coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डडेल्धुरा बस दुर्घटनाकी घाईतेलाई उपचार खर्च अभाव

ट्रमा सेन्टरमा उपचाररत राधिका धामी। तस्बिरः पदम् बाेहरा

डोटी-केहीदिनयता आक्कल–झुक्कल आँखा फट्फटाउछ । यसरी फट्फटाउने परेलाले केही भनेजस्तो आभास दिन्छ । बोल्नसक्ने अझै भएकी छैनन् । समग्रमा आएको सुधारले बुवा तेजबहादुर धामीमा केही निमेष उनी ‘बाँच्नसक्ने आशा’ पलाएको छ । तर, ‘रित्तिएको खल्ती’ले भने निराशा थप्दै लगेको छ । 

यो अवस्था मंसिर ६ गते भएको डडेल्धुरा बस दुर्घटनाकी घाईते १३ वर्षिया बालिका राधिका धामीको हो । उनी करिब डेढ महिनादेखी काठमाण्डौको ट्रमा सेन्टरमा उपचाररत् छिन । टाउकोमा लागेको गम्भिर चोटले उनको अस्पताल बसाई निरन्तर छ ।‘स्वास्थ्यमा सुधार आएको देख्दा बाँच्छ कि भन्ने आशा छ,’ बुवा तेजबहादुर भन्छन्,‘पैसा सबै सकियो।' 

अब बचाउन सकिन्नकी भन्ने चिन्ताले सताउदैछ। आफुसंग, ईष्टमित्र, छर–छिमेक सबैसंग मागेको पैसा सकियो । कसरी बचाउ ?’ सोही दुर्घटनामा राधिकाकी आमा शारदा धामी र दाई रमेश धामी पनि घाईते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् । ‘तीन–तीनजनाको उपचार गराउदा टाँट पल्टिसके । सायद लागेको ऋणपनि तिर्न सक्दिन होला,’ भावुक हुँदै उनले भने । 

राधिकाको उपचारमा मात्रै ७ लाख खर्च नाघेको छ । शुरुमा १० दिन उपचार गरेको सुभेच्छा ईन्टरनेशनल हस्पिटल सीतापाईलामा मात्रै तीन लाख खर्च भएको कुरुवा रहेका उनका फुपा पदम बोहराले जनाए । ‘त्यसपछि पूर्वमन्त्री वीर बहादुर बलायरको पहलमा यता(ट्रमा सेन्टर)मा ल्याएपछि थोरै सहुलियत भएको छ,’ उनले भने,‘सरकारीमा थोरै राहत त छ । तरपनि महंगो औषधि किन्नुपर्ने, रगत परीक्षण गर्नुपर्ने, कुरुवा खर्च लगायतले दिनहुँ खर्च बढाईरहेको छ ।’ 

जिल्ला प्रशासन कार्यालयको सिफारिसमा एकलाखसम्मको उपचारखर्च मिनाहा पनि भ्याईसकेको उनले बताए । उनले भने,‘त्यो सकिएर ट्रमा सेन्टरमा मात्रै थप तीनलाख खर्च भैसक्यो । अझै कतिदिन बस्नुपर्छ थाहा छैन् ।’ दिनको दशहजारभन्दा बढी खर्च भइरहेको उनले बताए । राधिकालाई पूर्वमन्त्री बलायरले ३० हजार र शिखर नगरपालिकाको १५ हजार बाहेक कसैले उपचारखर्च सहयोग नगरेको बोहराले बताए । ‘प्रदेश सरकारले दिन्छौ भनेको सुनेको हुँ, खै कतैबाट सुनुवाई भएको छैन्,’ उनले भने । 

जिल्ला प्रशासन कार्यालय डोटीले अहिले गाडीधनी आफै उपचारमा रहेकोले उताबाट आउने रकमपछि पाउने भनी पत्र पठाएको छ । ‘पत्रले के गर्नु । अहिले औषधि नै किन्न पैसा छैन पछि आउने पैसाले के गर्ने ?,’ राधिकाका बुवा तेजबहादुरले भने । 

राधिकाको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । टाउकामा चोट लागेको भएपनि नशामा ठुलो चोट नभएकाले बाँच्नसक्ने सम्भावना निकै बढेको छ । तर अस्पतालको बसाई भने अझै लम्बिनसक्ने जनाईएको छ । पटकपटक आईसियू राख्नुपर्ने अवस्था अझै छ। 

गत मंसिर ६ गते डडेल्धुराको उग्रतारा मेलाबाट फर्कदै गरेको शिखर नगरपालिका–१० बानडुग्रीसैनमा रहेको पीसजोन एकेडेमीको से १ क २९३ नम्बरका बस डडेल्धुराको रडुवाखोलामा दुर्घटनामा परेको थियो । सो घटनामा १८ जनाको मृत्यू भएको थियो भने २७ जना घाईते भएका थिए। 

प्रकाशित: २५ पुस २०७५ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App