१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्यान्ड पुगेकी साउदी युवतीद्वारा शरण माग

साउदी अरबकी युवती राहफ मोहम्मद अल–कुकुनसँग बैंककस्थित सुर्वणभूमि विमानस्थलभित्र रहेको होटलमा भेट गर्दै थाई अध्यागमनका अधिकारी। तस्बिर : एजेन्सी

बैंकक – साउदी अरबबाट भागेर थाइल्यान्ड पुगेकी एक १८ वर्षीया युवतीले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया वा बेलायतमा राजनीतिक शरण माग गरेकी छन्। इस्लाम धर्म परिवर्तन गरेको घोषणा गर्दै गत साता साउदी अरबबाट भागेकी राहफ मोहम्मद अल–कुुकुन नाम गरेकी ती युवतीले आफूले धर्म परिवर्तनको घोषणा गरेको हुनाले परिवारबाटै आफ्नो ज्यानको असुरक्षा रहेको भन्दै अमेरिकालगायतका देशमा राजनीतिक शरण माग गरेको बिबिसीले जनाएको छ।

साउदी अरबको कानुनअनुसार कुनै पनि व्यक्तिले धर्म परिवर्तन गरे उसलाई मृत्युदण्ड दिने प्रावधान रहेको छ। गत सप्ताहन्तमा अस्ट्रेलिया जान भन्दै कुवेतबाट विमान चढेर बैंकक पुगेकी ती युवतीलाई नियन्त्रणमा लिएर थाई अधिकारीहरुले सुवर्णभूमि विमानस्थलस्थित एउटा होटलमा राखेको थियो। थाई अधिकारीहरुले अल–कुुकुनलाई उनको परिवार बसिरहेको कुवेतमै पठाउने बताएका थिए। त्यसैअनुरुप थाई अधिकारीहरुले उनलाई सोमबार कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए। तर उनले होटलको कोठा थुनेर आफू कुवेत नजाने अडान लिएकी थिइन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत् उनले शरणका लागि राष्ट्रसंघ र अमेरिकालगायत क्यानडा, बेलायत र अस्ट्रेलियालाई गुहारेकी थिइन्। शरण माग गर्दै याचना गरेपछि मोहम्मद अल–कुकुनलाई राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले आफ्नो संरक्षकत्वमा होटलबाट बाहिर निकालिसकेको छ।

‘मेरा दाजुभाइ र परिवार एवं साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन्। उनीहरूले मलाई मार्छन्। मेरो जीवन संकटमा छ,’ आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै मोहम्मद अल–कुकुनले समाचार एजेन्सी रोयटर्सलाई बताएकी थिइन्।

इस्लाम धर्म परिवर्तन गरेको घोषणा गर्दै थाइल्यान्ड पुगेपछि विकसित हरेक घटनालाई मोहम्मद अल–कुकुनले ट्विटमार्फत् जानकारी गराउने गरेकी छन्, जसले गर्दा विश्वभरका सामाजिक सञ्जालका प्रयोगकर्तामाझ उनी आकर्षणको केन्द्रविन्दू बनिरहेकी छन्। उनले ट्विटरमा खाता खोलेको दुई दिन पनि नपुग्दै ५० हजारभन्दा बढीले उनलाई फलो गरिसकेका छन्।

‘क्यानडाले मलाई शरण देओस् भन्ने मेरो चाहना छ,’ मोहम्मद अल–कुकुनले मंगलबार बिहान आफ्नो वास्तविक इच्छा प्रकट गर्दै गरिएको ट्विटलाई रिट्विट गरेकी छन्। मोहम्मद अल–कुुकुनको मागलाई राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगले सहयोग गरिरहेको प्रति अस्ट्रेलियाको सरकारले आफू खुसी भएको बताएको छ।

‘राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोगको प्रक्रिया पूरा भएपछि मोहम्मद अल–कुकुनले मानवीयताका आधारमा माग गर्ने कुनै पनि प्रकारको प्रवेशाज्ञालाई अस्ट्रेलियाले विचार गर्ने छ,’ अस्ट्रेलियाली गृह मन्त्रालयको एक विभागलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (युएनएचसिआर)ले परिवारबाट भागेकी १८ वर्षीया साउदी युवतीलाई फिर्ता नपठाएकोमा थाई अधिकारीप्रति कृतज्ञता ज्ञापन गरेका छन्। सो निकायले मोहम्मद अल–कुकुनको शरणको मागको परीक्षण गर्न केही दिन लाग्न सक्ने बताएको छ।

आफ्नै परिवारका सदस्यले आफ्नो हत्या गर्ने दाबी मोहम्मद अल–कुकुनले गरे पनि उनको परिवारले भने उनको दाबीप्रति हालसम्म कुनै प्रतिक्रिया नजनाएको बिबिसीले उल्लेख गरेको छ। थाईल्यान्डस्थित साउदी दूतावासले मोहम्मद अल–कुकुनलाई फिर्ता गर्न साउदी सरकारले अनुरोध गरेको भन्ने दाबीको खण्डन गरेको रोयटर्सले जनाएको छ।

सोमबार साँझ थाई अध्यागमन प्रहरीका प्रमुख मेजर जेनरल सुरचाते हक्पर्नले मोहम्मद अल–कुकुनलाई बैंककमै बस्न दिइएको र उनी युएनएचसिआरसँग विमानस्थलबाट बाहिर गएको बताएका थिए। राज्यले मोहम्मद अल–कुकुनको उपयुक्त हेरविचार गर्ने भन्दै उनले भनेका थिए, ‘उनी अब थाइल्यान्डको सर्वोच्चतामा छिन्। कसैले र कुनै दूतावासले पनि उनलाई अन्यत्र जान बाध्य पार्न सक्दैन। ‘थाइल्यान्ड मुस्कानको देश हो। हामी कसैलाई पनि मर्न पठाउँदैनौं,’ अध्यागमन प्रहरी प्रमुख मेजर जेनरल सुरचाते हक्पर्नले सोमबार बताएका थिए।

प्रकाशित: २५ पुस २०७५ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App