८ वैशाख २०८१ शनिबार
समाज

कारागारका लागि किताब खोज्दै प्रहरी

कारागारलाई किताब बारे जानकारी दिदै डिएसपी सिताराम रिजाल : डिबी/नागरिक

जुम्ला - जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।

किताब पढौँ, जीवनलाई बदलौँ, भन्ने मान्यतालाई स्थापित गर्दै कर्णाली प्रदेशका सबै कारागारमा रहेका कैदीबन्दीलाई किताब पढ्ने वातावरण बनाउने उद्धेश्य अनुरुप जुम्ला कारागारमा पनि व्यवस्थित पुस्तकालय बनाउन थालिएको हो। प्रहरी प्रमुख डिएसपी सिताराम रिजालका अनुसार कारागारमा किताब अभियान नविन अवधारणा हो। 'यो अभियानले कैदीबन्दीमा रहेको अपराधिक मानसिकतालाई नामेट पार्दै सिर्जनात्मक क्रियाकलापमा समाहित हुन उत्प्रेरित गर्नेछ' उनले भने 'कारागारका बन्दीको संसार किताबमा छ, किताब पढेर जीवन रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिने छ।' डिएसपी रिजालले अगाडी थपे, 'कारागार कैदीबन्दीको समय भुक्तान गर्ने ठाउँ मात्र होईन्, जीवनलाई सुधार्ने पाठाशाला पनि हो, फुर्सदको समयलाई रचनात्मक सोचमा परिवर्तन गर्न जरुरी छ। कैदीबन्दी पनि सभ्य समाज निर्माण अभियानमा अग्रसर होउन र जीवन र जगत बदल्ने कडिका रुपमा कारागारलाई लिउन भन्नको लागि यो अभियान शुरु भएको छ।'

जिल्लाका सरोकारवालालाई एकै थलोमा बोलाएर कारागारलाई किताब अभियान समितीको औचित्यका बारेमा जानकारी दिइएको थियो। 'कारागारमा पुस्तक अभियानले फुर्सदको समय सदुपयोग गर्दै असल नागरिक बन्न प्रेरणा प्रदान गर्ने छ', डिएसपी रिजाल भन्छन्,'अपराध न्युनिकरण गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने, सभ्य समाज निर्माण गर्न सघाउ पुग्ने छ।'

जुम्लाका प्रहरी प्रमुख रिजालको संयोजकत्वमा ११ सदस्यीय उप समिति गठन गरेर औपचारीक रुपमा पुस्तक संकलनको काम सुरु भइसकेको छ। यो समितिले किताब, डेक्स, बेन्च सहितको व्यवस्थित पुस्तकालय निर्माणमा जोड दिनेछ। पुस्तकालय निर्माणका लागि स्रोतको पहिचान र परिचालन गर्नुका साथै समितिको लेखा संरचनालाई पनि व्यवस्थित बनाउने प्रहरी प्रमुख रिजाल बताउँछन्। किताबको लागि प्रकाशन गृह, प्राज्ञिक संस्था र लेखकसँग समन्वय भइरहेको उनले बताए।

 

प्रकाशित: २५ पुस २०७५ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App