coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संसद् : तलब अाफ्नै खातामा पठाइने

काठमाडौं - संघीय संसद् सचिवालयले संसद्का पदाधिकारी र सांसद्को बैंक खातामा स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब नपठाउने भएको छ। सचिवालयले स्वकीय सचिवालयमा रहेका सम्पूर्ण कर्मचारीलाई उनीहरूको नाममा बैंक खाता खोल्न भनेको छ। अहिलेसम्म ८९ जनाले एभरेष्ट बैंकमा खाता खोल्न निवेदन दिएका छन् भने २५ जनाले आफ्नो खाता खोलेको संसद् सचिवालयले जनाएको छ।

सचिवालयले प्रायः प्रत्येक महिनाको २६ गतेभित्र पदाधिकारी र सांसद्को रकम बैंक खातामा पठाउने गरेको छ। ‘यसपटक संसद्का पदाधिकारी र सांसदको आफ्नो व्यक्तिगत रकमबाहेक सचिवालयमा रहने कर्मचारीको रकम पठाइने छैन,’ संसद् सचिवालयका एक अधिकारीले भने।

उनले भने, ‘ऐनमा नै स्पष्ट व्यवस्था भएकाले हामीले निर्णय गरिरहनु परेन, तर संसद्मा यसको थालनी गर्न भएको निर्णयलाई अभिलेखमा राख्नु पर्ने भएकाले अभिलेखिकरण गर्न बाँकी छ’। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको अनुसुची २ को द्रष्टव्य २ मा भनिएको छ, ‘स्वकीय सचिवायलका कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ।’ तर, ऐनमा भएको व्यवस्थाबमोजिम संसद् सचिवालयले आजका मितिसम्म रकम पठाउने गरेको थिएन।

सचिवालयमा रहने सवारीचालक र कार्यालय सहयोगीको रकम बैंक खातामा पठाउन व्यावहारिक कठिनाइ हुनसक्ने भए पनि अब उनीहरूको पनि आ–आफ्नो बैंक खातामा पठाउने तयारी भएको ती अधिकारीले जानकारी दिए। संसद्का पदाधिकारी र सांसद सदस्यको खातामा स्वकीय सचिव, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगीको रकम जाने गरेको थियो। कतिपय पदाधिकारी र सदस्यले आफ्नो खाताबाट स्वकीय सचिव तथा ड्राइभरलाई तलबसमेत नदिएको गुनासो सचिवालयमा आउने गरेको थियो।

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको स्वकीय सचिव राजपत्रांकित प्रथम श्रेणी (सहसचिव सरह) १ जना, राजपत्रांकित द्वितीय श्रेणीको १ जना, राजपत्रांकित तृतीय श्रेणीको १ जना, कम्प्युटर अपरेटर (सुब्बा सरह) १ जना, सवारी चालक (प्रथम स्तर) २ जना , कार्यालय सहयोगी (प्रथमस्तर) २ जना, रहने व्यवस्था छ।

प्रतिनिधिसभामा विपक्षी दलको नेता, उपसभामुख र उपाध्यक्षकालागि राजपत्रांकित द्वितीय श्रेणी, १ जना कम्प्युटर अपरेटर (सुब्बा सरह) १ जना, सवारी चालक (प्रथमस्तर) २ जना , कार्यालय सहयोगी (प्रथमस्तर) २ जना, रहने व्यवस्था छ। यसैगरी, राष्ट्रियसभामा विपक्षी दलको नेता सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतक राजपत्रांकित द्वितीय श्रेणीको १ जना रहने व्यवस्था छ, कम्प्युटर अपरेटर (सुब्बा सरह) १ जना, सवारीचालक (प्रथमस्तर) २ जना, कार्यालय सहयोगी (प्रथमस्तर) १ जना रहने व्यवस्था छ।

यसैगरी, विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिको राजपत्रांकित द्वितीय श्रेणीको १ जना, कम्प्युटर अपरेटर (सुब्बा सरह) १ जना, सवारी चालक (प्रथम स्तर) २ जना , कार्यालय सहयोगी (प्रथम स्तर) १ जना रहने व्यवस्था छ। दलको प्रमुख सचेतक सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकलाई राजपत्रांकित द्वितीय श्रेणीको १ जना, सवारीचालक (प्रथमस्तर) २ जना , कार्यालय सहयोगी (प्रथमस्तर) १ जना रहने व्यवस्था छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको स्वकीय सचिवमा राजपत्रांकित तृतीय श्रेणी(शाखा अधिकृत सरह)को कर्मचारी रहने व्यवस्था छ।

प्रकाशित: २४ पुस २०७५ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App