coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिसोका कारण बिरामी हुने बढे

काठमाडौं – दुई सातादेखि बढेको चिसोले बिरामी परेपछि राजधानीका विभिन्न अस्पतालमा बिरामी भर्ना भएका छन्। सिकिस्त बिरामीहरुको आइसियुमा भर्ना भई उपचार भइरहेको छ भने मध्यम स्तरको वार्डमा भर्ना गरी उपचार भइरहेको छ।

केही सामान्य अवस्थाहरुको बहिरंग विभाग र आकस्मिक कक्षबाटै उपचार गरिएको छ। उपचारमा आएका सिकिस्त बिरामीलाई आइसियु नपुगेपछि अन्यत्र रेफर गर्ने गरेको राजधानीका मुख्य अस्पतालहरुले जनाएका छन्। उनीहरुमा जाडोको कारणले हुने पक्षघात, दम, आज्मा, रुघाखोकी र निमोनियालगायतका रोग बढी मात्रामा पाइएको चिकित्सकले जनाएका छन्। राजधानीमा दुई सातादेखि ह्वात्तै चिसो बढेपछि चिसोका बिरामी अस्पतालमा बढी पुगेका छन्।

त्रिविवि शिक्षण अस्पतालका अनुसार दैनिक १५ जना आकस्मिक कक्षमा मात्र पुगेका छन्। ती मध्येमा अस्पतालको बहिरंग विभागमा मात्र दैनिक २० जना यस्ता बिरामी पुग्ने गरेका छन्। अस्पतालमा आइसियुमा भर्ना भएका मध्येमा ७० प्रतिशत दमका भएको अस्पतालका पल्मोनरी (श्वास–प्रश्वास बिशेषज्ञ) सन्तकुमार दासले बताए। गत वर्षको तुलनामा यो वर्ष दम र रुघाखोकीका बिरामी बढेको उनले बताए। अस्पतालमा देखिएका चिसोका बिरामी मध्येमा रुघाखोकी र पुरानो दम तथा ब्रोकेंल आस्थामा छन्।

डा. दासका अनुसार दमकै कारण राजधानीको ग्रिनसिटी र हेल्पिङ ह्याण्ड्स अस्पतालमा गरी तीन जनाको मृत्यु समेत भइसकेको छ। मृत्यु हुनेमा ७० देखि ८० वर्ष माथिका छन्। चिसोेमा दमले सिकिस्त बनेपछि दुई साताभित्र ३ जनाको मृत्यु भएको वीर अस्पतालले जनाएको छ। राजधानीमा विभिन्न अस्पतालमा गरी ६ जनाको दम तथा श्वास–प्रश्वास रोगकै कारण मृत्यु भएको चिकित्सकले जनाएका छन्।

अस्तपतालको आकस्मिक कक्षमा चिसोका बिरामी ह्वात्तै बढेको वीर अस्पतालले जनाएको छ। वीर अस्पतालको आकस्मिक कक्षमा मात्र प्रति दिन २५ जना आकस्मिक कक्षमा आउने गरेका छन्। कक्षमा दम, आज्मा र पक्षघातका बिरामी बढी छन्। चिसोको कारण आज्मा, दम तथा निमोनियाका रोग बढ्छ भने नयाँ संंक्रमण समेत भइरहेको छ। सिकिस्त भई आउने बिरामीको लागि अस्पतालमा आइसियु शड्ढया खाली नभएपछि अन्यत्र रेफर गरेको आकस्मिक कक्षका वरिष्ठ डा. न्हुच्छेमान डंगोलले बताए।

चिसाको कारण प्रभावित हुनेमा पहिलेदेखि दम तथा आज्मा भएका, वृद्ध–वृद्धा र बालबालिका रहेको अस्पतालले जनाएको छन्। दम तथा आज्माले सिकिस्त बनेर आउनेमा ४० वर्षदेखि माथिका महिला तथा पुरुष र वृद्ध–वृद्धा छन्। अस्पतालमा आइसियु शड्ढया खाली नभएपछि राजधानीका अन्य निजी अस्पतालमा समेत रेफर गरेर पठाइरहेको टिचिङ र कान्ति बाल अस्पतालले जनाएका छन्। ‘दैनिक आइसियु चाहिने अवस्थाका श्वास–प्रश्वासका बिरामी छन्, हिजो मात्र दुई जनालाई अन्तै पठायौं,’ टिचिङ अस्पताल आकस्मिक कक्षका प्रमुख डा. योगेन्द्र शाक्यले भने।

‘देशभरका बिरामी रेफरल बिरामी यहीँ आउँछन्, चिसोका बिरामीलाई आइसियु नपुगेपछि अन्यत्रै पठायौं,’ कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले भने। जाडाबढेपछि दम, आज्मा र रुघाखोकी बढी आउने गरेको सिभिल अस्पताल र पाटन स्वास्थ्य प्रतिष्ठानले जनाए। ‘अस्पतालका दम र रुघाखोकी बिरामी बढेका छन्, यस्तो सधैं चिसोमा बढ्छन्,’ पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले भने।

श्वास–प्रश्वास रोग विशेषज्ञ डा. दासका अनुसार चिसोको कारण दुई खालका बिरामी बढ्छन्। एउटा भाइरल रुघाखोकी र अर्को पुरानो दम। जाडोमा सक्रिय हुने इनफ्लुएन्जाले सामान्य बिरामीलाई आक्रमण गर्छ नै। चिसो आफैंले पनि पुरानो दम तथा ब्रोकेंल आस्थामाका बिरामीलाई समस्या उत्पन्न गर्छ। चिसाले विशेष गरी वृद्ध–वृद्धा, शिशु र पुरानो दमका बिरामीलाई जटिल समस्या उत्पन्न गर्छ। अन्य सामान्य व्यक्तिहरुमा आक्रमण गरेमा जिउ दुख्ने, घाँटी दुख्ने र ज्वरो आउने जस्ता लक्षण हुने गर्छ।

यस्ता बिरामी तथा अन्यले चिसो मौसम सुरु हुनु अघि नै भाइरलविरुद्धको खोप लगाउने, चिकित्सकको सल्लाह अनुसार नियमित औषधी सेवन गर्ने, अन्य मौसमको तुलनामा बढी मात्रामा औषधि खाने, न्यानोमा बस्ने, पोषणयुक्त खाना खाने जस्ता सावधानी अनपाएको खण्डमा सुरक्षित हुन सकिन्छ। ‘यी सावधानी अपनाउन नसकेका बिरामीहरु बढी प्रभावित भएका हुन्,’ डा.दासले भने। यसको साथै बिहान बेलुकीको चिसोमा बाहिर ननिस्कने, घाम लागेपछि मात्र बाहिर निस्कने, न्यानो बस्ने, चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्ने, पर्याप्त पानी तथा सुप पिउने जस्ता उपाय गरेर संक्रमणबाट बच्न सकिने उनको सुझाव छ।

श्वास–प्रश्वासका बिरामी कसरी बच्ने

– नियमित औषधी सेवन
– चिसोबाट बच्ने

– घाम लागेपछि तातो पानीले मात्र नुहाउने
– नियमित व्यायम गर्ने

– भीडभाडमा नजाने
– पोषणयुक्त खाना खाने

– प्रशस्त पानी पिउने

प्रकाशित: २५ पुस २०७५ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App