८ वैशाख २०८१ शनिबार
खेल

लिभरपुल एफए कपबाट बाहिर, चौंथो चरणमा आर्सनल र युनाइटेड भिड्ने

काठमाडौं – प्रिमियर लिग लिडर लिभरपुल एफए कप फुटबलको तेस्रो चरणबाटै बाहिरिएको छ। लिभरपुललाई सोमबार राति भएको खेलमा उल्भरह्याम्टनले २–१ गोलले स्तब्ध पारेको हो।

घरेलु टोली उल्भरह्याम्टनले ३८ औं मिनेटमा राउल जेमिनेजको गोलमा अग्रता लिएको थियो। लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरको गल्तीको फाइदा उठाउँदै जेमिनेजले गोल गरेका थिए। पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि ५१ औं मिनेटमा डिचभोक ओरिगीले बराबरी गोल फर्काए।

तर, त्यसको ४ मिनेटपछि रुविन नेभिसले ३१ यार्डबाट उत्कृष्ट गोल गरेपछि उल्भरह्याम्टनले खेलमा पुनः अग्रता लियो। ५९ औं मिनेटमा लिभरपुलले बराबरी गोल गर्ने अवसर खेर फालेपछि उल्भरह्याम्टन २–१ को जितसहित अघिल्लो चरणमा प्रवेश गर्यो। लिभरपुलका प्रशिक्षक क्लोपले खेलमा ९ खेलाडी परिवर्तन गर्दा ३ खेलाडीले डेब्यु गरेका थिए।

यो सिजन लिभरपुलले पहिलो पटक लगातार दोस्रो हार ब्यहोरेको हो। यसअघि अघिल्लो खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग २–१ ले नै पराजित भएको थियो।

यसैबीच चौंथो चरणमा आर्सनल र म्यानचेस्टर युनाइटेड भिड्ने भएका छन्। आर्सनलले १३ र युनाइटेडले १२ पटक एफए कपको उपाधि जितेका छन्। म्यानचेस्टर सिटीले बर्नले तथा टोटेनह्यामले क्रिष्टल प्यालेस प्रतिद्वन्द्वी पाएका छन्।

प्रकाशित: २४ पुस २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App