अायल निगम जग्गा खरिद प्रकरण

अख्तियारद्वारा खड्का विरुद्ध मुद्दा दायर: अकुत सम्पत्ति आर्जेको आरोप (आरोप पत्रसहित)

मङ्गलबार, २४ पुष २०७५, ०९ : १६ दिलीप पौडेल

सम्बन्धित समाचार

काठमाडौं – इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो। खड्काले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ।

करिब १५ महिना लगाएर अनुसन्धान गरेको आयोगले खड्काले गैरकानुनी रुपमा अुकत सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो। गत वर्ष साउन २ गते नागरिक दैनिकमा आयल निगमको जग्गा खरिद भ्रष्टाचारको विषयमा अनुसन्धानमूलक समाचार प्रकाशित भएको थियो।

त्यसपछि संसद्को सार्वजनिक लेखा समितिलगायतका विभिन्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन सुरु गरेका थिए। सार्वजनिक लेखा समितिले जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।

अनुसन्धानपछि अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजायको माग राखेर आरोपपत्र दायर गरेको हो।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् समग्र आय र व्ययको विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘अन्य व्यक्तिको नाममा लुकाई राखेको सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको माग दाबी गरिएको छ,’ दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खड्काले जग्गा खरिदमात्र नभएर निगममा रहँदा ग्यास उद्योग, ग्यास ढुवानी गर्ने बुलेट, पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिँदा पनि मोटो रकम लिएर अनियमितता गरेको आरोप लागेको थियो। खड्काविरुद्ध मुद्दा दायर गरिए पनि जग्गा खरिद भ्रष्टाचारको विषयमा अख्तियार मौन देखिएको छ। जग्गा खरिदलगायतका अन्य पक्षमा अनुसन्धान जारी रहेकाले अहिले अकुत सम्पत्तिमा मात्रै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दंगालले बताए।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ देखिन आएको अख्तियारले जनाएको छ। लगानीमा खड्काको स्रोत खुलेको आम्दानी आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँ देखिए पनि १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ खर्च तथा लगानीको स्रोत नखुलेपछि मुद्दा दायर गरको अख्तियारको दाबी छ।

खड्काले खर्च तथा लगानीमा वैध आय घटाउँदा बाँकी हुन आएको रकम गैरकानुनी आर्जन भएको प्रवक्ता दंगालले ज्ञारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमको जग्गा खरिदलाई केन्द्रमा राखेर अनुसन्धान गरेको अख्तियारले अन्ततः जग्गा खरिद प्रकरणमा भएका अन्य पक्षलाई छाडेर खड्कालाई अकुत सम्पत्तिमा मात्र मुद्दा चलाएको छ।

सडक विभागको पूर्वइन्जिनियरसमेत रहेका खड्काले पुख्र्यौली घरबाहेक आफ्नो जागिरे जीवनमा काठमाडौंमा तीनवटा घर निर्माण तथा खरिद गरेको र दुईवटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको भेटिएको अख्तियारले जनाएको छ। खड्काले निगमको जग्गा खरिदपछि दुईवटा घर किन्न बैना लगाएको यसअघि नै सार्वजनिक भएको थियो। खड्काले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको भेटिएको अख्तियारले जनाएको छ। खड्काले एक निर्माण कम्पनीलाई घर खरिद गर्न बैना दिएको ८९ लाख ८९ हजार रुपैयाँ दसीका रुपमा आरोपपत्रका साथ अदालतमा दाखिल गरेको समेत अख्तियारले जनाएको छ।

खड्काले घरजग्गा खरिदमा ११ करोड ६१ लाख ४३ हजार दुई सय ५ रुपैयाँ, विभिन्न कम्पनीका सेयर खरिद गर्न एक करोड ६ लाख चार हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग एक करोड १७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको २५ लाख १४ हजार ६ सय ९५ रुपैयाँ, गाडी खरिदमा एक करोड १७ लाख ४२ हजार, विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा एक करोड ८० लाख १६ हजार चार सय ४६ रुपैयाँ खर्च गरेको देखिएको छ। त्यसैगरी विभिन्न ५५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र सहकारीमा खड्काका नाममा दुई करोड ७१ लाख ५३ हजार चार सय २१ रुपैयाँ भेटिएको छ।

खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको मात्र नभएर अर्की एक महिलाका नाममा समेत सम्पत्ति लुकाएर राखेको अख्तियारले फेला पारेको छ। तेह्रथुम घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बस्ने अमिता लामा सोदेम्बाको नाममा समेत सम्पत्ति लुकाएर राखेको भेटिएको हो।

खड्काले लामाको नाममा काठमाडौंको हात्तीगौडामा सिजी हिल्सले बनाएको तीन करोड २५ लाख रुपैयाँको घर, बूढानीलकण्ठ–३ मा ४० लाख ११ हजार ८ सय ७५ रुपैयाँमा किनेको ८ आना जग्गा र ८४ लाख ४६ हजार रुपैयाँमा किनेको बा१६च ८४८४ नम्बरको टक्सन गाडी पनि जफत गर्न माग गरिएको छ। लामाको नाममा जग्गासमेत सात करोड ५४ लाख ५७ हजार आठ सय ७५ रुपैयाँको सम्पत्ति लुकाएर राखेको भेटिएको छ। लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकका खाताबाट पनि खड्काले नै कारोबार गर्ने गरेको भेटिएको छ।

सेवा प्रवेश गरेदेखि २०६९ चैत २ गतेसम्मको खड्काको आम्दानी एक करोड २० लाख १३ हजार चार सय ९९ रुपैयाँ देखिएको थियो। त्यसयता खड्काको आम्दानी ४० लाख ५७ हजार एक ५५ रुपैयाँ भेटिएको छ। खड्काले पारिश्रमिक, जग्गा बिक्री, सापटी, अवकाश हुँदा पाएको आर्थिक सुविधा, गाडी बिक्री, छोराबुहारीको आम्दानी देखाउँदा पनि अस्वाभाविक देखिएको अख्तियारले जनाएको छ।

खड्काले गरेको अनियमितता विषयमा नागरिक दैनिकले समाचार सार्वजनिक गरेपछि खड्काले आफ्नो गाली बेइजती भएको भन्दै नेपाल रिपब्लिक मिडियाविरुद्ध ८० करोड रुपैयाँको माग दाबी गर्दै मुद्दा दायर गरेका थिए। खड्का कार्यकारी निर्देशक हुँदा निगमले चितवन, झापा, सर्लाही र भैरहवामा एक अर्ब ९७ करोड ८१ लाख रुपैयाँको जग्गा खरिद गरेको थियो। तत्कालीन समयमा अनियमितताको आरोपमा खड्कालाई सरकारले बर्खास्त गरेको थियो। अदालतको आदेशपछि पुनः आयल निगम फर्किएका खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तानेको थियो। त्यसको लामो समयपछि खड्काले राजीनामा दिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको खड्का विरुद्धकाे अारोप पत्र यसप्रकार छ।

प्रेस बिज्ञप्ति : मिति २०७५।९।२३ गते
-----------------------------------------
आरोप-पत्र दायर गरिएको 
---------------------------
गोपालबहादुर खड्का विरुद्ध १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा रु.८९,८९,०००।- नगदै अदालत दाखिला ।

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्का सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा -

निजको आम्दानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा रु. ४०,५७,१५५।४७, जग्गा बिक्रीबाट जम्मा रु. ५८,७५,०००।-, ऋण सापटीबाट जम्मा रु. ५,३३,३६,०००।-, घर भाडाबाट रु. १३,५६,०००।-, नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु. २९,२२,६९८।२८, पेन्सनबाट रु. १४,७८,४८२।२४, विप्रेषण आयबाट प्राप्त रु. ८,२६,९१३।५४, गाडी बिक्रीबाट रु. ३५,००,०००।-, निजको छोरा बुहारीको पारिश्रमिकबाट रु. ११,०४,००३।- गरी जम्मा रु.७,४४,५६,२५२।५३ का साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय रु.१,२०,१३,४९९।- समेत गरी रु.८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो ।

निजको खर्च तथा लगानीतर्फ

मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो । निजले घरजग्गा खरिदमा रु.११,६१,४३,२०६।३१, विभिन्न कम्पनीको शेयर खरिदमा रु.१,०६,०४,०००।-, ऋणको सावाँब्याज भुक्तानीमा रु. ४,२२,९६,२३९।९९, व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००।-, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु. १,१७,७५,०००।-, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५,१४,६९५।-, गाडी खरिदमा रु. १,१७,४२,०००।-, विभिन्न बैंकका ATM बाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १,८०,१६,४४६।८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २,७१,५३,४२१।६४ समेत गरी जम्मा रु.२५,२८,०५,००९।७६ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु.२,०२,७०,३७१।- समेत गरी जम्मा रु. २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय रु.८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु. १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा रु.१८,६६,०५,६२९।२३ गैरकानूनी रूपमा आर्जन गरी निज गोपालबहादुर खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु.१८,६६,०५,६२९।२३ (अठार करोड छयसठ्ठी लाख पाँच हजार छ सय उनान्तीस रुपैयाँ तेइस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई आजै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

त्यसैगरी निजले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स. वडा नं. २ घर भई का.जि. बूढानीलकण्ठ न.पा. वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएकोछ ।

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

दशी प्रमाणको रूपमा नगद दाखिला

जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ 'ग' मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको Good For Payment चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ ।

रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad