coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘पुरानो तथ्यांकमा खेल्ने होइन, नयाँ आँकडा निर्माण गर्ने हो’

नेपाल चेम्बर अफ कमर्सद्वारा प्रकाशित चेम्बर स्मारिका सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः रासस

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसदमा प्रस्तुत गरेको तथ्यांक गलत नभएको बताएका छन्। आफू नेतृत्वको सरकारले चालु आर्थिक वर्ष र १० महिनामा गरेको प्रगतिबारे यथार्थ तथ्यांक प्रस्तुत गरिएको उनको दाबी छ।

‘पहिले न्युरोडमा पिँजडाबाट सुगाले च्यापेर निकालेको खामबाट चिठ्ठी झिकेर पढे जसरी तथ्यांक प्रस्तुत गरेको होइन,’ सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभा तथा चेम्बर दिवसलाई सम्बोधन गर्दै उनले भने, ‘प्रस्तुत तथ्यांक तथ्यमा आधारित छन्।’

प्रधानमन्त्री ओलीले आइतबार संसद् बैठकलाई सम्बोधन गर्ने क्रममा प्रस्तुत गरेका तथ्यांक यथार्थ नभएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएका थिए। उनले पुँजीगत खर्च, मुद्रा स्फीति, व्यापार घाटालगायत विभिन्न आर्थिक सूचक यथार्थभन्दा फरक प्रस्तुत गरेका थिए। सरोकारवालाले संसद्मा प्रधानमन्त्रीले नै गलत तथ्यांक प्रस्तुत गरेर झुक्याउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन्। तर, प्रधानमन्त्री ओलीले उक्त आलोचना आधारहीन भएको भन्दै आफ्नो तथ्यांकको बचाऊ गरेका हुन्।

‘१० महिनामा सरकारले गरेको प्रगति पस्तुत गर्दा केहीले चुनौती दिएका छन्, कतैकतै असहमती सुनिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता असहमतीका कुनै आधार छैनन्।’ ऊर्जा, पर्यटन, शिक्षा, पूर्वाधार, पुनर्निर्माण लगायत क्षेत्रको प्रगति यथार्थ तथ्यमा आधारित भएको उनले दाबी गरे। ओलीले समृद्धिको यात्रामा अगाडि बढेको सरकारको ध्यान पुरानो तथ्यांकमा खेल्नुभन्दा नयाँ तथ्यांक निर्माण गर्नेमा केन्द्रित रहेको बताए। ‘हामीलाई पुरानो तथ्यांकसँग खेल्ने होइन, नयाँ तथ्यांक निर्माण गर्नुपर्नेछ। झुटो तथ्यांक होइन, नयाँ आँकडा बनाउनुछ,’ उनले भने, ‘त्यसैले हामी पुरानो आँकडामा होइन, उपलब्धिमा खेल्न चाहन्छौं।’

प्रधानमन्त्री ओलीले हरेक दिन एक पाइला अगाडि बढ्नुपर्छ भन्ने मान्यतासहित सरकारले काम गरिरहेको बताए। अबको तीन वर्षमा मुलुकलाई अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरोन्नती गर्न र १२ वर्षभित्र (सन् २०३० सम्म) दीगो विकासका लक्ष्य हासिल गर्न तीव्र आर्थिक वृद्धि आवश्यक रहेको उनले बताए। मुलुकको विकासका लागि तीन खम्बे अर्थनीति महत्वपूर्ण रहेको बताउँदै उनले सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको धारणा राखे।

‘हामीले देश विकास गर्नुछ, त्यसैले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने, ‘केही अप्ठ्यारा र असहज कुराहरु छन् भने तीनलाई सहजीकरण गर्न, नयाँ कानुन निर्माण र पुराना कानुन संशोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउँछु।’ प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई पारदर्शी रुपमा कर तिर्न आग्रह गर्दै त्यसबापत सरकारबाट आवश्यक सेवा सुविधा प्रदान गर्ने आश्वसन दिए।

उनले मुलुकमा संघीय संरचना पहिलोपटक कार्यान्वयनमा आएका कारण केही जटिलता देखिएको बताए। ‘संघीयता हामीले छानेर ल्याएको उत्तम व्यवस्था हो,’ उनले भने, ‘हामीले  पहिलोपटक अध्यास गरेकाले अधिकार र स्रोतको विषयमा केही विवाद देखिनु स्वाभाविक हो, ती विवाद क्रमशः सुल्झाउँदै जाने क्रममा छौं।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोहोरो आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारको स्पस्ट नीति र तीनको कार्यान्वयन आवश्यक रहेको बताए। दुई तिहाइको स्थायी सरकारले केही साहसिक काम अगाडि बढाए पनि उपलब्धि सन्तोषजनक नदेखिएको उनको भनाइ थियो। मुलुकको समग्र विकासका लागि निजीक्षेत्रमैत्री कानुन आवश्यक रहेकोमा उनले जोड दिए।

‘मुलुकमा लगानीमैत्री, उद्योगी व्यवसायीमैत्री कानुन तथा कर प्रणाली अभाव छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘विकास बजेट न्यून हुने र विनियोजित बजेट खर्च नहुनाले बजारमा लगानीयोग्य पुँजी अभाव छ। ब्याजदर वृद्धिले लगानीकर्तालाई निरुत्साहित गरेको छ।’ कृषि, पर्यटन, जलविद्युत्, पूर्वाधार विकास लगायतमा लगानी बढाउन सकेमात्र मुलुकको समृद्धि सम्भव हुने उनको धारणा छ। उत्पादन लागत उच्च रहेकाले छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको अध्यक्ष श्रेष्ठले बताए। स्वदेशी उत्पादनको बजार प्रवद्र्धनमा सरकारको ध्यान पुग्न नसकेको उनको भनाइ छ।

अध्यक्ष श्रेष्ठले मुलुकको संघीय संरचनाअनुरुप चेम्बरको संस्थागत संरचना विस्तार गरिएको जानकारी दिए। हाल सात प्रदेश, ६६ जिल्ला र ४० नगर चेम्बरसहित मुलुकभरका उद्यमी व्यवसायी चेम्बरमा आवद्ध रहेको उनले बताए। त्यसैगरी, ६५ वटा अन्तर्राष्ट्रिय संघ संस्थालाई सम्बन्धन र १५ वटा मुलुकमा अवैतानिक वाणिज्यदूत नियुक्त गरिएको उनले जानकारी दिए।    

कार्यक्रममा मिस नेपाल श्रृंखला खतिवडा, मिस युनिभर्स मनिता देवकोटा र  बबी बिल्डर महेश्वर महर्जनलाई चेम्बर विशिष्ट सम्मान प्रदान गरिएको थियो। त्यस्तै, व्यवसायी विश्वास ढकाल, चिरञ्जीलाल अग्रवाल तथा चेम्बरका पूर्वअध्यक्षद्वय सुरेन्द्रवीर मालाकार र महेशकुमार अग्रवाललाई पनि सम्मान गरिएको थियो।

प्रकाशित: २४ पुस २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App