coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लोकल मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि मदिरा बिक्रेता पक्राउ

महोत्तरी–लोकल मदिरा पिउँदा महोत्तरीमा डोम समुदायका पाँच जनाको मृत्यु भएपछि प्रहरीले मदिरा उत्पादक र बिक्रेतालाई शुक्रबार पक्रेको छ।
घटना भएकै दिनदेखि फरार भएका सहसौला ६ का मदिरा बिक्रेता विनोद महरा र लोकल मदिरा उत्पादन गर्ने हात्तिलेट ४ का नथु लामा भन्ने जगतबहादुर बुलनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए।
विनोद महराले हात्तिलेटका जगत बहादुरले संचालन गरेको भट्टीबाट लोकल मदिरा खरिद गरी ल्याएर सहसौला ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोमलाई बिक्री गरेका थिए। सो मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको थियो।
मदिरा सेवनबाट रामवृक्षका आफनै परिवार र नातागोता पर्ने पाँच जनाको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।  
घटनावारे प्रहरीले अनुसन्धान गर्दै जाँदा हात्तिलेट ४ मा जगत बहादुरले हात्तिलेटमा ठूलो परिमाणमा लोकल मदिरा उत्पादन गर्ने भट्टी संचालन गरेको र सोही भट्टीबाट खरिद गरी ल्याएको लोकल मदिरा पिउँदा उनीहरुको मृत्यु भएको प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेका दुवै जनासँग वयान लिइएपछि घटनाबारे थप कुरा बाहिर आउने एसपी भट्टराईले बताए।
असार ४ गते शनिबार राति लोकल मदिरा सेवनपछि सहसौला– ६ का ७० वर्षीय रामवृक्ष मल्ली डोम, ४० वर्षीय प्रकाश मल्ली डोम र गौशाला ७ का पञ्चु मल्ली डोमको मृत्यु भएको थियो ।
उनीहरुसँगै मदिरा सेवन गरी सिकिस्त भएका औरही ३ का बद्री मल्ली डोमको असार ५ गते आइतबार साझँ जनकपुरमा उपचारका क्रममा मृत्यु भएको थियो भने शनिबार राति नै मृत्यु भएका गौशाला ७ का पञ्चु मल्ली डोमकी श्रीमती कलावती देवी डोमको धरानमा उपचारको क्रममा मृत्यु भएको थियो।

 

प्रकाशित: ११ असार २०७३ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App