काठमाडौं– राष्ट्रिय सभा सदस्य एवं सत्तारुढ नेकपाकी नेतृ कोमल वलीले विवादित धर्म गुरु रामबहादुर बम्जनलाई पक्राउ गर्न सरकारसँग माग गरेकी छिन्।
बुधवारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद वलीले बम्जनलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेकी हुन्। बम्जनमाथि आनीमाथि यौन दुर्व्यवहार, वेपत्ता तथा हत्याको आरोप लागेको छ। केही पीडित परिवारले उनीविरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन्। परिवारको उजुरीको आधारमा प्रहरीले छानविन सुरु गरेका बेला सांसद वलीले बम्जनलाई पक्राउ गरेरै अनुसन्धान गर्न माग गरेकी हुन्।
‘आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनले गरेको महिलामाथिको हिंसा केही दिनयता विभिन्न सञ्चारमाध्यमका व्यापक रुपमा आइरहेको छ। यो के भइरहेको हो? तुरुन्त अनुसन्धान गरियोस। कारवाहीको प्रक्रिया पनि अगाडि बढाइयोस। स्वयं पीडित महिला आएर भनिरहेको अवस्थामा प्रहरीले बम्जनलाई किन पक्रिन सकिरहेको छैन्? यो विषयमा राष्ट्रियसभामा सरकारबाट तर्फबाट जानकारी गराउन आग्रह गर्दछु’, उनले भनिन्।
प्रकाशित: २५ पुस २०७५ ११:३६ बुधबार