coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तीन देशका राजदूतको एग्रिमो आएन

काठमाडौ - सरकारले दुई महिनाअघि रिक्त रहेका चार मुलुकमा राजदूत सिफारिस गरे पनि इजरायलबाहेक अन्य मुलुकबाट अझै सहमति (एग्रिमो) आएको छैन। गत कात्तिक २६ गते को मन्त्रिपरिषद् बैठकले भारत, मलेशिया, इजरायल र संयुक्त अरब इमिरेट्सका लागि एकैपटक राजदूत सिफारिस गरेको थियो।

इजरायलका लागि राजदूतमा सिफारिस अञ्जान शाक्य एग्रिमोपछि नियुक्तसमेत भइसकेकी छिन्। तर भारतका लागि सिफारिस गरिएका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्का लागि सिफारिस कृष्णप्रसाद ढकाल भने एग्रिमोको पर्खाइमा रहेका छन्।

राजदूतमा सिफारिस भएका चारैजनाको नाम २३ मंसिरमा बसेको संसदीय समितिले अनुमोदन समेत गरिसकेको छ। तर एग्रिमो आउन ढिलाइ भएका कारण राष्ट्रपतिबाट नियुक्ति हुन बाँकी छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल एग्रिमोका लागि सम्बन्धित मुलुकलाई लेखेर पठाइसकिएको र एग्रिमो आउने चरणमा रहेको बताए।

‘कुनै मुलुकको एग्रिमो छिटो आउँछ, कतिपय मुुलुकको केही समय लाग्छ,’ पौड्यालले भने। देशअनुसार एग्रिमो पठाउने प्रक्रिया फरक हुने भएकाले तीन देशका राजदूतको एग्रिमा आउन केही ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। संसदीय समितिबाट सिफारिस भएका राजदूतको नाम अनुमोदन भइसकेकाले एग्रिमो आएलगत्तै राष्ट्रपतिबाट नियुक्ति पाएर जिम्मेवारीमा खटिने मन्त्रालयले जनाएको छ। तीन देशका लागि सिफारिस गरिएका राजदूतको एग्रिमो आउन ढिलाइ हुनुका पछाडि अन्य कुनै कारण नभएको भन्दै मन्त्रालयले एग्रिमो छिट्टै आउने जनाएको छ।

प्रकाशित: २४ पुस २०७५ ०१:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App