coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूमिगत जलभण्डार जोगाउन ‘घर घरमा पानी, आफ्नै लगानी’

बनेपा – सहरीकरणसँगै खानेपानीका लागि जताततै इनार र डिप बोरिङ खन्ने क्रम बढेपछि काभ्रेको पाँचखाल नगरपालिकावासीले भूमिगत जलभण्डार रित्तिन नदिन ‘घर घरमा पानी–आफ्नै लगानी’ अभियान थालेका छन्। स्थानीयले आफ्नो योगदान, सरकारी अनुदान र ऋणमा खानेपानी आयोजना सञ्चालन गर्न लागेका हुन्।

उक्त आयोजनामा पाँचखाल नगरपालिकाका १० वटा वडाका करिब ६ हजार परिवार सहभागी भएको सुनकोसी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए। ‘भूमिगत पानीलाई माथि तानेर हालकै अवस्थामा खानेपानी र सिंचाइमा प्रयोग हुने क्रम बढ्दा केही वर्षमै पाँचखालको भूमिगत जल भण्डार रित्तिने सम्भावना बढ्दो छ,’ उनले भने,‘यस कार्यले समग्र भूअवस्थामै नकारात्मक प्रभाव पार्ने भएकाले बेलैमा सोच्न थालेका हौं।’

खानेपानीको उपलब्धतासँगै जल भण्डार जोगाइराख्न समितिले सह–लगानीमा खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारिसकेको लामिछानेले जानकारी दिए। ‘दोलालघाटबाट प्रतिसेकेन्ड दुई सय लिटर पानी लिफ्टिङ गरी पलाञ्चोक भगवतीस्थानसम्म पुर्याउनेछौं,’ उनले भने, ‘त्यहाँ प्रशोधनपछि पाँचखाल उपत्यकाभर खानेपानी वितरण गर्नेछौं। उपयोगपछिको पानीले भूमिगत जलभण्डारलाई रिचार्ज गर्ने पनि योजनामै समेटेका छौं।’

भूमिगत पानीलाई माथि तानेर खानेपानी तथा सिंचाइमा प्रयोग हुने क्रम बढेकाले केही वर्षमै काभ्रे पाँचखालको भूमिगत जल भण्डार रित्तिने सम्भावना बढेको भन्दै स्थानीयले आफ्नो योगदान, सरकारी अनुदान र ऋणमा खानेपानी आयोजना सञ्चालन गर्न लागेका हुन्।

डिपिआर तयार भएलगत्तै पाँचखालवासीले खानेपानीका लागि सरकार तथा दाताहरूलाई समेत गुहारिसकेका छन्। साना सहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत एसियाली विकास बैंकबाट १ अर्ब ५४ करोड रुपैयाँ अनुदान, नगर विकास कोषको ऋण ५५ करोड २५ लाख र उपभोक्ताको योगदान ११ करोड ५ लाख गरी २ अर्ब २१ करोड रुपैयाँमा आगामी तीन वर्षमा खानेपानी आयोजना सम्पन्न हुने लामिछानेले जानकारी दिए।

आयोजना पूरा भएपछि पाँचखालवासीलाई विश्व स्वास्थ्य संगठनको खानेपानी गुणस्तर मापदण्डअनुसार २४सै घण्टा गुणस्तरीय खानेपानी उपलब्ध हुने उनको दाबी छ। त्यसका लागि पाँचखालवासीले प्रतिपरिवार १८ हजार रुपैयाँ योगदान रकम संकलन गर्न थालिसकेका छन्। दिनहुँ रकम जम्मा हुने क्रम बढ्दो छ। पुस मसान्तभित्र उपभोक्ताको योगदान जम्मा भइसक्ने लामिछानेले बताए। राज्यले प्रतिपरिवार ३ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम लगानी गरिदिने भएकाले न्यून योगदानबाटै पाँचखालवासीले खानेपानी पाउने उत्तम अवसर पाएको उनको भनाइ छ।

सहभागितामूलक आयोजना हुने भएकाले सबै राजनीतिक दल तथा स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूलाई समेटेर वडाध्यक्षको संयोजकत्वमा १० वटै वडामा उप–समिति गठन गरिएका छन्। ‘हाललाई पाँचखालका वडा नम्बर २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ लाई आयोजनामा समावेश गरिएको छ भने बाँकी तीनवटा वडाका बासिन्दालाई पनि खानेपानी उपलब्ध गराइने बताइएको छ।

प्रकाशित: २४ पुस २०७५ ०१:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App