काठमाडौं – उपन्यासकार सुबिन भट्टराईको कृति ‘समर लभ’मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा सोमबार एक कार्यक्रमबीच पत्रकार, सञ्चारकर्मी तथा फिल्म युनिटबीच ट्रेलर सार्वजनिक गर्दै निर्देशक मुस्कान ढकालले पुस्तकमा रहेको कथाको मर्मलाई आत्मसाथ गरेर फिल्मांकनको धर्म निभाइएको बताए।
‘पुस्तकमा पढेकै कुरा पर्दामा उतारिएकोमा शंका छैन। दर्शक तथा पाठकले पढेकै यथार्थकुरा पर्दामा भेट्नुहुनेछ’, निर्देशक ढकालले भने, ‘मनले स्क्रिप्ट लेख्दा राम्रो कथा बन्दछ। पुस्तकको केही अंश समावेश गरेर समर लभलाई राम्रोसँग प्रस्तुत गरेका छौं।’ उनले फिल्मका प्रमुख दुई कलाकार कलाकार आशिष पिया र रेवती क्षेत्रीमार्फत अतित र सायाको भूमिकालाई जस्ताको तस्तै पर्दामा प्रस्तुत गरेको बताए।
तीन मिनेटको ट्रेलरमा अतित र सायाबीचको प्रेमसँगै समयक्रममा उत्पन्न हुने परिस्थिति, मिलन विछोडको संयोगहरू जोडिएका छन्। फिल्मका पटकथाकार सामिप्यराज तिमल्सिनाले पाठकले उपन्यासमा पढेकै विषयलाई फिल्ममा हेर्न पाउने बताए। ‘पुस्तकमा रहेका केही प्लटलाई झिकेर फिल्म बनाएका छौं। तर फिल्म हेर्दा समर लभ पुस्तक भन्दा फरकपना देखिएको छैन’, उनले भने। फिल्ममा सामिप्य र सुबिनको संवाद छ।
फिल्ममा नायकका रूपमा ‘डेब्यु’ गरेका आशिषले उपन्यासमा आधारित फिल्ममा अभिनय गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको बताए। नवनायिका रेवतीले सायाको चरित्रलाई आफूले न्याय गरेको बताइन्। अर्की नायिका नम्रता सापकोटाले फिल्ममा आफूले निभाएको सुस्मिताको चरित्रलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको दाबी गरिन्।
फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओमप्रतिक, मानस थापाको अभिनय छ। पुष्पन प्रधानको संगीत रहेको फिल्ममा अर्जुन जिसी सम्पादन, सञ्जय लामा र मानकृष्ण महर्जनको छायांकन छ।
फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन्। सोपन सरकार र मनोज बिक सह–निर्माता तथा एकराज तामाङ लाइन प्रोड्यूसर छन्। फिल्म माघ २५ गतेबाट प्रदर्शन हुँदैछ।
प्रकाशित: २४ पुस २०७५ ०३:४८ मंगलबार