तयारीमा रहेको जानकारी गराए। ‘अहिले काठमाडौंमा ५७ सार्वजनिक शौचालय छन्। सडक विभागसँग सहकार्य गरी थप ४२ स्थानमा स्मार्ट ट्वाइलेट बनाउने तयारीमा छौं’, उनले भने। 

मेयर शाक्यले ट्राफिक जाम हटाउन ‘पिक एण्ड ड्रप’ कार्यक्रम लागु गरिएको बताए। ‘यो कार्यक्रमको प्रभाव सकारात्मक परेको छ। धेरै ठाउँको जाम हटेको छ’, उनले भने, ‘सकारात्मक सुझाव आयो भने यसमा केही परिमार्जन गर्न सकिन्छ।’

उनले फुटपात व्यवसायलाई पूर्ण रुपमा निरुत्साहित गरिने बताए। पेटीमा सामान राखेर बेच्नेको सामान जफत गरिने उनको भनाई छ। उनले चुनावी प्रतिबद्धताअनुसार काठमाडौं विभिन्न ठाउँमा पार्क निर्माण भइरहेको बताए। मेयर शाक्यले काठमाडौंका प्रदूषण नियन्त्रण गरेरै छाड्ने भन्दै यसका लागि पार्कहरु निर्माण, सामुदायिक विद्यालयमा विरुवा रोप्ने, शौचालय बनाइदिने बताए। त्यस्तै, संस्थागत विद्यालयलाई विरुवा रोप्न लगाइएको उनको भनाई छ। 

उनले अहिले स्थानीय तहका जनप्रतिनिधि सबैभन्दा पीडित भएको बताए। वडाध्यक्ष्को तलब ७ हजार रुपैयाँ मात्र रहेको भन्दै त्यो समय सुहाउँदो नभएको जिकिर गरे। ‘सामान्य कर्मचारीको पनि न्युनतम तलब छ, कामको निश्चित समय तोकिएको छ। बढि काम गरे अतिरिक्त पारिश्रमिक दिनुपर्छ। तर जनप्रतिनिधि थोरै पारिश्रमिकका रातदिन काम गर्छ। उसकै बढि आलोचना हुन्छ’, उनले गुनासो पोखे। 

प्रकाशित: २५ पुस २०७५ १५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App