coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘फ्लुड आर्ट’मा रुमिना

काठमाडौं – पढाइ र कामको सिलसिलामा अष्ट्रेलिया पुगेकी नेपालकी रुमिना मैनाली यतिबेला कलात्मक अध्ययनमा व्यस्त छिन्। विकास अध्ययन तथा सांस्कृतिक परिवर्तनमा स्नातकोत्तर उनले कलामा स्वअध्ययन गरिरहेकी छन्।

इन्टरनेटको माध्ययमबाट अष्ट्रेलियाको विश्वविद्यालयमा पढेकी रुमिनाको कला यतिबेला नेपालस्थित अरुपण ग्यालरीमा हेर्न पाइन्छ। उनले नेपालमा सम्भवतः प्रयोगमा नआएको कलात्मक विधा ‘फ्लुड आर्ट’लाई उनले नेपाल भित्र्याएकी हुन्। यसअघि उनको दुई एकल कला प्रदर्शनी भएपनि यस प्रदर्शनीको भने फ्लुड आर्टकै कारण महत्व बढेको छ।

‘अष्ट्रेलयामा फ्लुड आर्टको बजार निकै फस्टाएको छ’, उनले नागरिकसँग भनिन्, ‘तर नेपालमा निरन्तरता दिन कठिन छ।’ उनका अनुसार एक्रोलिक रङको उपलब्धता नेपालमा भएपनि फ्लुड आर्टका लागि आवश्यक रसायन नेपालमा छैन्। त्यसकारण पनि अष्ट्रेलियामै बसेर यो कलालाई नेपालमा फैलाउने उनको चाहना छ।

रुमिनाको बुझाईमा यो कला बनाउन सहज छैन्। ‘अमूर्त कलामा झैं मन परेको रङ क्यानभासको कागजमा पोतेर त्यसमा रसायन मिसाएपछि त्यसैमा खेल्नु चुनौतिपूर्ण कुरा हो। रसायन मिसिएपछि त्यसमा फोकाहरू बन्छन्’, उनले भनिन्, ‘तिनै फोकालाई क्यानभासमा सजिएको चित्राकार रूप दिएपछि फ्लुड आर्ट पुरा हुन्छ।’

रुमिनाका अनुसार जथाभावी बगिरहेका आकारहिन फोकालाई रङ, कल्पना र सिर्जनशिलतामा एकै पटक ढाल्न उनलाई हम्मे पर्छ। उनी पिकासोका त्रिभुजाकार कलाकी फ्यान हुन्। उनलाई अन्य कलाकारले हेर्ने दृष्टिकोणभन्दा पिकासोको दृष्टिकोण फरक भएकैले पिकासोका कला फरक लाग्छन्।

रुमिनाका फ्लुड आर्टभित्र नेपालका हरियाली, नदी, बस्तीसँगै प्रकृतिका अनेक रङ खुलेका छन्। फोकामा रङको मिश्रणमात्र होइन्। कतै माछाको आकृति, कतै पहाडी भेगका हरिया धानका गह्राे, कतै सुन्दर नागबेली नदीको वेगलाई अमूत कलामार्फत मूर्त बनाएका छन्।

रुमिनालाई चहकिलो सुन्तला, रातो, पहेलो, हरियो रङहरू मन पर्छ। यिनै रङसँग खेल्दाखेल्दै कतिखेर भावना साट्न पुग्छिन् उनलाई पत्तो नै हुँदैन्। सानैदेखि आफ्ना बुबा कला समिक्षक रमेश खनालको कलाकौशल हेर्दै हुर्किएकी उनीभित्र कलात्मक गुण पहिलेदेखि नै थियो। त्यसले मूर्त रूप भने अष्ट्रेलिया पुगेपछि पायो। फरक विधा नभए कला बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको बुझेकी उनले फ्लुड आर्टमै भविष्य खोज्ने उल्लेख गर्छिन्।

दुई वर्षयता उनले कोरेका फ्लुड आर्टका ३२ थान कला प्रदर्शनीमा राखिएका छन्। छोरीको फ्लु आर्ट देखेर छक्क परेका पिता समिक्षक रमेश यस्तो चित्र आफै पनि कोर्न नसक्ने सुनाउछन्। छोरीले मेहनत गरिरहे नेपालले एउटा फरक विधालाई अंगिकार गरेर अगाडि बढ्ने बाटो खुल्ने उनले दाबी गरे।

प्रकाशित: २४ पुस २०७५ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App