coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चितवन महोत्सवकाे अाकर्षण पर्यटक गाइड बुक

चितवन महोत्सव २०७५ को प्रदर्शनी स्थल नारायणी नदी किनार। तस्बिर:सविता/नागरिक

चितवन - दुई वर्षको अन्तरमा गरिँदै आएको ‘चितवन महोत्सव’को १२ औं संस्करणमा यसपटक पर्यटक गाइड बुक विशेष आकर्षणका रूपमा रहने भएको छ। आगामी पुस २५ गतेदेखि १० दिनसम्म नारायणी नदी किनार नारायणगढमा हुने महोत्सवको प्रदर्शनी स्थल निर्माण र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

महोत्सवका संयोजक सहनलाल प्रधानले महोत्सवमा पर्यटनलाई केन्द्रमा राखेर कार्यक्रम तयार पारिएको बताए। उनका अनुसार महोत्सवमा चितवनका विभिन्न पर्यटकीय गन्तव्यको जानकारी र तस्बिर समावेश गरेर नेपाली र अंग्रेजी भाषामा तयार गरिएको पर्यटक गाइड बुक विमोचन गरिनेछ।

गाइड बुकमा उल्लेख भएका पर्यटकीय गन्तव्यमध्ये प्रमुख १० वटा स्थानलाई महोत्सवको मूलद्वारमा तस्बिरमार्फत प्रदर्शनी गरिनेछ।

‘जिल्लाका करिब ५० वटा स्थानको परिचय गाइड बुकमा हुनेछ,’ उनले भने, ‘यसपटकको महोत्सवले जिल्लाको पर्यटकीय सम्भावनालाई थप उजागर गर्नेछ।’ गाइड बुकमा उल्लेख भएका पर्यटकीय गन्तव्यमध्ये प्रमुख १० वटा स्थानलाई महोत्सवको मूलद्वारमा तस्बिरमार्फत प्रदर्शनी गरिनेछ।

महोत्सव अवधिभर महोत्सवस्थलबाट नगरवनमा जिप सफारी, नारायणी नदीमा र्‍याफ्टिङ, मोटर बोट पनि राखिएको छ। जिल्लाका आदिवासी जनजातिको झाँकी प्रदर्शन, बोटे समुदायबीच देवघाटदेखि महोत्सव परिसरसम्म डुंगा दौड प्रतियोगितालाई महोत्सवमा समावेश गरिएको मूल संयोजक प्रधानले बताए। उद्योग वाणिज्य संघ, चितवन, जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिकाले आयोजना गरेको महोत्सव पाँच लाखले अवलोकन गर्ने अनुमान गरिएको छ।

महोत्सव अवधिभर २५ करोड रूपैयाँको कारोबार हुने अनुमान गरिएको छ। महोत्सव प्रवेशका लागि विद्यार्थीलाई २५ र अन्यलाई ५० रूपैयाँ शुल्क तोकिएको छ। महोत्सव परिसरमा बालुवामा कुँदिएको २० फिट लम्बाइ र १० फिट चौडाइको माछाको कलात्मक आकृतिसमेत बनाइएको छ।

महोत्सवमा ६ वटा विशेष स्टलसहित पाँच सय ३० वटा स्टल रहनेछन्। प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, पोल्ट्री, अटो, सूचना तथा प्रविधि, विद्युत्, मेड इन नेपाल, बैंक तथा वित्तीय संस्थाका छुट्टाछुट्टै परिसर रहने प्रधानले जानकारी दिए। आदिवासी जनजातिको रहनसहन झल्किने घर पनि महोत्सव परिसरमा बनाइएको छ।

कृत्रिम चिडियाखाना
यस पटकको महोत्सवको अर्को आकर्षण महोत्सवस्थलमा बनाइएको कृत्रिम चिडियाखानासमेत रहेको छ। महोत्सवमा विशेष प्राथमिकता दिएर मुख्य आकर्षणका रूपमा कृत्रिम चिडियाखाना बनाइएको महोत्सवको फनपार्क तथा चिडियाघर व्यवस्थापन समिति संयोजक बोधराज शर्माले बताए। उनले चिडियाघरमा विश्वमै लोपोन्मुख विभिन्न प्रजातिका जीवजन्तु, चरचुरुंगीका कृत्रिम आकृति रहने खुलाए।

चिडियाखानामा नेपालमा पाइने र नपाइने वन्यजन्तु गरी २० प्रकारका वन्यजन्तुको प्रतिमूर्ति राखिने तयारी भएको शर्माले बताए। चितवन राष्ट्रिय निकुन्जमा पाइने गैंडा, बाघ, गोही, हात्ती तथा निकुन्जमा नपाइने पाण्डा, कंगारु, जेब्रालगायत वन्यजन्तुको पनि प्रतिमूर्ति राखिनेछ। जनावरको वास्तविक बासस्थानसँग मिल्ने खालको चिडियाखानाले जंगल मै गएर वन्यजन्तुको अवलोकन गरेको अनुभूति हुने शर्माको दाबी छ।

वन्यजन्तुबारे जानकारीमूलक सूचना पनि चिडियाखानामा राखिनेछ। वन्यजन्तु हिंस्रक मात्र हुँदैनन्, प्रकृतिको अभिन्न अंग पनि हुन् भनेर सचेतना फैलाउन पनि नौलो अवधारणालाई प्रयोग गरेर कृत्रिम चिडियाखाना बनाइएको शर्माको भनाइ छ।

यसअघिका महोत्सवमा चौंरी गाई, अस्ट्रिचलगायत वन्यजन्तुलाई ल्याएर प्रदर्शन गरिएको थियो। महोत्सव अवधिभर राख्दा वन्यजन्तुको स्वास्थ्य बिग्रने, सुरक्षाको समस्या लगायतलाई ध्यान दिँदै कृत्रिम चिडियाखाना बनाइएको हो। चिडियाखाना अवलोकनका लागि ५० रुपैयाँ शुल्क राखिएको छ। चितवनको पर्यटन वन्यजन्तुमा आधारित भएकाले महोत्सवमा कृत्रिम चिडियाखाना बनाइएको महोत्सवका मूल संयोजक प्रधानले बताए।

प्रकाशित: २४ पुस २०७५ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App